छैटौं हेमजा गोल्डकप सुरु

आदर्श समाज सम्वाददाता
असार ४, २०७९
hemja gold cup

पोखरा । पोखराको हेमजामा शनिबारदेखि छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप–२०७९ सुरु भएको छ । हेमजा युनाइटेड क्लबको आयोजनामा सुरु प्रतियोगिताको पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरे ।

उद्घाटनमा हेमजा युनाइटेडले वीरगञ्ज युनाइटेडलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । हेमजाका लागि सुमन अर्यालले २ र कमल थापामगरले १ गोलको योगदान दिए । वीरगञ्जका लागि कृप चौधरीले गोल फर्काए ।

सुरुआतको ११ औं मिनेटमा सुमनको गोलबाट अग्रता लिएको आयोजकले ३६ औं मिनेटमा कमल थापामगरको गोलबाट अग्रता दोब्बर बनाएको हो । दोस्रो हाफ सुरु भएको ३ मिनेटमै म्यान अफ दि म्याच सुमन अर्यालले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता फराकिलो पारेका थिए । वीरगञ्जका लागि ८८ औं मिनेटमा कृपले गोल फर्काएका हुन् ।

सुरुवातदेखि नै खेललाई आफ्नो नियन्त्रणमा राखेको हेमजाले सातौं मिनेटमा सुरज ज्यु ठकुरीको क्रसमा सुमनको प्रहारमा वीरगञ्जका डिफेन्डर शिसास थापा बाधक बने । उनले हेमजाको गोल गर्ने सुवर्ण अवसरलाई डिफेन्ड लाइनबाट क्लियर गरिदिए ।

११ औं मिनेटमा हेमजाले पेनाल्टीको अवसर प्राप्त गर्‍यो । हेमजाका सुनिल विकको क्रसलाई डि एरियाभित्र नियन्त्रणमा लिने प्रयास गर्दा वीरगञ्जका सिर्जन क्षत्रीको ह्याण्ड भएकोमा पाएको पेनाल्टी सुमनले सदुपयोग गरेका हुन् ।

विजेताले ६ लाख पुरस्कार प्राप्त गर्ने प्रतियोगितामा घरेलु टिमको विजयी सुरुआत

२७ औं मिनेटमा हेमजाका फ्लोरेन्टले वीरगञ्जका कृपालाई डि एरिया नजिकै लडाएपछि वीरगञ्जले खेलमा फर्किने अवसर प्राप्त गरेको थियो । निकै नजिकबाट पाएको स्वर्ण फ्रि–किकको विवेक चौधरीले सदुपयोग गर्न सकेनन् । उनको प्रहार बाहिरियो । ३६ औं मिनेटमा कमलले डि–बक्सभन्दा बाहिरबाट शक्तिशाली प्रहार वीरगञ्जका गोलरक्षकको हातमा लाग्दै गोल हुन पुगेको थियो । त्यसपछि वीरगञ्ज निकै दबाबमा पर्‍यो । उसले खेल सकिन केही मिनेटमात्र बाँकी रहँदा ३ ओटा अवसर खेर फाल्यो ।

गौरीशंकर खेलमैदानमा सुरु प्रतियोगितामा विभागीय एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकन टिम क्यामरुन, खुमलटार, कालिका स्पोर्टस् चितवन, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक गरी ८ टिमले भाग लिएका छन् । हेमजामा क्लबले फुटबल एकेडेमी संचालनार्थ प्रतियोगिता आयोजना गरेको हो ।

विजेताले ६ लाख र उपविजेताले ३ लाख साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदियमान खेलाडीले जनही २० हजार रकम प्राप्त गर्नेछन् । अनुशासित टिमलाई २५ हजार रुपैयाँ दिइनेछ । प्रतियोगितालाई नेपाल आइसले प्रायोजन गरेको छ । असार ११ सम्म चल्ने प्रतियोगितामा आइतबारको खेल चर्च ब्वाइज क्लब र कालिका स्र्पोटिङ क्लबीच हुनेछ ।

प्रतियोगिता सन्देश दियो : धनराज

मेयर धनराज आचार्यले प्रतियोगिता उद्घाटन गर्दै हेमजामा खेल पूर्वाधार विकासका लागि छलफल आवश्यक रहेको बताए ।

उनले हेमजाले पोखरा रंगशाला बाहिर पनि ठूला प्रतियोगिता सम्भव भएको सन्देश हेमजा गोल्डकपले दिएको बताए । उनले अब गोल्डकपलाई निरन्तरता दिनसमेत आग्रह गरे । प्रतियोगिता एक पटक गरेर हराउने नभई यसलाई निरन्तरता दिन अनुरोध गर्दै महानगरले सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width