४ जनालाई पत्रकार महासंघ कास्कीको पुरस्कार, लक्ष्मी हाउसलाई सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७९
patrakar_mahasang_kaski

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले ४ जनालाई पुरस्कार दिने भएको छ ।

महासंघको शुक्रबार सम्पन्न बैठकले पत्रकारितामार्फत समाज, राष्ट्र, लोकतन्त्र र महासंघको संस्थागत विकासमा योगदान पु¥याउने पत्रकार र संस्थालाई सम्मान गर्ने निर्णय गरेको महासंघका सचिव माधव बरालले बताए ।

जसअनुसार पत्रकार महासंघद्वारा स्थापित पोखरा पत्रकारिता सम्मान २०७७ बाट आदर्श समाजका पूर्व कार्यकारी सम्पादक, हाल नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देल र संस्थागत सम्मान २०७८ बाट लक्ष्मी हाउसलाई सम्मान गर्ने निर्णय गरेको हो ।

महासंघका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक संयोजक, पत्रकार श्याम कुँवर, यदुनाथ बञ्जरा सदस्य तथा महासंघका अध्यक्ष विमला भण्डारी र सचिव माधव बराल पदेन सदस्य रहेको प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई महासंघको बैठकले अनुमोदन गरेको हो । सहसचिव सिग्देललाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यसैगरी टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७८ बाट भुपाल गुरुङलाई सम्मान गरिने भएको छ । महासंघका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक, पत्रकार नवराज सुवेदी र राजबहादुर गुरुङ सदस्य तथा महासंघका अध्यक्ष भण्डारी र सचिव बराल पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा पत्रकार गुरुङलाई सम्मान गर्ने निर्णय भएको हो । पुरस्कारको राशि २० हजार १११ रुपैयाँ र सम्मानपत्र छ ।

यस्तै, जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०७८ बाट गौरव त्रिपाठी र २०७९ बाट दुर्गा रानालाई पुरस्कृत गरिने भएको छ । प्रेस स्वतन्त्रता सेनानी कुशुमकेशव पराजुली संयोजक, पत्रकार रमेश पौडेल र दुर्गा अधिकारी सदस्य तथा महासंघका अध्यक्ष भण्डारी र सचिव बराल पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा महासंघले त्रिपाठी र रानालाई सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि नगद ११ हजार १११ रुपैयाँ र सम्मानपत्र छ ।

Related News

सम्बन्धित समाचार

hero news full width