संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी

आदर्श समाज सम्वाददाता
असार १६, २०७९
Jagannatha

डा. जगन्नाथ रेग्मी, प्राचार्य, विन्दुवासिनी संस्कृत विद्यापीठ

डा.जगन्नाथ रेग्मी पोखरा–१ भीमकालीपाटनमा रहेको विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य हुन् । यो विद्यापीठले झण्डै तीन दशकदेखि संस्कृत विषय केन्द्रित गरी निरन्तर उच्च शिक्षा प्रदान गर्दै आइरहेको छ । क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका प्राध्यापक डा. रेग्मीलगायतको समूह अहिले यहाँ आचार्य (स्नातकोत्तर) तहको पढाइ सुरु गर्ने पहलमा जुटेको छ । दुई दशक लामो अध्यापन अनुभव भएका रेग्मी नेपाली साहित्यसँग पनि उत्तिकै जोडिएका छन् । साहित्याचार्य, एम.ए. (नेपाली) र विद्यावारिधि गरेका रेग्मीका तीन कविता संग्रह (अन्तरंगका तरंगहरु, अन्तर्नाद र चारुचित्र, धवलागिरि र श्रधराचार्य) खण्डकाव्यहरु, कालञ्जर क्षेत्र र गलेश्वर धाम (पौराणिक विमर्श), कालीगण्डकी: संस्कृति र सम्पदा तथा संस्कृतका दुई प्रकाशन–हिमाद्रिमहिम्न काव्यसौन्दर्यम् (समीक्षा) र अभिनवं काव्यसमीक्षणम् प्रकाशित छन् । नेपाली भाषामा केही चिन्तन केही अनुशीलन (समीक्षा) पनि प्रकाशित भइसकेको छ । उनले महेन्द्र विद्याभूषण (ख, ग), महर्षि पदक, कुलपति पदक, लीलाबल्लभ पन्त पदक, चेतोनाथ साहित्य पुरस्कार, गीताञ्जली साहित्य रत्न पुरस्कार, ब्रह्मर्षि वशिष्ठ पदक, उपकुलपति पदक र अम्बिकालोक पुरस्कार पनि प्राप्त गरिसकेका छन् । अध्ययनअध्यापन र साहित्य सिर्जनामा निरन्तर लागिरहेका डा. रेग्मीसँग संस्कृत शिक्षा र साहित्यका बारेमा आदर्श समाज राष्ट्रिय दैनिकका संवाददाता रुपनारायण ढकालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

संस्कृत विद्यापीठको स्थापना र शैक्षिक गतिविधिबारे बताइदिनुस् न ।

विन्दुविसिनी संस्कृत विद्यापीठ (क्याम्पस) स्थापनाको पृष्ठभूमि २०४९ सालमा तयार भएको हो । पोखरेली जनताहरु, समाजसेवी, साहित्यकार र शिक्षा क्षेत्रमा लागेका व्यक्तिहरुले संस्कृत र खासगरी यसको उच्चशिक्षाको आवश्यकता महसुस गरेबमोजिम यो विद्यापीठ स्थापना हुने वातावरण तयार भएको हो । यसै क्रममा पं गंगाधर शास्त्री (पराजुली) को अगुवाइमा संस्कृत शिक्षालाई एउटा उच्च शिक्षाका रुपमा विकास गर्ने उद्देश्यले पोखरामा यो विद्यापीठ स्थापनाको पहल भएको हो । प्रारम्भमा २०५०/०५१ सालमा तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयबाट यहाँ उत्तरमध्यमा (प्रवीणता प्रमाणपत्र तह) को सम्बन्धन प्राप्त भयो । २०५३ सालमा यसले आंगिक क्याम्पसको रुप लियो । १९५८ सालमा नै यहीं नजिक स्थापना भएको संस्कृत माविअन्तर्गत रहेको ८०/८२ रोपनीमध्येबाट १० रोपनी जग्गा उपलब्ध भएपछि यो क्याम्पस स्थापनाको बाटो खुल्यो । सबै जग्गा स्थानीय पराजुलीले तत्कालीन समयमा दान गरी उपलब्ध गराएका हुन् । स्व. राजा वीरेन्द्रले क्याम्पसको भवन उद्घाटन गर्नुभएको थियो भने त्यसअघि शंकराचार्यले शिलान्यास गर्नुभएको हो । यसरी दुई महापुरुष यो संस्थाको विकासमा जोडिनुभएको छ । २०७३ सालपछि क्याम्पसमा उत्तरमध्यमा तह फेजआउट भएको छ र यहाँ हाल शास्त्री अर्थात् ४ वर्षे ब्याचलर तहको दोस्रो वर्षको पढाइ हुँदै छ । विद्यार्थी संख्या १ सयको हाराहारीमा छ । २१ जना शिक्षक छौं । यहाँ साहित्य, व्याकरण र ज्योतिष विद्या पढाइ हुन्छ । अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, ऐच्छिक नेपाली, इच्छाधिन अंग्रेजी विषयको पनि पढाइ हुन्छ । यसरी यहाँ दुई खालको पढाइ हुन्छ । संस्कृतमात्र नभई आधुनिक विषयहरु पनि पढाइन्छन् । अब हामी एमए अर्थात् स्नातकोत्तर (आचार्य) तहको तयारी गर्दै छौं । यसरी नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्यापसको रुपमा यस क्याम्पसले उच्च शिक्षा प्रदान गर्दै आएको छ ।

अहिले संस्कृत शिक्षाको अवस्था कस्तो छ? यो विषय अलि अपहेलनामा परेको सन्दर्भ पनि उठ्ने गरेको छ ।

संस्कृत शिक्षालाई बुझ्न नसकेर यो हेलाको विषय बन्यो, पहिलो कुरा । अर्को कुरा, संस्कृत शिक्षा के हो भन्ने मानिसले समाजमा लगिदिन सकेनन्, यसलाई उल्टो रुपमा बुझियो । यो शिक्षा कर्मकाण्डका लागि मात्र हो भन्ने भ्रम पर्न गयो । यो कर्मकाण्ड मात्र त होइन । पण्डित्याइँ र पुरोहित्याइँ गर्ने विद्यामात्र यो होइन । यहाँ त दर्शन, इतिहास, साहित्य, व्याकरण, ज्योतिष, आयुर्वेद धेरै बिधाहरु छन् । यी बिधाहरुबारे मानिस अनभिज्ञ रहे । संस्कृतभित्र के छ भन्ने कुरा जान्न नसक्नुका कारणले गर्दा अलिकति अपहेलनामा परेजस्तो लागेको हो तर अहिले आएर यो सम्मानित रुपमा अगाडि बढ्दै गएको हामीले पाएका छौं । किनभने संस्कृत भाषाको गहिरो ज्ञानबिना राष्ट्र भाषा र बाहिरका साहित्य पनि बुझ्न सकिंंदैन । बाहिर पनि यसको आकर्षण अहिले बढ्दो छ । यो अहिले समृद्धिको चरणमा अघि गएको छ । हुन त संस्कृत विज्ञान नै हो । यसलाई हामी समयको मागअनुसार प्रविधिसँग पनि जोड्दै छौं । संसारको सबैभन्दा बढी वैज्ञानिक भाषा संस्कृत नै भएको नासाले समेत स्वीकार गरिसकेको छ । यस्तो हुँदा हुँदै पनि केही समय पहिला हामीकोमा पनि संस्कृत पढ्न आउने विद्यार्थी कम हुने गरेका थिए तर अहिले संख्यामा बढोत्तरी आएको छ । संस्कृत पढ्नेको आकर्षण बढ्न थालेको छ । उत्तरमध्यमा फेजआउट हुँदा विद्यार्थी कम भएजस्तो भएको थियो । छिट्टै आचार्य खोल्नुप¥यो, हामीले पढ्न पाउनुपर्छ भन्ने माग पनि आएको छ । यसलाई हामीले यसरी नै बुझ्नुपर्छ ।

संस्कृत शिक्षाप्रति थप आकर्षण कसरी बढाउन सकिएला? अर्को कुरा उच्च शिक्षामा राजनीति जोडिंदा समस्या पनि देखिएका छन्, के भन्नुहुन्छ?

सर्वप्रथमतः जनस्तरमा नै नैतिक शिक्षाको आवश्यकता हामीले बोध गरेका छौं । नैतिक शिक्षाको ज्ञान संस्कृतमा नै हुन्छ । किनभने संस्कृतका नीति कथा जस्ता पञ्चतन्त्रका कुरा र हितोपदेशका कुरा मानिसलाई बुझाउन सकिन्छ । विद्यालय तहमा नै संस्कृत लाने कुरा सरकारले पनि उठाएको छ । कतिपय निजी विद्यालयहरुले संस्कृतको पढाइ पनि सुरु गरेका छन् । किन सुरु गरेभन्दा संस्कृत बिनाको ज्ञान अधुरो हुने रहेछ भन्ने बुझ्न थालियो । यसको आकर्षण बढाउन यसलाई आधारभूत तहमा नै लानुपर्छ । बिस्तारै ऐच्छिक रुपमा पनि लानुपर्छ । राष्ट्रियताको बोध गराउन पनि संस्कृत शिक्षा आवश्यक छ । संस्कृतिको मूल भनेको नै संस्कृत हो । नेपाली संस्कृतिको मौलिक पहिचानका लागि पनि संस्कृत पढ्न प¥यो नि त । हाम्रा १६ संस्कार र जीवनचर्या संस्कृतसँग सम्बन्धित छन् । संस्कृत एउटा वर्ग, जात र धर्म विशेषको मात्र होइन, यो आम मानवको लागि कल्याणकारी भाषा हो । संस्कृत साहित्य पनि हो भन्ने कुरा जनमानसमा हामीले प्रचारप्रसार गर्नुपर्छ । हामी पनि संस्कृतमा भएका प्राविधिक कुरा अगाडि सार्दै छौं । घर कस्तो बनाउने, इन्जिनियरले खाका त कोर्ला तर वास्तुशास्त्र पनि हेर्नु पर्छ नि त । यसलाई हामीले जोड्दै छौं । प्राकृतिक चिकित्साका कुरा हेरौं । यो पनि अहिले संस्कृतमा ठोकिन आइपुग्यो । योगका कुरा पनि जोड्दै छौं । योग नपढाउने कुनै स्कुल छ र अहिले? संस्कृतको आकर्षण बढाउन योग, प्राकृतिक चिकित्सा र वास्तुशास्त्रतिर हामी जाँदै छौं । उच्च शिक्षाकै सन्दर्भमा कुरा गर्दा उच्च शिक्षामा अहिले राजनीतिकरण भएको छ । किन भएको छ भने यहाँ दलीय व्यवस्था छ । यहाँ दल मुख्य हुन्छ । यसकारण यहाँ भागबण्डाको राजनीति चलेको छ । कसैले लुकाएर लुक्ने कुरा होइन यो । उच्च शिक्षामा उपकुलपति, शिक्षाध्यक्ष र रजिस्टार बनाउन पनि सरकारले पार्टीका मानिसको टिम बनाउन थाल्यो । शिक्षामा राजनीति हटाउनुपर्छ र राजनीतिक नियुक्ति हुनुहुन्न भन्ने कुरा विश्वविद्यालयभित्रका ठूला प्राध्यापकहरुले बोध गर्नुपर्छ । उच्च शिक्षालाई राजनीतिबाट मुक्त गरिनुपर्छ ।

संस्कृत शिक्षाको भविष्य कस्तो देख्नुहुन्छ?

मैले संस्कृत शिक्षाको सुन्दर भविष्य देखेको छु । किनभने संस्कृतलाई पश्चिमाले बुझे । उनीहरुले बुझेका हुनाले नेपाली पनि सल्बलाउन थाले । नजिकको तीर्थ हेला भनेजस्तो हामीले वास्ता गरेका थिएनौं । उनीहरुले संस्कृतको महत्व बोध गरेर विदेशी विश्वविद्यालयमा यसको पठनपाठन हुन थाल्यो । हाम्रो कुरा गर्दा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत हाल १५ वटा आंगिक क्याम्पस र ५ वटा सम्बन्धन प्राप्त रहेका छन् । संस्कृत शिक्षाको एउटा स्तरोन्नतिकासाथ ज्ञान र विज्ञानलाई यसले जोडेको छ, भन्न खोजेको पूर्व र पश्चिमलाई जोडेको छ । संस्कृत पढ्नु भनेको केवल संस्कृतमात्र पढ्नु होइन रहेछ । अहिले विभिन्न ठाउँमा संस्कृतको आकर्षण बुझेर गुरुकुलहरुको पनि वृद्धि भइरहेको छ । चलेका संस्कृत माविहरुमा पनि १२ कक्षासम्मको पढाइ भइरहेको छ । यससम्बन्धी वृजकोर्षको कुरा पनि आएका छन् । नैतिक शिक्षाको महत्व बुझेर धेरैले संस्कृत पढ्ने चेष्टा गरेका छन् । बाहिरबाट हेर्दा त संस्कृत एउटा भाषा हो । तर संस्कृत भाषामात्र होइन । संस्कृत ज्ञान र विज्ञान दुइटै हो । संस्कृतभित्र दर्शन पनि छ । संस्कृत भनेको एउटा वाङ्मय हो । वाङ्मय भनेको सारा शास्त्र यसैमा जोडिएका छन् भनेको हो । ऋग्वेदलगायत चारै वेद यसमा जोडिएका छन् । संस्कृत वाङ्मय के आधारमा पनि भयो भने यहाँ ज्ञान, विज्ञान, धर्म, आयुर्वेद, शिक्षा, दर्शन, इतिहास, तन्त्र, शास्त्र र काव्यका कुरा छन् । त्यसकारण संस्कृत भनेको सिंगो वाङ्मय हो, भाषामात्र होइन । भाषा त एउटा माध्यममात्र हो । मानिसले संस्कृत भनेर धर्मलाई जोडे । धर्म किन जोडेभन्दा हाम्रा धार्मिक कृतिहरु संस्कृतमा लेखिएका हुनाले त्यसो गरे । यो मानिसको बुझाइको कमी हो । संस्कृत भनेको भाषा हो, संस्कृत भनेको वाङ्मय हो, ज्ञान र विज्ञानको नीति हो ।

संसारको सबैभन्दा बढी वैज्ञानिक भाषा संस्कृत नै भएको नासाले स्वीकार गरेकोे छ । यसलाई प्रविधिसँग जोड्दै छौं

वाङ्मयको कुरा गरिहाल्नुभयो, नेपाली साहित्यको अवस्था कस्तो देख्नुहुन्छ? यसको मूल समस्या के हो?

समग्रमा हेर्दा नेपाली साहित्य विश्व साहित्यसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन । त्यो लेभलमा मानिसले लेख्ने प्रयास गरेका छैनन् । यद्यपि बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, माधव घिमिरेहरु विश्व साहित्यको लेभलका साहित्यकार हुनुहुन्छ । कतिपय उपन्यासकार पनि यो लेभलका हुनुहुन्छ । हामी नेपाली साहित्यमा धनी र अब्बल छौं । नेपाली साहित्यकार पनि अब्बल छन् । यसमा शंका छैन । अब हाम्रो यात्रा के हुनुपर्छ भन्दा हामी विश्व साहित्यसँग जोडिनुपर्छ । कथा, कविता, उपन्यास जेसुकै माध्यमबाट होस् । अहिले त साहित्यमा एउटा बाढी नै आएको छ । पोखराकै सन्दर्भमा कुरा गर्दा पनि यहाँ कुनै त्यस्तो शनिबार छैन, जुन दिन कार्यक्रम नभएको होस् । प्रदेश र स्थानीय तहलाई जोडेर एकेडेमीहरु खोलिएका छन् । यिनले राम्रै गरेका छन् । तर अब हामीले गुणस्तरको पक्षलाई पनि ध्यान दिन जरुरी छ । हामीकोमा गुणात्मक पक्षको अलिकति कमी छ । पोखरेली साहित्यकै कुरा गर्दा पनि यो समृद्ध साहित्य हो । यहाँको कुरा गर्दा लेखनाथ पौडेल, सरुभक्त, मुकुन्दशरण उपाध्याय, धर्मराज थापा र अलिमियालाई सम्झनुपर्छ । उहाँहरुले यति व्यापक बनाएर एउटा युग नै निर्माण गर्नुभएको छ । संघसंस्था खोल्नु छुट्टै कुरा हो तर साधनारत भएर त्यो लेभलमा पुस्तक प्रकाशन गर्नु र राष्ट्रिय लेभलमा पुग्नु ठूलो कुरा हो । पोखरेली साहित्यको भविष्य उज्वल छ । त्यसकारण साहित्यकारलाई पनि संरक्षण र प्रश्रय दिनुपर्छ भन्ने हिसाबले काम गर्नुपर्छ एकेडेमी, प्रतिष्ठान र सरकारले । अर्को कुरा साहित्यमा पनि राजनीति जोडिएकै छ । तर विशुद्ध साहित्य पनि लेखिएकै छ । नलेखिएको होइन । कतिपय साधकहरु कुनै संस्थासँग नजोडिएरै पनि साधनारत छन् नि त । हामी केही पाउन साहित्यमा लागेको होइन, दिनका लागि हो । अब साहित्यको समस्याको कुरा गर्दा भाषाको विवाद र ह्रस्वदीर्घमा नै मानिस अल्झिए । त्यो अल्झन हुँदैनथ्यो । अर्को कुरा साहित्यकारहरु पहुँचमा पुग्न सक्नुभएको छैन । लेख्नुभएको छ तर प्रकाशनको समस्या छ । मैले पनि कति लेखेको छु, प्रकाशन गर्न गाह्रो छ । पाठक पाउन गाह्रो छ । छन्दकै कुरा गरम् । पाठकको समस्या छ । सञ्चारको युग पनि छ । पाठकले मोबाइल र ल्यापटपमा थोरै कुरा हेर्नुहुन्छ । उहाँहरुसँग समय छैन । मानिस दौडधुपमा छ । खानबस्नकै समस्या छ । साहित्य, मनोरञ्जन र ज्ञानका लागि पढ्नुपर्छ भन्ने भावना थोरै मानिसमा छ । पठन संस्कृतिमा ह्रास आएको छ ।

यहाँले महत्वपूर्ण पुस्तक– ‘कालीगण्डकी : संस्कृति र सम्पदा’ लेखन तथा सम्पादन गर्नुभयो, यो विषयमा केही बताइदिनुस् न । अनि कालीगण्डकी डाइभर्सनको विरोध किन गर्नुभयो?

मलाई के लाग्यो भने कालीगण्डकीको विशेषता भनेकै विश्वमा कहीं नपाइने शालिग्राम कालीगण्डकीमा पाइन्छ । हिन्दुत्वलाई जोडेर हेर्दा विश्वका जति पनि हिन्दुहरु छन्, तिनीहरु आएर ठोकिने मुक्तिनाथ हो, कालीगण्डकीमा हो । जस्तो बद्री, केदार, काशी, विश्वनाथमा तीर्थयात्री जान्छन् नि, चार धाम गए पनि नगए पनि मुक्तिनाथमा आउनै पर्छ भन्ने मान्यता छ । यहाँ आउने भनेको कालीको दर्शन गर्नु हो । पर्यावरणीय र प्राकृतिक हिसाबले हेर्दा विश्वको सबैभन्दा गहिरो गल्छी अन्धगल्छी यहीं छ । मनमोहक हिमशृंखला पनि यहीं छ । दामोदरकुण्डदेखि त्रिवेणीसम्मको हरिहर क्षेत्रको महत्व बोध गराउने, कालीगण्डकीलाई विद्युत् लगायत विकास र पर्यटनसँग जोड्ने हिसाबले मैले उक्त पुस्तक लेखें । यो धर्मसँग मात्र जोडिएको विषय होइन । प्रदेश सरकारलाई पनि काम लाग्ने कुरा यसमा छन् । अनि दुई वटा कुराले हामीले डाइभर्सनको विरोध गरेको हो । प्रकृतिलाई यथास्थितिमा नै बग्न दिनुपर्छ भन्ने एउटा कुरो हो । प्रकृतिलाई तोडफोड गर्नुहुँदैन । किनभने यसले विध्वंश ल्याउँछ । अर्को कुरा आस्थासँग जोडिएको छ । किनभने राम्दीबाट पानी डाइभर्ट गर्दा त्यहाँ तलका फाँट के हुने, जलचरको अवस्था के हुने? त्यहाँ कल्पबास बस्न आएका मानिसको आस्था के हुने? देवघाट के हुने? देवघाट सुक्छ नि त । अर्को कुरा हाम्रो प्राकृतिक स्रोत र जलस्रोत भनेको त प्रदेशको सम्पत्ति हो । यहाँको प्रदेश र यहाँका जनतासँग सरसल्लाह नगरी पानी अन्यत्र लानु भिडन्त निम्त्याउनु हो । यसले वैमनश्यता ल्याउँछ । अरु विकल्पहरु पनि त विज्ञहरुले दिएकै छन् । संस्कृतिको संरक्षण, प्रकृतिको संरक्षण र धार्मिक आस्था तथा प्राकृतिक विपत्ति नहोस् भनेर डाइभर्सनको विरोध गरिएको हो । अहिलेका लागि मात्र नभई दीर्घकालीन सोचअनुसार यो विषय उठाइएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width