फ्रान्स र अर्जेन्टिनाबीच विश्वकप उपाधिको लागि प्रतिस्पर्धा

आदर्श समाज सम्वाददाता
मंसिर २९, २०७९
messi

पोखरा । मोरक्कोलाई पराजित गर्दै फ्रान्सले विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिनासँग भेट निश्चित गरेको छ । बुधबार राति दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलअन्तरले पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासँग फाइनल भिडन्त पक्का गरेको हो ।

कतारको दोहास्थित अल बायत रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले खेलको पाँचौं मिनेटमै अग्रता लिएपछि मोरक्कोलाई स्तब्ध पारेको थियो । पहिलो हाफ १–० ले टुंगाएको साविक विजेता फ्रान्सले दोस्रो हाफमा थप गोल गर्दै जीत सुनिश्चित गरेको हो ।

फ्रान्सका लागि थिओ हर्नान्डेजले खेलको ५ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बलको सदुपयोग गर्दै गोल गरेका थिए । ७९ आंै मिनेटमा मैदान छिरेको एक मिनेटभित्रै रान्दल कोलो मुवानीले आश्चर्यजनक शैलीमा गोल गरेका थिए । ओसुमाने डेम्बेलेको स्थानमा बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरेर उनले फ्रान्सका समर्थकमाथि उच्च भरोसा कायम गरेका थिए ।

क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको फ्रान्स विश्वकपमा २ पटकको उपाधि विजेता हो । पहिलो पल्ट सेमिफाइनल पुगेको अफ्रिकी राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएको थियो ।

पहिलो सेमिफाइनलमा भने मेस्सीको टिम अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको हो । फाइनल आइतबार हुनेछ । त्यसअघि शनिबार मोरक्को र क्रोयसियाबीच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

यसैबीच, अर्जेन्टिनाका कप्तान लिओनल मेसी र फ्रान्सका किलिएन एमबाप्पेबीच गोल्डेन बुटका लागि कडा प्रतिस्पर्धा छ । उनीहरु दुवैले हालसम्म समान ५ गोल गरेका छन् । फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिना युलियन अल्भारेजले समान ४ गोल गरेका छन् । मेस्सी असिस्ट गर्नेमा एमबाप्पेभन्दा अघि छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width