हिसान स्पोर्टस् मिट : ‘पोखरा खेलकुद संस्कृतिको सहर’

आदर्श समाज सम्वाददाता
पौष ८, २०७९
HISAN OPENING NEWS 07 POUSH

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा १५ औं हिसान स्पोर्टस्् मिटको औपचारिक सुरुआत भएको छ ।

पोखरा रंगशालामा आयोजित समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले स्पोर्टस् मिट उद्घाटन गरे । उनले पोखरा खेलकुद संस्कृतिको सहरको रुपमा विकास भएको बताए । उनले भने, ‘गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने ठूला राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता हुन वा अन्य खेल गतिविधिले पनि पोखरा खेलकुदको संस्कृतिको शहरको रुपमा स्थापित गर्न सहयोग गरेको छ ।’

पोखरालाई खेलकुद राजधानीको शहरको रुपमा घोषणा गर्न प्रदेश सरकारले पटक–पटक आफ्ना कुरा संघीय सरकारलाई अघि बढाएको बताउँदै मुख्यमन्त्री पोखरेलले हिसानले शिक्षाको क्षेत्रमा जसरी विकास गरेको छ, त्यसरी नै खेलकुद विकासका लागि समेत महत्वपूर्ण भूमिका खेलेकोमा आभार व्यक्त गरे ।

हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव रमेश सिलवालले खेलकुदमा कहिल्यै पनि राजनीतिमा जस्तो हार वा जीतको विषय नहुने बताए । उनले खेलकुदले एकताको विकास गर्न अहम भूमिका खेल्ने बताउँदै हिसानले आगामी दिन चाँडै नै राष्ट्रियस्तरको फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको बताउँदै स्पोर्टस् मिटले खेलकुद मार्फत मित्रता बढाउन कोशेढुंगा सावित हुने उल्लेख गरे ।

हिसान कास्की अध्यक्ष यामबहादुर रोक्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा १५ औं हिसान स्पोर्टस् मिटका संयोजक डा.रामजी शर्माले शिक्षासँगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्टस् मिटलाई निरन्तरता दिंदै आएको बताए ।

उद्घाटन कार्यक्रममा अतिरिक्त क्रियाकलापमा विजेता विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यार्थीले एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।

स्पोर्टस् मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबलटेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस् मिट संयोजक डा.रामजी शर्माले जनाए । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता छ । भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहेको उनले बताए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ ।

यसैगरी व्याडमिन्टन छात्र–छात्रातर्फ ३४ विद्यालयका सिंगल्स र डब्ल्स गरी १ सय ४१ प्रतिष्पर्धाहरु हुने हिसान कास्कीले जनाएको छ । यस्तै टेबलटेनिसतर्फ ३४ विद्यालयको सहभागिता छ । टेबलटेनिसतर्फ सिंगल्स र डब्ल्समा १ सय ५० वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । पुस १० सम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्न १५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

हिसान कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्ध रहेका ७२ मध्ये ६० शिक्षण संस्थाले स्पोर्टस् मिटमा सहभागिता जनाएको प्रसार संयोजक डिल्लीराम अर्यालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै