विमानस्थल संचालनको तयारी तीव्र पार्न माग

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७९
airport

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि तयारी तीव्र पार्न पोखरेली व्यवसायीले दबाब तीव्र पारेका छन् । ४३ औं अन्तर्राष्ट्रिय विश्व पर्यटन दिवस अवसरमा मंगलबार पोखरामा आयोजित अन्तरक्रियामा पर्यटन व्यवसायीले विमानस्थल संचालनका लागि संघ र प्रदेश सरकारका तर्फबाट ढिलासुस्ती गरिएको भनी असन्तुष्टी जनाए । पोखरा पर्यटन परिषद्, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त आयोजनमा उक्त कार्यक्रम भएको थियो ।

अहिलेको ल्यान्डफिल साइट सट्टा फोहोर व्यवस्थापनका लागि उचित स्थल वा प्रविधिको प्रबन्ध, रिट्ठेपानी डाँडा कटान, हवाईमार्ग टुंगो र उडान भर्न चाहने विमान कम्पनीको सुनिश्चितताजस्ता अन्योल विद्यमान रहेको कार्यक्रममा चर्चा गरियो ।

अग्रज पर्यटन व्यवसायी बासुदेव त्रिपाठीले विमानस्थल संचालनको मिति नजिकिंदै गर्दा समेत भारतबाट नेपाल आउँदा विमानले कुन विन्दुबाट प्रवेश गर्ने विषय टुंगो नलाग्नु दुखद भएको बताए ।

५ वर्षअघि निर्माण थालनी भएको विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी पुस १७ (१ जनवरी) मा औपचारिक संचालन गर्ने बताउँदै आएको छ । यसका लागि रिट्ठेपानी डाँडा कटान काम तीव्ररुपमा अगाडि बढाउन पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले माग गरे । ल्यान्डफिल साइट व्यवस्थापन र डाँडा काट्ने कामलाई बोलीमा भन्दा व्यवहारमा तीव्रता दिन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका पूर्व अध्यक्ष सोम थापाले माग गरे ।

प्राधिकरणका पोखरा प्रमुख एवं नयाँ विमानस्थल संचालन तयारीको जिम्मा पाएका विक्रम गौतमले विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको जानकारी गराए । सेफ्टिी, सेक्युरिटी र फेसिलेसनसम्बन्धी सम्पूर्ण कामहरु करिब सकिने अवस्थामा रहेको उनले बताए । कर्मचारीहरु तालिमको क्रममा रहेको र विमानस्थलमा वोइङ ७३७ समूहका जहाज अवतरण र उडान गर्न सक्ने गरी तयारी गरिएको उनले सुनाए ।

क्यालिवरेसन उडानका लागि रिट्ठेपानी डाँडा पूरै ४० मिटर कटान गर्न नभ्याइए पनि १४ मिटर काटेर त्यस्तो उडान गर्न सकिने

३ हजार ८ सय ९९ रोपनी ओगटेको विमानस्थलको रनवेको लम्बाई २ हजार ५ सय मिटर र चौडाई २५ मिटर रहेको पनि गौतमले बताए । क्यालिवरेसन उडानका लागि रिट्ठेपानी डाँडा पूरै ४० मिटर कटान गर्न नभ्याइए पनि १४ मिटर काटेर त्यस्तो उडान गर्न सकिने र सोहीअनुसार तयारी भइरहेको उनले बताए । रिट्ठेपानी डाँडा कटानका लागि प्राधिकरणले यसअघि नै टेन्डर आव्हान गरिसकेको छ । चाइना सिएएमसी इञ्जिनियरिङले चीनको एक्जिम बैंक र चीन सरकारले प्रदान गरेको कुल २२ अर्ब रुपैयाँ ऋण तथा आर्थिक सहयोगमा यो विमानस्थल बनेको हो । विमानस्थलमा टर्मिनल भवन, पेरिफेरि रोड, रन–वे, ह्यांगर, ट्क्याक्सी वे, यात्रु आउनेजाने बाटो, एटिआर तथा विमान पार्किङ गर्न सकिने संरचना तयार भइसकेका छन् ।

बोर्ड अफ एयरलाइन्स रिप्रेन्जेटिभ्स् नेपाल (बार्न) का अध्यक्ष जनकराज कलाखेतीले विमानस्थल सहज संचालनका लागि सरकारले विमान कम्पनीहरुलाई सहुलियतका कार्यक्रम ल्याउनुपर्ने बताए । ल्यान्डिङ, पार्किङ र ग्राउण्ड हेन्डलिङसम्बन्धी शुल्कहरुमा छुट हुनुपर्ने माग उनले गरे । ग्राउन्ड हेन्डलिङसम्बन्धी सामग्रीहरुको खरिदमा भंसार छुटको विषय पनि उनले राखे । यात्रु नेपाल ल्याएवापत केही शुल्क अर्थात् मार्केटिङ फन्डका लागि रकम व्यवस्था गरिनुपर्ने सुझाव उनले दिए । कनेक्टिभिटी र पूर्वाधारको विषय महत्वपूर्ण भएको बताउँदै संसारभरि अहिले हवाई इन्धनको मूल्य दोब्बरजस्तो भएको र नाफाको ग्यारेन्टी नभएसम्म विमान कम्पनीहरुले विमान उडाउन गाह्रो पर्ने भनाइ उनले राखे । प्राधिकरणतर्फबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधि र संचारकर्मीलाई नयाँ विमानस्थलको अवलोकन पनि गराइएको थियो ।

अन्तरक्रियामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विमानस्थलमा सेवा आरम्भको समयसम्म महानगरले पोखराको बाच्छेवुडुवामा रहेको ल्यान्डफिल साइटको अल्पकालकै लागि भए पनि उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए । दीर्घकालका लागि फोहोरबाट बिजुली उत्पादन, मल उत्पादन, ग्यास उत्पादन र रिसाइक्लिङमध्ये अन्तिम विकल्पका बारेमा बढी सम्भावना रहेको उनले बताए ।

उक्त अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले नयाँ विमानस्थल बनाउनुभन्दा संचालनका लागि सकसपूर्ण जस्तो अनुभव हुन थालेको भन्दै यसको उचित संचालन गरी यसलाई सेतोहात्ती हुनबाट जोगाउनुपर्ने बताए । बोर्डले विमानस्थलको प्रबद्र्धनका लागि पूर्ण सहकार्य गर्ने भनाइ पनि उनले राखे ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री एवं प्रवक्ता कुमार खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रम गण्डकीका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलको अध्यक्षतामा भएको हो । कार्यक्रममा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width