माधव बराल अध्यक्ष, ज्ञानज्योति पुस्तकालय, रामबजार
पोखरा रामबजारका माधव बराल समाजसेवी एवं धार्मिक व्यक्तित्व हुन् । पोखरा– १५ रामबजारकै लक्ष्मी टोलमा रहेको ज्ञानज्योति पुस्तकालय सञ्चालनका लागि उनले निकै ठूलो संघर्ष र समय खर्चिएका छन् । उनी त्यस पुस्तकालयका अध्यक्ष पनि हुन् । राधेराधे भनेर चिनिने श्यामाश्याम सत्संग केन्द्र पोखराको संस्थापक सहसचिव भएर काम गरेका उनी कालिका मन्दिर सञ्चालक समिति राजबजारका कोषाध्यक्ष पनि हुन् । पृथ्वीनारायण क्याम्पसमा उपप्राध्यापकको रुपमा काम गरेका बराल गोल्डेन फ्युचर बोर्डिङ स्कुलका संस्थापक सञ्चालक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । ज्ञानज्योति पुस्तकालय, धर्म र शिक्षाका विषयमा बरालसँग आदर्श समाज राष्ट्रिय दैनिकका संवाददाता रुपनारायण ढकालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
ज्ञानज्योति पुस्तकालय स्थापनाको इतिहासबारे बताइदिनुस् न ।
ज्ञानज्योति पुस्तकालय सुरुमा ज्ञानज्योति वाचनालयको रुपमा २०२४ साल फागुन ७ मा स्थापना भएको हो । त्यो बेला पत्रपत्रिका जताततै सहज उपलब्ध थिएनन् । अतः पत्रिका पढ्ने स्थानका रुपमा वाचनालय बनाइयो । पुस्तकालयका संस्थापक अध्यक्ष तारा पाखे हुनुहुन्छ । सुरुमा पुस्तकालय भाडाको घरमा स्थापना गरिएको हो । यसका लागि लागि स्वतस्फूर्त रुपमा सबैजना स्वयंसेवी भएर काम गर्दै आइएको हो । पहिला पुस्तकालय सार्वजनिक जग्गामा थियो । जग्गामा व्यक्तिको दाबी हुन थालेपछि मेरो सानोबाबा सोमनाथ बरालले १५÷१५ हात मोहडा र पिछाड भएको जग्गा उपलब्ध गराएपछि पुस्तकालयले निरन्तरता पाउने अवस्था आयो । जग्गामा पुस्तकालय नै चलाउनुपर्ने तर अरु काम गर्न नपाइने कागजी सम्झौता थियो । लालपुर्जा उपलब्ध थिएन । हनुमान चालिसालगायत विभिन्न फिल्म, भिडियो देखाएको टिकटबाट उठेको पैसा, युवाहरुको योगदान र जनश्रमदानबाट टिनको टहरो निर्माण गरी पुस्तकालय सञ्चालन गरिएको हो । पुस्तकालयमा हामीसँग सिद्धार्थ क्लबबाट प्राप्त ४ सय ५० पुस्तकसहित ६ सय हाराहारी पुस्तक छन् ।
पुस्तकालय सञ्चालनका लागि के कस्ता चुनौतीहरुको सामना गर्नुपरेको छ ?
पुस्तकालय सञ्चालनका लागि हामीसँग भरपर्दो साधनस्रोत भएन । यस्तो अवस्थाले पुस्तकालयलाई निरन्तरता दिन निकै कठिनाइ भोग्नुप¥यो । पुस्तकालयको भवनमा कहिले कुन संस्था त कहिले कुन बस्ने अवस्था पनि सिर्जना भयो । पुस्तकालयले निरन्तरता नपाउँदा वडा प्रहरी चौकीले पनि पुस्तकालय भवन प्रयोग गरेको हामी पाउँछौं । जग्गादाता र अन्य स्थानीयको गुनासो पछि चौकी हट्न पुग्यो । २०५१÷०५२ तिर मीनबहादुर गिरी पुस्तकालयको अध्यक्ष हुँदा यसलाई विधिवत् रुपमा दर्ता गरी अगाडि बढाइएको थियो । पछि भवन बनाउने कुरा आयो । भक्तबहादुर कार्की अध्यक्ष हुनुहुन्थ्यो । निरज थापा म लगायत समितिमा थियौं । भवन बनाउन हामीले ५ हजार ५ सय ५५ रुपैयाँका दरले खल्तीको पैसा जम्मा गरेर कोष बनायौं । अरुले पनि सहयोग गरे र पहिलो तला निर्माण गरियो । पछि सूर्यबहादुर केसीले बुबा कृतिबहादुरको नाममा दोस्रो तला बनाइदिनुभयो । २५÷३० जना बस्न मिल्ने खालको भवन छ, पार्किङको अभाव छ । अहिलेको समय र जमना अनुसारको भवन र संरचना हामीसँग भएन । पछि पुस्तकालयमा कर्मचारीको पनि व्यवस्था गरियो र मसलन्द, पानी, टेलिफोन जस्ता खर्चका लागि भवनको सटर भाडामा लगाइयो । पछि कर्मचारी राख्न नसक्दा ४ बजेदेखि देखि ६ बजेसम्म हामी आफैं पालो मिलाएर पुस्तकालयमा बस्न थाल्यौंं तर पनि पाठक आएनन् । प्रौढ शिक्षाका लागि नगरपालिका र जिल्ला शिक्षा कार्यालयको समन्वयमा पुस्तकालयमा सिकाइ केन्द्र पनि राखेर पुस्तकालय अगाडि बढाइएको हो । बीचमा एसइई दिएर बसेका विद्यार्थीका लागि रामबजार युके सोसाइटीले दिएका ३ थान कम्प्युटर र हामी आफैंले व्यवस्था गरेका २ गरी ५ वटा कम्प्युटरका माध्यमबाट निशुल्क कम्प्युटर शिक्षा पनि दिइयो । कम्प्युटर शिक्षक भोलिन्टियर राखे पनि अलिक समयपछि तलब दिनुपर्छ भन्ने कुरा उठेपछि र कम्प्युटरहरुको पनि मर्मत खर्च जुटाउन पैसा अभाव हुँदा पुन समस्यामा परियो । सोसाइटीकै डेढ लाख रुपैयाँ खर्चमा सोलार बत्ती जडान गरियो । तर पनि नियमित आयस्रोत नहुँदा पुस्तकालय चलाउन समस्या पर्न छाडेन । अरु पुस्तकालयमा पनि हेर्दा पुस्तकालयको लागि लगानी गरिदिने मानिस भएमात्र लामो समय जाने देखियो । संस्था स्थापना गर्दा हुटहुटी हुने तर निरन्तरताका लागि त्यो स्तरको जाँगर नहुने पनि रहेछ । कि अर्को पुस्ता अगाडि आउनुप¥यो । नयाँ जेनेरेसनमा सामाजिक सेवामा लाग्ने भन्ने कुरा कम देखियो । पुस्तकालय भनेको अहिलेको व्यक्तिको लागि त्यति रुचिको चिज भएन । पुस्तकालयका सबल पक्ष त छन् तर तिनलाई हामीले उजागर गर्न सकेका छैनौं । प्रविधिका कारण अहिले त हातहातमा नै रुचि अनुसारको चिज उपलब्ध भयो भयो । अव पुस्तकालय सञ्चालन गर्न नयाँ सोचका साथ अगाडि बढ्नुपर्छ । हामीले पनि अनलाइनमा लिंक गर्ने र सोही अुनसारका प्रकाशकसँग समन्वय गर्नसके राम्रो हुने थियो । नत्र यही तरिकाले गर्ने हो भने चुनौतीपूर्ण देखियो ।
प्रविधि र इन्टरनेटको विकासले पुस्तकालय र पठन संस्कृतिलाई कस्तो असर पारेको पाउनुहुन्छ ?
पछिल्लो समय फोन, इन्टरनेट र विभिन्न मिडिया आएपछि पुस्तक हेर्न भनेर पुस्तकालय जाने क्रममा कमी देखिन थाल्यो । पहिला रुचि हुँदा पुस्तक थिएनन् । पछि पुस्तक केही संकलन भए तर पाठक कम हुँदै गए । हाम्रै पुस्तकालयमा दैनिक ४÷५ जनामात्र पाठक आउन थाले । हामीले पाठकको रुचिअनुसारका किताब ल्याउन पनि सकेनौं भन्नुपर्छ । पुस्तकालय सञ्चालनका लागि कि मानिस आफूले झट्ट किन्न नसक्ने खालका पुस्तक राख्न सक्नुपर्ने रहेछ कि निश्चित विधाका हरेक पुस्तक राख्न सके पनि पुस्तकालय सञ्चालन गर्न सकिन्छ । अरुले दिएका फाल्तु भएका र घरका दराजमा नअटेका पुस्तक संकलन गर्दा पाठकले खोजेका चिज नपाएको देखियो । एउटा समाचार हेर्न मात्र पुस्तकालय आउन त परेन अहिलेको जमनामा । अहिले ओछ्यानमा बसेर चिया खाँदा खाँदै घरमा नै पुस्तकको एक्सेस हुन पुग्यो । यस्तो हुँदाहुँदै पनि पुस्तकालयलाई अगाडि बढाउनुपर्छ र पाठकलाई आकर्षित गर्नुपर्छ भनेर समसामयिक विषयका चर्चामूलक काम गर्ने भनेर महिना÷२ महिनामा विशेष व्यक्तिहरु बोलाएर २०७० सालतिरबाट अन्तक्र्रिया पनि गर्न थालियो । कलाकार दुर्गा बराल, महावीर पुन, पत्रकार युवराज घिमिरे, राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य गणेशमान गुरुङलगायत व्यक्तिलाई हामीले ल्यायौं । दलका नेता रवीन्द्र अधिकारी, यज्ञबहादुर थापा पनि आए । कहिले स्वास्थ्यसम्बन्धी व्यक्ति ल्याएर रक्तचाप नाप्ने जस्ता काम पनि सञ्चालन गरेका थियौं । साधन र स्रोतकै अभावमा यी कामलाई पनि निरन्तरता दिन भने गाह्रो भयो ।
अब पुस्तकालयलाई कसरी अगाडि बढाउने सोच छ ?
पुस्तकालय सञ्चालनका लागि नियमित कर्मचारी राख्न नसकिने र मानिसको रुचि सामाजिक क्षेत्रमा भन्दा आर्थिक क्षेत्रमा बढी देखिएको हामीले पायौं । एउटा सहकारीको मिटिङ छ भने सहभागीले भत्ता पाउने भयो तर पुस्तकालयले मिटिङ बोलाउँदा कोरम नपुग्ने देखियो । त्यही भएर वडा कार्यालय, महानगर कार्यालय र पुस्तकालय समितिको समन्वयमा सूचनामूलक गतिविधि पुस्तकालयमा बढाउन पाए यसलाई निरन्तरता दिन सजिलो हुने थियो । सूचनामूलक गतिविधि सञ्चालन गर्नसके मानिस वडासम्म पुग्न पर्दैनथ्यो । कर प्रणाली लगायत शिक्षा र ज्ञानका कुरा राख्न पाए सजिलो हुने थियो । सूचनाका लागि महानगरले गर्नुपर्ने खर्च पनि बच्ने थियो । यसरी साझेदारीमा चलाउँदा पुस्तकालयलाई १÷२ वटा कर्मचारी दिनु महानगरका लागि ठूलो कुरा पनि होइन । शिक्षातिरको करको यति प्रतिशत भनिदिए हुन्छ सार्वजनिक पुस्तकालयका लागि । पुस्तकालयभित्र हाम्रो सूचना यी छन् भनेपछि मानिस आउँछन्, अपनत्व फिल हुन्छ । यस्तो भए अगाडि लान सकिन्छ । यो सार्वजनिक सम्पत्ति हो व्यक्तिगत पनि होइन । पोखरामा आफ्नै भवन र जग्गा भएका पुस्तकालय पनि निकै कम छन् ।
संस्था स्थापना गर्दा हुटहुटी हुने तर निरन्तरताका लागि त्यो स्तरको जाँगर नहुने पनि रहेछ
तपाईं सामाजिक र धार्मिक क्षेत्रमा जोडिने अवस्था कसरी सिर्जना भयो ?
स्नातकोत्तर अध्ययनसँगै घर नजिक पुस्तकालय पनि भएका कारण समितिमा बस्न पुगें । पुस्तकालयको भवन बनाउन पनि निकै लागियो । तास खेलेर र चियापसलमा गफिएर बस्नुभन्दा कम्तीमा त्यही गफ पनि पत्रिका र किताब भएको ठाउँमा गएर गरे संस्कार त सिक्छ नि मानिसले भन्ने बोध भयो । यस्तै हिसाबले सामाजिक सेवामा जोडिने सोच पलाउँदै गयो । अर्को कुरा मलाई एउटा समस्या के भयो भने मेरा साथीसर्कल कम भए । मेरो खानपान सात्विक खालको भयो । कि साथीहरुसँग बसेर त्यस्तै चिज खानु प¥यो साथी बढाउन । तर मैले घरमा चल्दै आएको संस्कार नै पछ्याउन पुगें । बीचमा ब्रज परिकरी दिदीको प्रवचन सुन्न पाएँ काठमाडौंमा हुँदा । कर्मयोग र कर्मसन्यास भनेर भन्नुहुन्थ्यो उहाँ । कर्मयोग भनेको मन भगवान्मा दिने तन संसार रहने अर्थात् कर्म पनि गर्ने तर मन भगवान्मा अर्पण गर्ने । मनमा दूषित चिज आउनुभन्दा भगवान्को चिन्तनले सकारात्मक चिज नै ल्याउने भयो । यतातिर रहँदा श्यामाश्यामको भवन बनाउने काममा पनि जुटियो । भजनकीर्तनमा पनि रमाउन थालियो ।
नेपालको शिक्षा व्यावहारिक भएन भन्ने भनाइप्रति यहाँको के राय छ ?
हरेक देशमा समाज अनुसारको शिक्षा हुनुपर्छ तर नेपालमा समाज अनुसारको होइन कि दाताअनुसारको शिक्षा प्रणाली भयो । सबैभन्दा कमजोरी यहींबाट सुरु भयो । हाम्रो संस्कार र संस्कृति अनुसारको शिक्षा पद्धति लागु गर्नुपर्ने तर भइदियो के भने विदेशी संस्कार र दाताले भनेअनुसारको शिक्षा हाम्रो भयो । हाम्रो व्यवहार अनुसारको शिक्षा भएन । निश्चित व्यक्ति र संस्थाबाट प्रभावित भएर डिजाइन गरेको कोर्ष हामीकहाँ हुन पुग्यो । अनि प्रविधि पनि समाज अनुकूलको भइदिए त्यो दिगो हुन्थ्यो । अलि पहिलासम्म नैतिक र संस्कृत शिक्षा विद्यालयमा हुँदा कति राम्रो थियो । त्यसले के बिगारेको थियो ? बाबा आमा र अतिथिलाई आदर गर्नुपर्छ भन्ने चिज कहाँ गलत थियो ? अनावश्यक रुपमा जनवादी शिक्षा भनेर फाल्नै पर्छ भनेर फालियो । एक जना कोही मानिस घरमा आए नमस्कार गर भनेर बच्चालाई सिकाउनुपर्ने भयो । अहिले आएर बच्चालाई नेपाली विषय सबैभन्दा गाह्रो हुने अवस्था आयो । हाम्रो शिक्षा पद्धति दीर्घकालीन खालको भएन । तर पनि के भन्न चाहन्छु भने समाज सकारात्मकतातिर जाओस् । अहिले क्षणिक रुपमा हुरीजस्तो नभई हाम्रो समाजले संस्कारी र समाजका लागि लाग्नेलाई सम्मान गर्ने वातावरण बनोस् । पैसा जसले कमायो उसलाई सम्मान गर्ने विषय हामीले प्रवद्र्धन गर्नु हुँदैन । खराब मानिसलाई मेरो पार्टीको भनेर जोगाउन जरुरी छैन ।
आदर्श समाज पत्रिकालाई के सुझाव दिन चाहनुहुन्छ ?
आदर्श समाज पत्रिका अगाडि बढाउन प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले धेरै संघर्ष गर्नुभयो । पत्रिका चलाउन उहाँले धेरै गुमाउनु पनि भयो । महेन्द्रपुलमा मेरो मामाको घर छ । उहाँको प्रेस पहिला त्यहीं नजिक थियो । त्यही बेलादेखि स्तरीय पहिलो पत्रिका आदर्श समाज नै थियो भन्ने म सम्झन्छु । मेरो शुभेच्छा यो छ कि आदर्श समाजले समयानुकूल प्रगति गर्दै जाओस् । पहिला म यस पत्रिकाका सम्पादकीय खोजीखोजी पढ्थें, मिठा चिज आउँथे । अहिले त्यसको कमी भएको हो कि । प्रविधि र इन्टरनेटले गर्दा पनि पत्रिका खोज्ने संस्कार कमी भएको छ र पनि समयअनुसारको मेटेरियल दिन सके अझ राम्रो हुने थियो ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
माइनस डिग्रीमा माछा उत्पादन
सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
hero news full width
मुख्य समाचार
निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण ‘कमिङ सून’
चैत्र ५, २०७९आविष्कारमा अब्बल अभिनाश
चैत्र ४, २०७९… अनि दुर्गा बराल बने वात्स्यायन
चैत्र ४, २०७९वात्स्यायनको अभिनन्दन तथा रथारोहण
चैत्र ४, २०७९