त्यो अकल्पनीय दुर्घटना

विजय नेपाल
माघ ७, २०७९
yeti air carsh pkr (3)

पोखरा । गत साता माघे संक्रान्तिकै दिन पोखराले त्रासदीपूर्ण विमान दुर्घटना भोग्यो । नेपाली आकाशमा भएको त्यो कहालीलाग्दो दुर्घटनामा परेर ७२ जनाको एकै चिहान भयो । यती एअर दुर्घटनामा मृतकका परिवार, आफन्त यतिखेर शोकमग्न छन् । जसको घाउ वर्षौसम्म कहर बनेर रही रहने छ ।

काठमाडौंदेखि पोखराका लागि उडेको यती एयरको एटिआर–७२ विमान पोखरा ७ र १५ को बीच सेती खोंचमा दुर्घटनाग्रस्त भएको हो । विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु सवार थिए । लामो समयसम्म आगोको मुस्लो उठ्ने गरी आगलागी हुँदा यहाँको कमजोर संयन्त्रबाट उद्धार भएन । र, कोही पनि जीवित हुने सम्भावना रहेन । हालसम्म ७१ जनाका शव संकलन गरिएकोमा अझै १ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । २२ जनाको शव पोखरामै फरेन्सिक परीक्षण सम्पन्न गरी शव आफन्तलाई बुझाइएको छ । पहिचान नभएका, विदेशी र चालक दलका सदस्य गरी बाँकी शव त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको हो । तीमध्ये केही आफन्तले मात्र शव बुझे पनि कतिपयले अझै बुझिसकेका छैनन् ।

१ जनवरीदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनको २ साता नबित्दै अकल्पनीय दुर्घटना पोखराले भोग्नुपरेको हो ।

सरकारले दुर्घटनाको छानविन गर्न पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । समितिलाई अध्ययनका ४५ दिनको समय दिइएको छ । सो टोलीले पनि पोखरामै आएर अध्ययन थालेको छ । जहाज दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोलीसमेत पोखरा आएको छ । एटिआर विमान निर्माता कम्पनीबाटै यहाँका आएको टोलीले बुधबारदेखि नै घटनास्थल पुगेर अध्ययनसमेत थालेको छ । टोलीले घटनास्थलको अध्ययन गर्नुका साथै सरोकावालासँग भेटी दुर्घटनाको कारण पत्ता लगाउने विश्वास छ ।

दुर्घटनाको वास्तविक कारण के हो भन्ने ब्लाक बक्स र ककपिट भ्वाइस रेकर्डर भेटिएकोले नेपाली जाँच आयोग र विदेशी टोलीको अध्ययनमा आगामी दिनमा खुल्ने नै छ । प्रतिवेदन कार्यान्वयन भने आगामी दिनमा कडाइसाथ पालाना गर्नुपर्ने हुन्छ ।

तर आन्तरिक उडानमा सबैभन्दा ठूलो मानवीय क्षतिको घटनाले हवाई सुरक्षा चुनौती भने निम्त्याएको छ । हालसम्म प्राप्त भिडिओले स्पष्टरुपमा देखाएका छन् कि विमान अन्तिम मोड लिने बेला कोल्टिन पुगेको थियो ।

विमान अवतरणका लागि पोखरा आउने बेलामा एअर ट्राफिकले क्याप्टेन कमल केसीलाई रनवे–३० मा अनुमति दिइसकेकोमा केसीले रनवे–१२ मा अतवरणको अनुमति मागे । तर उनले किन रनवे–१२ को अनुमति मागे भन्ने खुलेको छैन । २२ हजार घण्टा उडान भरिसकेका कास्कीको रुपा निवासी केसी एक अनुभवी पाइलट थिए । को–पाइलटमा अञ्जु खतिवडा ६५ सय घण्टा उडान भरिसकेर क्याप्टेन बन्ने लक्ष्यका साथ अन्तिम उडान गरिरहेकी थिइन् । विमानको बायाँतिर बसेकी उनले यदि सकुशल जहाज अवतरण गरेको भए क्याप्टेन बन्ने थिइन् । विडम्बना सेती खोंचमै उनको लक्ष्य बिलाउन पुग्यो । त्यस्तै उनीसहित ७२ जनाकै जीवनको इहलीला समाप्त बन्न पुग्यो ।

विमान दुर्घटनाका प्रत्यक्षदर्शीले आफ्नो टाउकै माथि दुर्घटना भएको बताउँछन् । त्यो क्षणको स्मरण गर्दै उनीहरुले आगोको मुस्लाले तत्काल उद्धारमा जान नसक्दा दुख लागेको बताउँछन् । आँखै अगाडि यतिठूलो मानवीय क्षति आइन्दा नहोस् भनी उनीहरुको कामना समेत छ ।

Related News

सम्बन्धित समाचार

hero news full width