दिने र मद्दत गर्ने मेरो स्वभाव छ : क्या. पूर्णबहादुर

आदर्श समाज सम्वाददाता
असार २७, २०७९
Purna Bahadur Hyolmo Gurung (2)

कास्कीको याङ्जाकोटका क्या. पूर्णबहादुर गुरुङ ह्योल्मो लामो समयदेखि समाजसेवामा सक्रिय छन् । हाल पोखराको औद्योगिक क्षेत्र नजिक मिलनटोलमा बस्ने उनी गाउँ र बजार ओहोरदोहोर गरिरहन्छन् । सन् १९६४ मा १४ वर्षको किशोरवयमा नै उनी गोर्खा बृटिस सेनामा ब्वाइजको रुपमा भर्ती भए । क्याप्टेनसम्म बढुवा भएर सन् १९९२ मा उनी सेवानिवृत्त उनी त्यसयता समाजसेवामा जोडिएका हुन् । २००६ सालमा जन्मिएका उनी कल्याण शेरचन स्मृति प्रतिष्ठान र नेपाल ह्योल्मो समाज सेवा समिति पोखराका अध्यक्ष हुन् । पहार ट्रस्ट, हिमाली सांस्कृतिक परिवार लगायत थुप्रै संस्थामा उनी सल्लाहकार छन् । हाल उनी प्रतिष्ठानका तर्फबाट राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता आयोजनाको तयारीमा व्यस्त छन् । यसै मेसोमा समाजसेवी गुरुङसँग आदर्श समाज राष्ट्रिय दैनिकका संवाददाता रुपनारायण ढकालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

भर्ती भएसँगै यहाँको फौजी जीवन कस्तो रहन पुग्यो?

म सुरुमा बेलायती सेनामा ब्वाइजको रुपमा भर्ती भएको हुँ । भर्ती हुन खासमा १८ वर्ष पुग्नुपर्ने भए पनि त्यसताका ब्वाइजमा भर्ती हुने प्रचलन पनि थियो । नेपालबाट मलेसिया पुगेपछि उतै केही पढाइ गरें । त्यसपछि भर्ती भएको हुँ । सेनामा एउटा इन्फ्रेन्टी भन्ने कामको विभाग हुन्छ । इन्फ्रेन्टीको काम लडाइँमात्र गर्ने हो । दुश्मन मार्ने र आफू लुक्ने खालको सेना । तर म इन्जिनियरिङतिरको परें । आफ्नो फौजलाई पुल हाल्ने, बाटो बनाउने, पानी सप्लाई दिने र दुश्मनलाई माइन थाप्ने जस्ता काम हामीले गर्नुपथ्र्यो । यसबखत इन्फ्रेन्टीबाट हामीले सुरक्षा पाउँथ्यौं । उनीहरु पुल पार गरेपछि त्यसलाई भत्काउने काम पनि हामी नै गथ्र्यौं । पड्काउने, उडाउने, जोड्ने, बनाउने र परिआए दुश्मन मार्नेसम्मको काम हाम्रो हुन्थ्यो । हामीले पनि बन्दुक हान्नै पथ्र्यो । यस्तै काम गर्दा गर्दै क्याप्टेनसम्म भएँ र रिटायर्डपछि समाजसेवामा लागें ।

समाजसेवामा कसरी जोडिनुभयो?

मभित्र चेतना आएदेखि नै कसैलाई मद्दत गर्न पाए, दिन पाए, सहयोग गर्न पाए भन्ने खालको स्वभाव बन्यो । म रिटायर्ड भएर आएपछि मैले तनाखा र भत्ता खाएर कतै काम गरेको छैन । बरु मैले दिएको छु । अरुलाई पढाइदिएको छु । दुखी गरिबलाई सहयोग गरेको छु । चाड आउँदा, दसैं आउँदा म गाउँमा गएपछि क्याप्टेन बाजेले पैसा दिन्छ, कपडा दिन्छ भनेर रमाउने मानिसहरु छन् । गाउँमा मेरो कोठामा बत्ती बलेपछि क्याप्टेन आएछ, हामीलाई अब कपडा दिन्छ भन्छन् । युकेदेखि कपडा बोकेर ल्याएर बाँडेको छु, मैले । वृद्धवृद्धालाई चस्मा दिएको छु । सेवा भनेको पारिवारिक वातावरणले पनि गर्दो रहेछ । मेरो बाजे, बाबा र परिवार नै समाजसेवा गर्न रमाउँथे । मेरो छोरा पनि त्यस्तै खालको छ । मैले गाउँमा विद्यालय बनाइदिएको छु । वास्तवमा मलाई विदेश जान पनि मन पर्दैन । म गाउँ नै गइरहन्छु । गाउँ जाने भएपछि राति निन्द्रा लाग्दैन ।

राजनीतिमा चाहिं तपाईं किन आउनुभएन?

तपाइँले राम्रो प्रश्न गर्नुभयो । हाम्रो सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवा प्रजातान्त्रिक कांग्रेसमा हुँदा मलाई राजनीतिमा लाने कि भन्ने तयारी मेरा साथीहरुले गरेका रहेछन् । तत्कालीन पश्चिमाञ्चलको भूपू सैनिकको अध्यक्ष बनाउने तयारी उनीहरुको थियो । त्यसबारे भेटघाटको कार्यक्रम थियो, त्यसबखत देउवाजी र अन्य नेताहरुसँग कुरा भयो । उहाँहरुले तपाईं भोलि दीपक गुरुङ रिटायर्ड भएपछि सांसद मन्त्री हुन सक्नुहुन्छ भन्ने कुरा गरे । म राजनीतिमा किन सफल हुँदिन भने म ढाँट्न, चोर्न र अनैतिक काम गर्न सक्दिनँ । यो तीन वटा काम गर्न नसके राजनीतिमा सफल भइन्नँ, भनें । उहाँहरु मुसुमुस हाँस्नुभयो । हामीले पनि त्यस्तो त गरेको छैन भन्नुभयो । मलाई राजनीतिमा चासो नभएको कारण यही हो । मलाई त्यो आउँदैन । म समाजसेवा गर्ने मान्छे राजनीतिमा जोडिए पार्टीले मात्र चिन्ने मानिस बन्न पुग्छु नि त । यसकारण म राजनीतिमा गइनँ ।

नेपालको संघीय प्रणालीलाई तपाईंले कसरी हेर्नुभएको छ ?

मैले बुझेअनुसार संघीयता नेपाल जस्तो देशलाई खै कति फाप्छ जस्तो लाग्छ । हाम्रो आयस्रोत कति छ? के छ आयस्रोत? धेरै महँगो भयो संघीयता । कतिपय मान्छेलाई पोसाउने काममात्र यसले गर्न पुग्यो । हाम्रो प्रदेशको नेता मन्त्रीले कमिसन खानेबाहेक के रामो काम गरेका छन्? । विकास केही गरेको छ? जनताको पैसा र पसिनाले नै गाउँमा बाटो पुगेको छ । यो देश ठूलो र केन्द्रले मात्र धान्न नसक्ने हुन्थ्यो भने संघीयता ठीक थियो । आफ्नो मान्छेलाई भर्ती गर्ने केन्द्र जस्तो भयो संघयीता । वास्तवमा केन्द्र र स्थानीयतह मात्र भए हामीलाई पुग्छ । नेपाली जनता धेरै इमानदार छन् । नेता सुध्रिदिए देश सुध्रन्थ्यो । तन्त्र र संघीयताका कुरा बढी भए यहाँ तर शिक्षा छैन । गणतन्त्र भनेको के हो भन्न नसक्ने धेरै छन् । राजालाई हटाएर मात्र गणतन्त्र हुन्छ र?

म राजनीतिमा सफल हुँदिन किनभने म ढाँट्न, चोर्न र अनैतिक काम गर्न सक्दिनँ

कल्याण शेरचन स्मृति प्रतिष्ठानमा कसरी लाग्नुभयो ?

कल्याण शेरचन र मेरो सम्बन्ध भनेको के भने मेरो परिवारसँग पनि शेरचनको राम्रो सम्बन्ध थियो । कास्की, तनहुँ र लमजुङ भुजुङसम्म परेको मुद्दा मेरो बाउबाजेले त्यो बेला मिलाउन सक्थे । म बरु त्यस्तो हुन सकिनँ । ३० वर्ष अघि रिटायर्ड भएदेखि उहाँसँग संगत हुन पुग्यो । कल्याण शेरचन निकै बहुआयामिक हुनुहुन्थ्यो । आफूले नखाएर अरुलाई खुवाउने, आफूले गरेको काम पनि अरुले गरेको भन्ने । कसैले अन्तर्वार्ता लिएर टिप्न खोजे हुँदैन भन्ने । प्रचार नखोज्ने । म रिटायर्ड भएपछि उहाँले पनि जागिर छाडिदिनुभयो र हामी सँगै हिँड्न थाल्यौं । २०६७ साल माघमा दाइले हामीलाई छाडेर जानुभयो । रोगसँग कसैको केही नलाग्दो रहेछ । मेरो बा बित्दाभन्दा पनि बढी नरमाइलो लाग्यो । एक महिना के हराए के हराएजस्तो भयो । त्यसपछि २०६९ असारमा उहाँको नाममा स्मृति प्रतिष्ठान दर्ता गरियो । प्रतिष्ठानले कौराहा नृत्य प्रतियोगिता, पुरुष र महिलाको देशव्यापी एकल नृत्य प्रतियोगिता, मादलवादन प्रतियोगिता र सारंगी उत्सव जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ । यी नृत्य र बाजा दाइलाई निकै मन पथ्र्यो । जीवनकालमा उहाँले नाच प्रतियोगिता पनि गर्नुभएको थियो । राजाबाट मेडलहरु पनि प्राप्त गर्नुभएको थियो । सोह्र वर्षे उमेरमा मै पनि झिल्के हुँदो हुँ, अहिले पो बूढो भएर …, सुखी ज्यानलाई गुँदरी काम्लो, म दुखीलाई जहाँ बस्यो उहीं राम्रो…जस्ता कालजयी गीतहरु उहाँले गाउनुभएको छ । अहिले प्रतिष्ठान राष्ट्रव्यापी दोहोरी गीत प्रतियोगिता तयारीमा जुटेको छ । स्व. शेरचनको प्रतिमा बनाउन, लोक बाजाको संग्रहालय स्थापना गर्न र कलाकारहरुलाई आर्थिक सहयोगका लागि यो प्रतियोगिता विना टिकट आयोजना गर्न लागेका हौं ।

यहाँ सल्लाहकार रहेको पहार ट्रस्टले के काम गर्दै आएको छ?

देशका विभिन्न ठाउँमा गाउँ गाउँमा विद्यार्थीका लागि विद्यालय भवन बनाइदिने काम ट्रस्टले गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्म धेरै ठाउँमा हामीले विद्यालय बनाइदिएका छौं । पछि आएर कतिपय गाउँपालिकासँग साझेदारीमा पनि त्यस्तो निर्माण कार्य गरेका छौं । ट्रस्टले यस्तो कामका लागि अर्बौं रुपैयाँ खर्च गरिसकेको छ । यहाँ कुनै नेता मन्त्री कसले यस्तो गरेको छ? म च्यालेन्ज गर्छु । हामीले जस्तो काम गरेको भए सबै तक्मा उसैले पाउँथ्यो होला । हामीलाई तक्मा चाहिएन । स्वास्थ्य चौकी, खानेपानी र सोलारका काम पनि गरेका छौं । असहाय अपांगलाई पनि सहयोग गर्दै आएका छौं ।

‘ह्योल्मो’ बारेमा बताइदिनुस् न, यो जात हो कि संस्कृति?

ह्योल्मो भनेको जात होइन, स्थान र संस्कृतिसँग जोडिएको विषय हो । हाम्रा पुर्खाहरु हेलम्बुबाट आएका हुन् । त्यहाँ कस्तो छ भने वरपर डाँडा बीचमा खोप्पा भएको ठाउँ छ । यसलाई शास्त्रीय भाषामा ह्योल्मो भनिन्छ । घङ् भनेको डाँडा हो । ह्योल्मो डाँडाबाट आएका बासिन्दा हौं हामी । पहिला हामी लामामात्र लेख्थ्यौं किनकि हामी लामा मूलको मान्छे हो । धेरै जातजातिको गुरु हौं हामी । पछि आएर तामाङ, डोल्पाली र कतिपय गुरुङले पनि लामा लेख्न थाले । जनगणना गर्दा लामालाई अन्यमा राखिंदा हाम्रो वास्तविक संख्या छुटेजस्तो हुन पुग्यो । हाम्रो त संख्या नै जिरो भयो । र, पहिचानका लागि पछि ह्योल्मो लेख्न थालियो । ह्योल्मो राष्ट्र संघमा पनि दर्ज भएको छ । यही नाममा नागरिकता त पाइएको छैन तर ह्योल्मो वास्तवमा संस्कृति र ठाउँसँग सम्बन्ध राख्ने शब्द हो ।

बौद्ध धर्मप्रति यहाँको उत्तिकै लगाब छ, यसबारे के भन्नुहुन्छ?

बौद्ध धर्म भनेको एउटा समुदायले मात्र मान्ने धर्म होइन । बुद्धको सिद्धान्तलाई मान्ने हो । धर्म भनेको एउटा शिक्षा हो, मैले बुझेको । दर्शनशास्त्रीले पनि त्यही भनेका छन् । बौद्ध धर्म दर्शन हो । धर्म पछि गएर जोडियो । शिवजीको मूर्ति देखेर तीन टुक्रा पार्ने मानिस छन् । धर्म भनेको विश्वास हो नि त । धर्म भनेको शिक्षा पनि हो । शिक्षा र स्वभावमा परिवर्तन ल्याउने कुरा पनि जोडिन्छ धर्मसँग । बुद्धले मलाई मान्नुपर्छ भन्नुभएको छैन । मलाई माने पनि नमाने पनि मेरो सिद्धान्त यो हो भन्ने कुरा उहाँको छ । म स्वयंको कुरा गर्दा म सबै धर्मलाई मान्छु, सम्मान गर्छु । कुनै धर्मलाई घृणा गर्दिनँ । हिन्दु धर्म पनि मानिएकै छ । सत्यनारायणको पूजा लगाउने, दसैंमा टीकाटालो गरिएकै छ । आफ्नो संस्कार पनि छाडेको छैन । खासमा हामी मिक्स कल्चरमै छौं ।

नेपाल विकास गर्न के गर्नुपर्छ जस्तो लाग्छ?

म युके गए पनि केही दिन बसेर फर्किहाल्छु । मलाई आफ्नै देश र गाउँ नै मन पर्छ । जहाँ मरे पनि मेरो लास यही ल्याउनुस् भन्ने मेरो कुरा छ । देशलाई प्रकृतिले धेरै दिएको छ । तर भइदियौं हामी बेवकुफ । हामी मानिस शोषक भयौं नि त । भएको बनेको चिज बिगार्ने र भत्काउने । सबै मानिस इमानदार भइदिए विशेष गरी नेता इमान्दार भइदिए देश विकास हुन्थ्यो । नेता अभिभावको रुपमा रहिदिए यो देश बन्नलाई धेरै समय लाग्दैन । उदाहरणका लागि बंगलादेश र दक्षिण कोरिया हेरौं । हामी इमानदार हुन पर्‍यो । भ्रष्टाचारी हुन भएन । मेहनती हुन प¥यो । देशको माया हुनुपर्छ हामीमा । यो देश बनाउने मेरो पनि दायित्व भन्ने बुझ्नुपर्‍यो । नेताले गर्दा देशमा महँगी बढ्दै गएको छ । चुनाव खर्चिलो छ । हामीले चुनेको को छ र यहाँ? न हामीले राष्ट्रपति चुन्न पाउँछौं, न त प्रधानमन्त्री नै । जनताले प्रत्यक्ष चुन्ने व्यवस्था हुनुपर्‍यो ।

आदर्श समाज राष्ट्रिय दैनिक पढ्दै आउनुभएको छ, कस्तो छ अनुभव?

आदर्श समाज एउटा पुरानो पत्रिका हो । यसमा लेख रचनाहरु विज्ञापनको रुपमा मात्र नभई सही सत्य कुराहरु तपाईंहरुले दिनुहुन्छ । अनि हामीले पनि सोच्दा यो राष्ट्रिय पत्रिका हो । धेरै जनताले हेर्ने पत्रिका आदर्श समाज हो । कतिपय भेकका र जातिले हेर्ने पत्रिका पनि छन् । वर्ग संगठन र पकेटको पत्रिका धेरै टिक्दैन । आदर्श समाज जहाँतहीं पुग्छ । हामीले बुझेअनुसार यसभित्र भएका लेखहरु सही सत्य हुन् भन्ने हामी विश्वास गर्छौं ।

Related News

सम्बन्धित समाचार

hero news full width