वर्षाले फाइनल स्थगित, टिमले बाँडे पुरस्कार

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०७९
lamachaur fes (5)

फाइल फोटो

पोखरा, १६ भदौ । लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत वर्षाका कारण पुरुषतर्फको फाइनल खेल स्थगित भएको छ । फाइनिस्ट दुवै टिमले पुरस्कार बाँडेर लिए ।

नेपाल पुलिस क्लब र गण्डकी प्रदेश टिमबीच बिहीबार हुने भनिएको फाइनल निरन्तर वर्षाका कारण आयोजक नवआदर्श सामुदायिक विकास समाजले स्थगित गर्ने निर्णय गरेको हो ।  निरन्तर वर्षाले इन्द्रराज्य लक्ष्मी मावि लामाचौरको भलिबल कोर्टमा आयोजित प्रतियोगिता संचालनमा कठिनाइ पर्दै आएको थियो ।

आयोजक नवआदर्श सामुदायिक विकास समाज, जुरी निर्णायक तथा सम्बन्धित टिमका टिम व्यवस्थापक, टिम कोच, क्याप्टेन सहितको बैठकले खेल स्थगित गरी पुरस्कार बाँडेर लिने निर्णय गरेको अध्यक्ष रेश्मा शेरचन अधिकारीले विज्ञप्तिमार्फत जनाइन् ।

जसअनुसार नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको टिमले प्रथम पुरस्कार र दोस्रो पुरस्कार वापत जोडेर हुने कुल २ लाख ५० हजार २ सय २२ रुपैयाँ आधा आधा बाँडेर लिएको सूचना तथा संचार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।

तेस्रो स्थानको लागि प्रतिस्पर्धाको तयारीमा रहेका त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एफिएफको टिमले तेस्रो स्थान वापत प्राप्त हुने ५० हजार १ सय ११ रुपैयाँ बाँडेर लिएका छन् । प्रथम र तेस्रो स्थानवापत प्राप्त हुने ट्रफी समेत थप गरी प्रदान गरिएको आयोजक समितिका द्वितीय उपाध्यक्ष दिनेश भण्डारीले जानकारी दिए ।

महिलातर्फ सर्वाधिक ४ पटकसम्मको विजेता न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा हराउँदै नेपाल पुलिसले उपाधि रक्षा गरेको छ । भदौ ११ देखि चलेको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width