शीतला माविको ६५ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७९
sitala

पोखरा । स्याङ्जाको फेदीखोला–४, गलेमस्थित शीतला माविको ६५ औं वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न भयो । समारोह सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले उद्घाटन गरेका थिए ।

त्यस अवसरमा मन्त्री गुरुङले स्वरोजगारका लागि सिपमूलक शिक्षा आवश्यक भएको बताए । गलेम आफ्नो मावली गाउँ र शीतला आफूले अक्षराम्भ गरेको विद्यालय भएको बताउँदै उनले आफू पदमा रहे पनि नरहे पनि आफ्नो जिम्मेवारी सम्झेर काम गर्ने प्रतिबद्धता जनाए ।

विगतको स्मरण गर्दै गर्दा उनको गला अवरुद्ध भएको थयो । आँसु पुछ्दै उनले भने,‘स्थानीय सरकार छ, यहाँ भएन भने प्रदेशसँग पनि माग गर्नाेस् ।’

प्रदेश सांसद सुधीरकुमार पौडेलले सामुदायिक विद्यालयप्रति स्थानीय जनताको अपनत्व हुनुपर्ने उल्लेख गरे ।

प्रदेश सभा सदस्य विकल शेरचनले शैक्षिक विकासका लागि सबै एक भएर लाग्नु पर्नेमा जोड दिए ।

प्रदेश सभा सदस्य नन्दकला नेपालीले विद्यालयसहित गलेम क्षेत्र नै हराभरा बनाउन लाग्नुपर्ने धारणा राखिन् ।

नेपाल समाजवादी पार्टीका पोलिटब्युरो सदस्य टीकाराम पौडेलले शीतलाको शैक्षिक वातावरण राम्रो भएको उल्लेख गर्दै बसाइँसराइ रोक्ने गरी काम गर्नुपर्ने बताए । गाउँलाई बचाउन उत्पादनमूलक योजना ल्याउनुपर्नेमा उनले जोड दिए ।

फेदीखोला नगरपालिका अध्यक्ष धनश्याम सुवेदीले विकासमा सकारात्मक सोंच राखेर अघि बढ्नुपर्ने बताए ।

फेदीखोला–४ का अध्यक्ष ख्यामनारायण पौडेलले भने, ‘बसाइँसराइ रोक्न सकेमात्र गाउँका विद्यालयमा विद्यार्थी बढ्न सक्छन् ।’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेजर दिलबहादुर गुरुङले विद्यालयको व्यवस्थापनको अवस्था साथै भीरको बाटोको ट्रयाक खोल्ने कार्य भएको स्मरण गर्दै सहयोगी सबैप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा सिद्धार्थ सामुदायिक क्याम्पसका अध्यक्ष लक्ष्मीप्रसाद बराल, पूर्व अध्यक्ष प्रेमप्रसाद गौतम, जनआदर्श माविका प्रअ अग्निप्रसाद पौडेल, विद्यार्थी युना गुरुङ र दयाराम पौडेलले बोलेका थिए ।

विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक तुलसीराम पौडेलले विगतदेखि प्राविधिक शिक्षाको चर्चा हुँदै आए पनि हालसम्म पनि त्यसको व्यवस्था हुन नसकेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेजर दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक गिरिराज पोख्रेलले स्वागत, शिक्षक विमल सुवेदी र सूर्य घलानले सञ्चालन गरेका थिए । सो अवसरमा सहयोगी संघ, संस्था र शिक्षकलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग