लाहुरे लागुऔषधविरुद्ध सचेतनामा

आदर्श समाज सम्वाददाता
असार ४, २०७९
Poilce Drugs Photo

पत्रकार सम्मेलनमा लाहुरेसहित एसपी थापा।

पोखरा  । पोखरामा लागु औषधविरुद्ध सचेतना अभियान चलाइने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस अवसरमा सो कार्यक्रम गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । उक्त अभियानको मुख्य अभियन्तामा  र्‍यापर आशीष राना लाहुरे हुने छन् ।

एसपी थापाका अनुसार मुख्य कार्यक्रम असार ६ गते पोखरा सभागृहमा आयोजना हुनेछ । कार्यक्रममा र्‍यापर लाहुरेले प्रस्तुतिसँगै आफ्ना अनुभूति सुनाउनेछन् । करिब १० वर्ष लागु औषध सेवन गरेर अहिले छाडेका राना सप्ताहव्यापी यी सबै कार्यक्रममा सहभागी हुनेछन् । उनी लागु पदार्थ सेवनको आरोपमा ५६ दिन जेल बसेर छुटेका थिए ।

पत्रकार सम्मेलनमा रानाले प्रहरीको सकारात्मक व्यवहार लगायत समाज, घर परिवार र आफन्तको सकारात्मक परामर्शका कारण आफू लतबाट उम्किन सफल भएको बताए । अब कहिल्यै लतमा नफस्ने अठोट पनि उनले गरे । ‘लागु औषध सेवन नगर्दा २ महिनासम्म शारीरिकरुपमा केही असजिलो भएको थियो,’  उनले भने, ‘यो सेवन गर्नु गलत बाटो हो । यसले जिन्दगी बिगार्छ भनेर सधंै सचेत हुनु नै पर्दछ । यसमा म दृढ छु ।’

एसपी थापाका अनुसार सप्ताहव्यापी कार्यक्रममा असार ७ गते कास्कीमा रहेका पुनस्र्थापना केन्द्रहरुसँग अन्तक्र्रिया, ८ गते औषधी बिक्रेतासँग छलफल, ९ गते विभिन्न स्कुल र कलेजमा विद्यार्थीसँग सचेतना एवं छलफल, १० गते सञ्चारमाध्यमका विज्ञसँग छलफल, ११ गते समुदायमा भेटघाट र १२ गते अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका अवसरमा पोखरामा साइकल  र्‍याली गरी समापन गरिने छ ।

‘अहिले पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लागुऔषधविरुद्ध मुद्दाका अधिकांश कारोबारी छन्,’ उनले भने, ‘लागुऔषध कारोबारीलाई हदैसम्म कारबाही र अञ्जानमा फसेकालाई परामर्शबाट सुधार गर्ने प्रयास गरिएको छ । आशीष राना पनि यसको उदाहरण हुनुहुन्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width