मेरो भ्वाइस र मेरो डान्सको फिल्ड अडिसन चैत ४ देखि

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७९
dance

पोखरा । इन्ट्रा नेसनल बेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को फिल्ड अडिसन शनिबारदेखि सुरु हुँदैछ । चैत ४ र ५ मा काठमाडौंको सामाखुसी कपुरधारास्थित नवोदित कलेजमा अडिसन हुन लागेको हो ।

सहभागी प्रतियोगीले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने जनाइएको छ । अडिसनमा चुनिने प्रतियोगी काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । डिजिटल अडिसनमा सहभागी प्रतियोगीले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउनु पर्ने जनाइएको छ ।

इन्ट्रा फाउन्डेसन अध्यक्ष डिल्ली अधिकारी भन्छन्, ‘हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।’

‘मेरो भ्वाइस युनिभर्स’ निर्णायकमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान हुन् भने ‘मेरो डान्स युनिभर्स’ मा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई निर्णायक छन् ।

यी सो नेपालको अहिलेसम्मकै सर्वाधिक धनराशि भएको रियालिटी सो हुन् । दुवै इभेन्टमा विजेताले १ करोड पाउने छन् । फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । डान्स युनिभर्सको सांस्कृतिक समुह विधाको विजेताले २० लाख प्राप्त गर्ने छन् ।

उक्त विधाका फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

इन्ट्रा नेसनल बेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्था हो । जसले नेपाली संस्कृतिलाई विश्वभर प्रवद्र्धन गर्दै आएको छ ।

फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न धेरै परियोजनामा काम गरिरहेको जनाएको छ । साथै फाउन्डेसनले आफ्ना परियोजनामार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपागंता भएका तथा सीमान्तकृत समुदायलाई पनि सहयोग गर्ने लक्ष्य राखेको काम गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width