गण्डकी बोर्डिङको प्रख्याति गर्व गर्न लायक : कुलपति

आदर्श समाज सम्वाददाता
पौष १०, २०७९
gbs

पोखरा । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले गण्डकी बोर्डिङ स्कुलले स्थापनादेखि नै शिक्षण सिकाइमा कमाएको प्रख्याति गर्व गर्न लायक भएको बताएका छन् ।

विद्यालयमा शुक्रबार आयोजित वार्षिक सांस्कृतिक कार्यक्रम उद्घाटन समारोहमा बोल्दै कुलपति प्राडा गुरुङले सो कुरा बताएका हुन् । उनले समय बदलिरहेको अवस्थामा विद्यार्थीले अपनाउने शैक्षिक पद्दति कस्तो हुने र उनीहरुको पढाइलेखाइको रुची कतातिर रहेको छ, सोको पहिचान हुनुपर्ने पनि बताए ।

‘विद्यालयले समावेशी चित्र प्रस्तुत गरिरहेको कुरा गर्व लाग्ने कुरा हो । उहिलेका ७५ जिल्ला तथा अहिलेका ७७ वटै जिल्लाका विद्यार्थीको लागि यो पढ्ने पढाउने थलो भएको छ,’ उनले भने, ‘यहाँका उत्पादित विद्यार्थी अब्बल मानिएका छन् । जसरी विद्यालयले पढाइ, नतिजा र उचाई कायम गरेको छ, यसलाई जोगाउनु र उचाईमा रहिरहनु मुख्य कुरा भएकोले यसमा ध्यान दिनुपर्छ ।’ यसका अतिरिक्त विद्यार्थीमा भएको प्रतिभा पनि लोभलाग्दो भएको उनले बताए । त्रिदिवसीय वार्षिक खेलकुद कार्यक्रममा उनले नेपालका सबै जातजातिमा रहेको सांस्कृतिक चेतनाको कुरा गीत, संगीत र पहिरनबाट प्रस्तुत गरेकोमा आभार व्यक्त गरे ।

जिल्ला शिक्षा समन्वय कार्यालयका प्रमुख नारायणप्रसाद सुवेदीले विद्यालयलाई कस्तो बनाउनु पर्छ भन्ने कुरा विद्यालय परिवार, अभिभावक र समुदायको हातमा रहेको बताए । विद्यालयले यसको शैक्षिक प्रगतिको साखलाई जोगाउँदै समयले खोजिरहेको आवश्यकता र विद्यार्थीको पठनपाठन रुचि अनुसार अगाडि बढ्नुपर्ने सुवेदीले बताए ।

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव हेमराज सुवेदीले विद्यार्थीको सर्वाङ्गीण विकासमा अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने बताए ।

विद्यालय प्राचार्य वीरेन्द्र खड्काले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षण सिकाइ त छँदैछ, अझ उनीहरुको विकासको लागि अतिरिक्त क्रियाकलापले पनि फस्टाउने अवसर दिइएको बताए । ‘हामीले मात्रै विद्यालय संचालन गरेका छौं भनेर मख्ख परेर बस्नु हुँदैन,’ उनले भने, ‘यसमा विद्यार्थीको लगनशीलता पनि चाहिन्छ, अभिभावकको अनुगमन वा सोधपुछ गर्ने बानीको विकास हुनुपर्छ ।’

विद्यालयको छवि उच्च रहेको दुईमत छैन तर यसले आर्जन गरेको उचाई समुदाय, अभिभावक, विद्वान, शिक्षक, विद्यार्थी सबैको तादम्यता मिल्न जरुरी रहेको बताए । उनले आफ्नोतर्फबाट विद्यालयमा गर्नुपर्ने सुधार विद्यालयमा आउने सल्लाह र सुझाव मार्गदर्शको रुपमा रहेको बताए ।

कार्यक्रममा कक्षा ४ देखि १२ का विद्यार्थीले विभिन्न संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यालयमा संचालन गरिएको शैक्षिक प्रदर्शनी, रमाइलो मेला तथा खानाका परिकार विद्यार्थी तथा अभिभावकको निम्ति आकर्षणको केन्द्र थियो । कार्यक्रम संचालन शिक्षक मानबहादुर थापाले गरेका थिए । विद्यालयले पुस ६ र ७ मा वार्षिक खेलकुद कार्यक्रम गरेकोमा तेस्रो तथा अन्तिम दिन वार्षिक सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम गरेको हो । वार्षिक खेलकुद कार्यक्रममा नेपाली सेनाका पश्चिम पृतनापति दीपक बानियाँको प्रमुख आतिथ्य थियो । सो अवसरमा विद्यार्थीले मार्चपास समेत गरेको विद्यालय शिक्षक भीम सापकोटाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै