ठाडोभाकामा अमर र चिजा प्रथम

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७९
Thado bhaka kane

लमजुङ । लमजुङको दुरा सेवा समाज धुसेनी इकाइको आयोजनामा भएको ठाडो भाका प्रतियोगितामा मध्यनेपाल १० का अमरध्वज गुरुङ र चिजमाया भण्डारी प्रथम भए । सुन्दरबजार नगरपालिका–११ का नरसुब्बा दुरा र इन्द्रकुमारी दुराको समूह दोस्रो भएको छ । दूधपोखरी गाउँपालिका ४ को समूह तेस्रो र सुन्दरबजार ६ का राजबहादुर दुराको समूह चौंथो भए ।

प्रतियोगितामा १२ समूह सहभागी भएको निर्णायक समिति सदस्य एवं ठाडोभाका गायिका सीता दुराले बताइन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र १० हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक योगेन्द्र गुरुङले बताए ।

विजेताहरूलाई सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवं ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, वडाध्यक्ष दीपक ढकालले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

पुरस्कार वितरण समारोहमा मेयर कोइरालाले ठाडोभाका साँच्चिकै लमजुङको पहिचान बन्न सफल भएको र यसले गर्वको अनुभूति गराउने गरेको बताए । उनले कार्यक्रम स्थल आफ्नो गृहवडासमेत भएको हुँदा यस वडामा ठाडोभाकासहितका विकासका कार्यमा आफू दिलो ज्यान दिएर लाग्ने प्रतिबद्धता जनाए ।

२ दिनसम्म चलेको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले गरेका थिए ।

कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले प्रतिष्ठानका गतिविधिबारे चर्चा गर्दै प्रतियोगिता र प्रशिक्षणका माध्यमले आफूहरू योजनाबद्ध रुपमा ठाडोभाका प्रवद्र्धनमा जुटेको बताए । उनले विकास भनेको भौतिक निर्माणमात्र हो भन्ने नेताहरूको सोचमा परिवर्तन हुनुपर्नेमा जोड दिए । उनले तीनै तहका सरकारले कम्तीमा १ प्रतिशत बजेट कला संस्कृति साहित्यका लागि छुट्याउने नीतिगत व्यवस्था गर्नुपर्ने माग गरे ।

अयोजक संस्था दुरा सेवा समाज धुसेनी इकाइका अध्यक्ष गणेशमान दुराको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक योगेन्द्र गुरुङले स्वागत गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width