करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७९
Yogendra

पोखरा महानगरपालिका वडा नम्बर १३ कुँडहरमा २०१५ सालमा जन्मिएका योगेन्द्रमान श्रेष्ठ सामाजिक एवं धार्मिक व्यक्तित्व हुन् । उनले २०५२ सालदेखि २०७८ सालसम्म लगातार २६ वर्ष गणेश तथा भद्रकाली मन्दिर सेवा समितिको सचिवको रुपमा काम गरे । पछिल्लो क्रममा उनी सो समितिको अध्यक्षको भूमिकामा छन् । सामाजिक र राजनीतिक परिवारको सदस्यको हिसाबले उनी सानैबाट समाज सेवातर्फ आकर्षित भए । १७ वर्षको उमेरमा नै युवक संगठन खोलेर सामाजिक काममा उनी संलग्न भए । पञ्चायती प्रतिबन्धको त्यो समयमा युवक संगठनमार्फत् प्रहरी प्रशासनको आँखा छलेर राजनीतिक गतिविधिमा समेत संलग्न हुने गरेको श्रेष्ठले स्मरण गरे । मिडियासमेतको सहयोगमा भद्रकाली गुठीको ३७ रोपनी अतिक्रमित जग्गा फिर्ता ल्याउन आफ्नो समिति सफल भएको उनको दाबी छ । अध्यक्ष श्रेष्ठसँग भद्रकाली मन्दिर र उनले समाजसेवामा पु¥याएको योगदानलाई केन्द्रित गरी आदर्श समाजका रुपनारायण ढकालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

समाज सेवामा यहाँले पु¥याएको योगदानलाई कसरी स्मरण गर्नुहुन्छ ?

म सानै उमेरदेखि समाजसेवामा संलग्न भएको हुँ । हामीले युवक संगठनको स्थापना गरी सामाजिक र राजनीतिक कामहरु अगाडि बढायौं । २००९ सालमा कुँडहरमा स्थापना भएको अरण्यज्योति पुस्तकालय २०१७ सालको राजीनिक कू सँगै लथालिंग अवस्थामा थियो । अग्रजहरुले स्थापना गरेको पुस्तकालय कोही विदेश जाने र कोही गृहस्थ जीवनमा व्यस्त भएका कारण लथालिंग अवस्थामा थियो । यस्तो अवस्थाको पुस्तकालय संरक्षण र पुनस्र्थापनाका लागि २०३१ सालमा युवक संगठनको अध्यक्षको रुपमा मैले काम अगाडि बढाएँ । ६ वर्ष पुस्तकालयको अध्यक्षको रुपमा काम गर्दै गर्दा पुस्तकालयसँगै अरण्यज्योति पुस्तकालय पार्कको विकास गर्न पनि भूमिका खेलें । समाजसेवी रमेशकान्त सिग्देललाई पार्क निर्माण समितिको अध्यक्ष बनाएर भैलो खेलेको पैसा र नगरपालिकाबाट सहयोग लिएर हामीले पार्कलाई घेराबन्दी गर्ने काम गर्‍यौं । त्यो बेला भूमाफिया र विद्यालयहरुले समेत फराकिलो जग्गा र चौर देखेपछि ओगट्ने चलन थियो । यस्तो कार्यबाट जोगाएर हामीले पार्क बनायौं । यसरी म समाजसेवामा लागेको हुँ । नुहाउन पौडी खेल्न जाँदा पनि ८/१० जना साथीहरु लिएर म हिँड्थें । २०२० सालको एसएलसी पछि पृथ्वीनारायण क्याम्पस पढ्न गइयो । नेविसंघको सदस्यता लिएर राजनीतिमा पनि लागियो । तर पनि पढाइलाई निरन्तरता दिन सकिएन । सामाजिक काम गर्ने र घरको काम नहेर्ने भएपछि घर व्यवहार बिग्रने भयो । त्यसपछि साथीभाइको सहयोगमा म जापान गएँ र ७ वर्ष त्यहाँ बसें । २०५२ सालमा नेपाल फर्केर आएँ । २०४६ सालको आन्दोलनमा सहभागी हुन पनि पाइनँ । राजनीतिमा टाउको फोर्ने बेलामा आन्दोलनको बेलामा भाग नलिएपछि पछि आएर भाग खोज्न पनि मिलेन । म फर्केको समयमा भद्रकाली मन्दिरमा अधिवेशन हुने बेला रहेछ । २०५२ साल जेठमा नेपाल आएपछि भदौमा मन्दिरको सचिव भएँ । साधारण सदस्य पहिला नै थिएँ । २०५२ भदौ २४ बाट २०७८ मंसिर ४ गतेसम्म म सचिव भएँ । अधिवेशनबाट अध्यक्ष बनाइएँ ।

भद्रकाली मन्दिर क्षेत्रमा के कस्ता विकास निर्माणका कामहरु भएका छन् ?

मन्दिर क्षेत्रमा पानी टंकी र सिँढी बनाउने, बिजुली लाने, मठमन्दिर मर्मत सुधार र रंगरोगन तथा संरचनाको पुनर्निर्माणका काम भएका छन् । मन्दिर क्षेत्रलाई देवी पञ्चायन शक्तिपीठको रुपमा विकास गरेर जाने भन्ने गुरुयोजना पनि बनेको छ । एउटा शिवालय बनाउने र सूर्यनारायणको मन्दिर स्थापना गरेर कालीलाई माझमा राख्ने योजना छ । २०७२ सालको महाभूकम्पले भद्रकाली मन्दिरमा क्षति पुगेको छ । यसको पुनर्निर्माण गर्न पुरातत्व विभागसँग स्वीकृत लिएका छौं । मन्दिर मात्र पुनर्निर्माण गर्न ४ करोड ८२ लाख रुपैयाँ लाग्ने डिजाइन र स्टिमेट तयार छ । अहिले स्रोत जम्मा गर्ने क्रममा छौं । नेपाल सरकारसँग पनि अनुरोध गरेका छौं । भविष्यमा यहाँ गुरुकुल आश्रम चलाउने, मन्दिर वरपर पैदलमार्ग बनाउने, उत्तरी भागलाई रमणीय बनाउने लगायत योजनाका लागि १० करोड रुपैयाँ लाग्ने गुरुयोजना तयार भएको छ । मन्दिरको मात्र आम्दानीले यत्रो खर्च जुट्दैन । अहिले हाम्रो आम्दानी जम्मा ४० लाख रुपैयाँ हाराहारीमा मात्रै छ ।

मन्दिरको गुठीअन्तर्गतका जग्गा के–कस्तो अवस्थामा छन् ?

पुराना गुठियारा र मन्दिरलाई रेखदेख गर्दै आएका परिवारका कतिपय सदस्यले विगतमा मन्दिरको जग्गा निजी रुपमा दर्ता गर्न अगाडि सरेको अवस्था पनि रह्यो । केही जग्गा दर्ताकै क्रममा रहेको र केही आफ्नो नाममा दर्ता गरिसकेको पाइयो । त्यसपछि हामीले सामाजिक काममा केही रकमको विकास निर्माणको सानोतिनो काम गरेर गर्व गर्नुभन्दा २ सय वर्षदेखि संरक्षित हुँदै आएको देवश्व हाम्रो पालामा नै हिनामिना हुन्छ कि भन्ने डरले त्यो सम्पत्ति संरक्षण गर्ने अभियानमा लाग्यौं । मन्दिरको गुठीअन्तर्गत डाँडा र समथर गरेर कूल १ सय ३० रोपनी जग्गा रहेको छ । समथर जग्गामात्र ३७ रोपनी रहेको र यो व्यक्तिको नाममा गइसकेको अवस्था थियो । यस्तो अवस्थामा हामी एक्लै मुद्दा लड्दा हामीले जित्ने र जग्गा फिर्ता हुने सम्भावना कम थियो । त्यो बेला मिडियाको पनि सहयोग लिइयो । तर कति सञ्चारकर्मी त लेख्न पनि हिचकिचाए । भद्रकालीको मन्दिरमा भूमाफियाको नंग्रा भनेर आदर्श समाज राष्ट्रिय दैनिक लगायत पत्रिकामा समाचार आयो । यसले मुद्दा जित्ने आधार तयार भयो । म भद्रकाली मन्दिर सेवा समितिको तर्फबाट अख्तियार प्राप्त व्यक्ति भई मैले जिल्ला अदालत, मालपोत कार्यालय, पुनरावेदन र सर्वोच्च अदालत सम्म १७ वर्षसम्म मुद्दा लडेर जिती अहिले श्री गणेश तथा भद्रकाली गुठी भनेर लालपूर्जा बनाउन सफल भएँ । ३ सय करोड मूल्य बराबरको व्यक्तिहरुको नाममा पुगेको मन्दिरको अतिक्रमित जग्गा सर्वोच्चमा पुगेर फर्काएर ल्याउन सफल भयौं । यसका अतिरिक्त ढेवाजू परिवारले कुँडहरमा दिएको करिब ३ रोपनी जग्गा र थापा कार्की, रायमाझी, सत्यकुमारी भक्तिकुमारीको पहलमा प्राप्त औद्योगिक क्षेत्र अगाडि मान्द्रे भन्ने ठाउँमा ६ रोपनी जग्गा छ । यी २ जग्गा १ सय ३० रोपनी बाहेकका हुन् । यी जग्गा मन्दिरको नाममा आउन बाँकी नै छ ।

भद्रकालीको धार्मिक महत्वबारे बताइदिनुस् न ।

१९०१ सालमा भद्रकाली मन्दिरको लालमोहर भएको र सुरुमा रामचन्द्र खत्रीले गणेश मन्दिर स्थापना गरेको देखिन्छ । गणेश मन्दिरको पूजा गर्दै जाँदापछि भद्रकाली देवीले ‘म पनि यहीं छु, मेरो कसैले सोधखोज गरेनन्, मेरो पनि सोधखोज गरेर पूजा गरेमा तिम्रो परिवारलाई र तिम्लाई लाभ हुने छ’ भनेर गौंडाका मुखका ढेवाजू परिवारलाई सपनामा भने अनुसार मन्दिर परिसरमा खोतलेर हेर्दा श्याम वर्णको शिला देखिएको र तिनैलाई देवी मानेर पूजा गर्न थालिएको भनाइ छ । पछि ढेवाजू परिवार काठमाडौं गई अष्टभुजको ठूलो मूर्ति ल्याएर प्रतिष्ठापित गरिएको हो । अहिले मन्दिर भएको थाप्लो सुरुमा मुडुला थुम्की, त्यसपछि गणेश मन्दिर स्थापनासँगै गणेश थुम्को र भद्रकालीको महिमा र प्रचारले पछि भद्रकाली डाँडा नामकरण भएको हो । आराध्यदेवीको रुपमा वरपरका बासिन्दा र पोखरावासीले यस क्षेत्रमा पूजा गर्छन् । पोखराको पूर्वी भेकमा पर्ने भद्रकाली मन्दिरसहित विन्ध्यवासिनी र तालवाराही पोखराका प्रमुख शक्तिपीठ मानिन्छन् । भद्रकालीलाई धेरैले कुलदेवता र आराध्यदेवीको रुपमा पुज्छन् । भाकल र मनोकामना पूरा हुन्छ भन्ने मान्यताअनुसार कालीलाई दान गर्छन् । यहाँ लक्ष्मीनारायण मन्दिर र हनुमानको मूर्ति पनि छन् । दसैंमा नवरासत्रभरि यहाँ मेला लाग्छ । चैतेदसैंमा पनि भीड हुन्छ । मंगलबार, शनिबार र पूर्णिमा पनि पूजा हुन्छन् । विवाह, व्रतबन्ध, संकल्प पूजाहरु, शतवीज छर्ने, नयाँ वर्ष र चैतेदसैं मेला तथा शुक्लपक्षको अष्टमी तिथिमा महाआरती जस्ता गतिविधि यहाँ हुन्छन् । यहाँ बलिलाई प्रतिबन्ध नै त गरिएको छैन तर यसलाई निरुत्साहित गर्दै गइरहेका छौं ।

गुरुकुल आश्रम, मन्दिर वरपर पैदलमार्ग, उत्तरी भागलाई रमणीय बनाउने लगायत योजनाका लागि १० करोडको गुरुयोजना तयार भएको छ

पछिल्लो क्रममा मन्दिर क्षेत्रका रुखबिरुवा काट्दा आलोचना भयो, यस्तो किन गर्नुभयो ?

मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय हिसाबले विकास गर्ने र यस क्षेत्रलाई राम्रो बनाउने भन्ने सिलसिलामा नेपाल सरकारको वन कार्यालयसँग समन्वय गरेर, चिठी लेखेर र स्वीकृति लिएर केही रुख काटिएको हो । इलाका वनका अधिकृत लेबलका जिम्मेवार व्यक्ति आएर आएर ठीक छ भनेपछि यो काम अघि बढेको हो । २/४ वर्षमा यसरी यहाँ रुखहरु काँटछाँट गर्ने गरिएको छ भन्ने जानकारी गराएर मन्दिरको उत्तरी पूर्वी भागमा दृष्यावलोकनका लागि सहज बनाउन र मन्दिर क्षेत्रलाई उज्यालो बनाउने हिसाबले रुखको माथिल्लो भाग काटिएको हो । यस्तो काम हुँदै गर्दा नागरिक समाजका तर्फबाट यो कार्यको आलोचना भयो । रुख काट्नु हुन्न भन्ने उहाँहरुको कुरा पनि वातावरणीय हिसाबले ठीकै हो । वन संरक्षण हाम्रो पनि नीति हो । २ वटा रुख काट्दा हामी सयवटा रोप्छौं । कतिपय अवसरमा मन्दिरमा एकै दिनमा हजारौं भक्तजन आउँछन् । उनीहरुका लागि पाटीपौवा बनाउन पनि जग्गा चाइने हिसाबले पनि रुखहरु काटिएको हो । पर्वको बेला ५ हजारसम्म मानिस आउँछन् । तर पनि जनगुनासो आएपछि रुख काट्ने काम रोकियो । काटिएका काठ त्यहीं राखेका छौं । हामीले रुख जरैसँग काटेका पनि होइनौं, हाँगा र टुप्पोमात्र काटेर वनलाई राम्रो बनाउने हिसाबले गोडमेल गरेका हौं । तैपनि काट्न पाइन्नँ भन्ने कुरालाई पनि सम्मान नै गर्छाैं । मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय हिसाबले विकास गर्ने योजनाअनुरुप वनलाई राम्रो बनाइएको छ । वनमा आयमूलक प्रजातिका भनेर रुद्राक्ष, अमला, हर्रो, बर्रो, लप्सी, दालचिनी प्रजातिका रुख रोपेर र भइरहेका प्रकृतिक वनस्पति संरक्षण गरेर राखिएको छ ।

केही वर्ष पहिला मन्दिरकै जग्गामा ठूलो पोखरी खन्नुको कारणबारे पनि बताइदिनुस् ।

गुठीको जग्गा संरक्षणको मुद्दा त जितियो तर जग्गाको विषयलाई लिएर पुरानो कमाइ खाइरहेका मानिस र पुजारीले मोहियानी हकको कुरा उठाए । मोहियानी गर्छु भन्न थाले । कमाउन दिइराखे त एकदिन मोहियानीको कुरा आउन पनि सक्ने भयो । हाम्रो राज्य त्यस्तै छ, पछि राज्यले एक÷एक ओटा घडेरी कमाउँदै आएकालाई दिऊँ भन्ला । यस्तो अवस्थामा मोहीहरुसँग अनुरोध गरेर जग्गालाई बाँझो राखेर भद्रकाली शान्ति वाटिका (पार्क) बनाउने कुरा भयो । भाइछोराले जागिर पाउँछन्, मन्दिर क्षेत्रमा धार्मिक पर्यटक बढ्छन्, घर भाडामा जान्छन् र आर्थिक उन्नतिमा टेवा पुग्छ भनेर पार्कको कुरा ल्याइयो । सेती गण्डकीको पानी छँदै थियो र पछि पोखरी पनि त्यहाँ खनियो । पार्कको सौन्दर्यको लागि पोखरी खनिएको हो । त्यो बेलाको सुकुमवासी र माओवादीको सन्दर्भलाई समेत ख्याल गरेर पोखरी बन्यो । भविष्यमा फोहोरा र डुंगा चलाउने योजना पनि छ । मन्दिर क्षेत्रको जग्गा विगतमा जसको शक्ति उसको भक्ति जस्तो गरी हिनामिनाको अवस्थामा थियो । पोखराको जग्गा महँगो हुँदै जाँदा जग्गासम्बन्धी मुद्दा मन्दिरले जितेपछि पनि वरपरका मानिसले डाँडालाई तासेर भान्सा र शौचालय बनाउने जस्ता काम गरे । २/४ लाख विकास गर्नेभन्दा सम्पत्ति संरक्षण गर्ने भनेर मन्दिर वरपर कम्पाउन्ड लगाइएको छ । भद्रकालीको पेरिफेरी ९ सय ५० मिटर छ । ७ सय मिटर घेराबन्दी गरियो । १/२ ठाउँमा केही विवाद छ । मिलाएर अगाडि बढ्छौं र विस्तारै पूरै घेर्छौं । त्यसपछि यसलाई बढी उपयोगी र मन्दिरको सम्पत्ति समाजले अझ राम्रो तरिकाले उपयोग गर्न सकोस् भनेर वरपर प्रदक्षिणा मार्ग विकास गर्ने छौं । पोखरामा समथर जग्गाको बीचमा गोलाकार रुपमा रहेको यो भद्रकाली थुम्को प्रकृतिको ठूलो वरदान हो । यो पोखराको रत्न पनि हो ।

प्रजातान्त्रिक विचारधारा राख्ने र राजनीतिसँग जोडिएको परिवारको सदस्य भएर पनि तपाईं राजनीतिमा किन लाग्नुभएन? हालै स्थानीय चुनावबाट चुनिएका जनप्रतिनिधिलाई के सुझाव दिन चाहनुहुन्छ ?

एउटा व्यक्ति धेरै संस्थामा जोडिंदैमा सबैतिर काम गर्न भ्याइन्नँ । कि काम नभएको जोगीजस्तो हुन प¥यो । घरपरिवार पनि मिलाउन पर्‍यो । मुख्य कुरा राजनीति युवाले गर्नुपर्छ भन्ने मेरो मान्यता हो । युवा जाँगरिला हुन्छन् र केही गर्न सक्छन् । मेरा केही दाजुहरु राजनीतिमा लागेका कारण एकै ठाउँमा एकै परिवारका सदस्य आपसमा प्रतिस्पर्धा गर्ने कुरा पनि भएन । म ६४ वर्ष पुगिसकें, इच्छा भएर पनि राजनीति गर्ने अवसर जुरेन । हुन त म २०३६ सालमा स्याङ्जा गोली काण्डमा परेको व्यक्ति हुँ । जनमत संग्रहमा बिपीको अंगरक्षक भएर सुरक्षाको काम पनि गरियो । अवस्था यस्तो भए पनि अहिलेको कोलिसन सरकारले गरेको गठबन्धनलाई म सही भन्छु । केही अतिवादी र महत्वाकांक्षीले एक्लै लड्ने भने तर प्रधानमन्त्री शेरबहादुर देउवाको गठबन्धनको योजनाले कांंग्रेसले ठाउँ जितेको हो । कांग्रेसले राम्रो काम नगर्दा एमालेलगायतलाई भोट गएको छ । समग्रमा त नेपालमा कम्युनिस्टकै भोट बढी छ । राम्रो काम गरेर जनमत बढाए कांग्रेस सफल हुन्छ । आएर तर मात्र खाएर र एक्लै लडेर कांग्रेस उँभो लाग्दैन । र, नयाँ नेतृत्वलाई के भन्न चाहन्छु भने सबैका घोषणापत्र राम्रा छन् । पहिलाकाले पनि राम्रो काम गर्छु भनेकै हुन् तर भनेर मात्र भएन व्यवहारमा उतार्न पर्‍यो । कमीकमजोरी सुधारेर अगाडि बढ्नुपर्‍यो । ठाउँ पाउँदा गरेर देखाउनुपर्‍यो ।

Related News

सम्बन्धित समाचार

  • तत्काललाई टर्‍यो पोखरा महानगरको लफडा

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको कर्मचारी विवाद र नगर सभाको लफडा तत्कालका लागि टरेको छ । मेयर धनराज आचार्यसहितको उपस्थितिमा बसेको…
  • देशभरका कानून व्यवसायी पोखरामा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । नेपाल बार एसोसिएसनले न्यायपालिकामा पुनर्संरचनाको माग अघि सारेको छ । नेपाल बार एसोसिएसनको सोमबारदेखि सुरु हुने ५० औं…
  • प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । ५ दिनसम्म चलेको स्पोर्टस्…
  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…

hero news full width