प्याब्सन स्पोर्टस् मिट : टप्स लगातार च्याम्पियन

आदर्श समाज सम्वाददाता
पौष १, २०७९
PAbson Sports Meet Final News Mangsir 29

पोखरा । पोखराको टप्स माविले प्याब्सन स्पोर्टस् मिटमा लगातार ६ पटकसम्म उपाधिमाथि कब्जा जमाएको छ । यसअघि च्याम्पियनमा ह्याट्रिकसहित ट्रफी कब्जा गरेको टप्सले बिहीबार फेरि त्यस्तै नतिजा दोहोर्‍याएको हो ।

निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित १७ औं प्याब्सन स्पोर्टस् मिटमा टप्सले सर्वाधिक २३ अंक प्राप्त गर्दै च्याम्पियन यात्रा रक्षा गरेको हो । पोखराको रामघाटस्थित टप्स खेलकुद क्रियाकलापमा विगतदेखि नै अब्बल मानिन्छ ।

यसैगरी, समग्रमा ११ अंकका साथ सिर्जना मावि, सिर्जनाचोक दोस्रो र १० अंकका साथ रेन्वो एकेडेमी रामबजार तेस्रो बन्न सफल भए ।

विजयीलाई बिहीबार साँझ प्याब्सन राष्ट्रिय अध्यक्ष डिके ढुंगाना, केन्द्रीय उपाध्यक्षद्वय वीरबहादुर बुढाथोकी र कृष्ण केसी, केन्द्रीय सल्लाहकार गणेशमानसिंह भण्डारी, केन्द्रीय सदस्य प्रेम शर्मा लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

गएको मंसिर २० देखि सुरु प्रतियोगिताको २५ गते औपचारिक उद्घाटन गरिएको थियो । १० दिनसम्म चलेको स्पोर्टस् मिटमा भलिबल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेबलटेनिस सिंगल्स छात्रतर्फ ४१, छात्रातर्फ १९, टेबलटेनिस छात्र डबल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता थियो । त्यसैगरी ट्रायक एन्ड फिल्ड एथ्लेटिक्सतर्फका विभिन्न इभेन्टमा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाले भाग लिएका थिए । कक्षा ११–१२ प्लस टुअन्तर्गत एथ्लेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालय र कक्षा ११–१२ छात्र भलिबलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता थियो । स्पोर्टस् मिट सञ्चालन गर्न करिब ५० लाख खर्च भएको कास्की प्याब्सनले जनाएको छ ।

च्याम्पियनमा ह्याट्रिकसहित ट्रफी कब्जा गरेको टप्सले फेरि त्यस्तै नतिजा दोहोर्‍याएको हो

यसैबीच, स्पोर्टस् मिटअन्तर्गत मावि सिनियर फुटबलतर्फ उपाधि स्नो भ्यूले जितेको छ । पोखरा रंगशालामा फाइनलमा शान्तिदीप माविलाई १–० ले पराजित गर्दै उसले उपाधि जितेको हो । ६३ औं मिनेटमा दृष्य पुनले निर्णायक गोल गरेका हुन् । उनी सिनियरतर्फको उत्कृष्ट खेलाडी घोषित भए । स्पर्धामा मेरीगोल्ड तेस्रो भयो । मेरीगोल्डले बालोदयलाई २–१ गोलले पराजित गरेको हो ।

जुनियरतर्फ फुटबल च्याम्पियन इडेन मावि भएको छ । रेन्बो एकेडेमीलाई टाइब्रेकरमा ३–२ मा पराजित गर्दै इडेन प्रथम भएको हो । निर्धारित समयमा दुवैतर्फ १–१ को बराबरी भएको थियो ।

सो इभेन्टमा बेसलाइनले कुमुदिनीलाई १–० गोलले पराजित गर्दै तेस्रो स्थान बनायो । जुनियरतर्फ इडेनका सुभाष गुरुङ उत्कृष्ट खेलाडी बने ।

छात्र मावि भलिबलमा सिर्जना माविले न्यु मोडललाई हराउँदै उपाधि जितेको छ । प्लस टु छात्रतर्फ गुरुकुल माविले फाइनल खेल जितेको छ । गुरुकुलले सिर्जनालाई सोझो सेटमा हराएको हो । मावि छात्रतर्फ न्यु मोडलका सुशान्तसिंह ठकुरी र छात्र मावितर्फ टप्सकी सम्पदा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरी, एथलेटिक्स माविछात्रतर्फ टप्स च्याम्पियन हुँदा बेथानी दोस्रो र लिटिल स्टेप तेस्रो भए । मावि छात्रातर्फ टप्स मावि प्रथम, बेसलाइन दोसो र प्रगति तेस्रो भए । एथलेटिक्स प्लस टुतर्फ प्रतिभा प्रथम, स्नो भ्यू द्वितीय र सिर्जना तृतीय भएका छन् । एथलेटिक्स छात्रतर्फ टप्सका आमित गुरुङ उत्कृष्ट खेलाडी घोषित हुँदा छात्रातर्फ टप्सकै सविना खातुन मियाँ उत्कृष्ट बन्न सफल भइन् ।

प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा भएको समापन अवसरमा राष्ट्रिय अध्यक्ष ढुंगानाले नेपालको समग्र शिक्षाको विकासका लागि निजी विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नै दक्ष जनशक्ति उत्पादनसँगै सामुदायिक विद्यालयको विकासमा समेत प्रेरणादायी भूमिका खेलेको दाबी गरे ।

उनले शिक्षासँगै खेलकुदको विकासका लागि नेपालमा खेलकुद विश्व विद्यालयको स्थापनाका लागि समेत प्याव्सनको तर्फबाट सुझाव पेस गरिएको बताउँदै खेलकुदमार्फत समेत राष्ट्रिय पहिचान र व्यावसायिक खेलाडी उत्पादनमा समेत भूमिका रहेको बताए । स्पोर्टस् मिट संयोजक उमा लामिछाने र प्याब्सन कास्की सचिव पुष्पराज पराजुलीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै