सिद्धार्थ आर्थिक करिडोरको सम्भावना

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७९
siddhartha

पोखरा । सिद्धार्थ आर्थिक करिडोरका लागि स्थानीय तहका प्रमुखहरूको साझा मञ्चद्वारा पोखरामा ‘सिद्धार्थ आर्थिक करिडोर : सिकाइ गोष्ठी’ सुरु भएको छ ।

प्रभावकारिता स्थानीय सेवाका लागि सार्वजनिक निजी साझेदारीका विषयमा गहन छलफल हुने गोष्ठीमा १६ स्थानीय तह प्रमुख र उपप्रमुखका साथै प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता छ ।

गोष्ठी उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिद्धार्थ करिडोरको पर्यटनसँगै आर्थिक विकासमा महत्वपूर्ण मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरे । गोष्ठीमा छलफल हुने हरेक विषयमाथिको सार्थकता र औचित्यले यस क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारणमा विशेष महत्व राख्ने उनले बताए । सरकार सञ्चालनमा जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय कायम गर्न समेत यसप्रकारका फोरम फलदायी हुने उनले विश्वास व्यक्त गरे ।

पोखरालाई पर्यटन राजधानी घोषणाका लागि संघ सरकारलाई आग्रह गरिएको जनाउँदै उनले हरेक स्थानीय पालिकाहरूले आफ्नो विशेषताअनुसारको योजना बनाउनुपर्नेमा जोड दिए ।

गोष्ठीमा करिडोरअन्तर्गतका पालिकाको अवसर र चुनौती तथा नागरिकप्रति स्थानीय सरकारको जिम्मेवारी मध्यनजर गरी आर्थिक विकासका अवसरको उच्चतम सदुपयोग गर्न र प्रभावकारी समन्वय एवं सहकार्यका प्रयास र त्यसका अनुभवको आदानप्रदान गरिनेछ । मेयर फोरमका अध्यक्ष सन्तोषलाल श्रेष्ठका अनुसार गोष्ठीमा करिडोरअन्तर्गतका पालिकाको विकास निर्माण, भावी योजना र राष्ट्रिय परिस्थितिबारे समेत समीक्षा हुनेछ । साउन २२ सम्म चल्ने गोष्ठीमा यस क्षेत्रका सम्भावनाका विषयमा समेत विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

२०२८ सालमा भारत सरकारको सहयोगमा निर्मित सिद्धार्थ राजमार्ग (पोखरा–सुनौली) दूरी १ सय ८० किलोमिटर लामो छ ।

Related News

सम्बन्धित समाचार

hero news full width