महिला नेतृत्व स्थापित गर्नुछः हरिमाया

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७९
Harimaya

आसन्न स्थानीय तह निर्वाचनमा हरिमाया तिमिल्सिना अधिकारी नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका अध्यक्षकी उम्मेदवार हुन् । २०५८ सालमा पृथ्वीनारायण क्याम्पसमा अखिल क्रान्तिकारीमा आबद्ध भएदेखि उनले राजनीतिक यात्रा सुरु गरिन् । त्यसपछि उनले २०६० सालमा तत्कालीन सराङकोट गाविसको पार्टी सदस्य, अनेमसंघ क्रान्तिकारीको जिल्ला सदस्य हुँदै गण्डकी प्रदेश सदस्य सम्मको जिम्मेवारी पनि निर्वाह गरेकी छन् । राजनीति शास्त्रमा स्नातकोत्तर तथा अंगे्रजी र कानुन विषयमा स्नातक गरेकी अधिकारी यसअघिको स्थानीय तह निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष पदकी प्रत्यासी हुन् । पोखरा २ स्थित सेन्ट भ्याली स्कुलमा २०७० देखि ७४ सम्म अध्यापनसमेत गरेकी अधिकारी हाल पार्टीको गाउँपालिका उपाध्यक्ष हुन् । तिनै माओवादी नेत्री अधिकारीसँग स्थानीय तह निर्वाचन सम्बन्धमा आदर्श समाज दैनिकका प्रतिनिधिले गरेको कुराकानी :

चुनावी अभियान कसरी अगाडि बढाइरहनु भएको छ ?

घरदैलो कार्यक्रम चलिरहेको छ । यसक्रममा करिब करिब सबै गाउँपालिकावासीसँग भेट हुने अवसर पनि मिल्यो । अधिकाशंले यसपटक महिला नेतृत्व स्थापित गर्ने कुरा गर्नुभएको छ । म त्यसैमा आशावादी छु । पार्टीले चुनावी माहोलको व्यवस्था मिलाइरहेको छ । अब करिब घरदैलो सक्यौं पनि । कांग्रेस, एमाले लगायत पार्टीसँग जनता यसअघि नै अघाइसकेका रहेछन् । यसपटक माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा मत दिन्छौं र महिला नेतृत्व स्थापित गछौं भनेर पालिकावासीले भन्नुभएको छ । घरदैलो समूह विभाजन गरेर गरेका छौं । अन्नपूर्ण बासीको सकारात्मक प्रतिक्रियाले यसपटक हामी निकै उत्साहित छौं ।

तपार्इं नेतृत्वमा पुग्नुभयो भने के के काम गर्नुहुन्छ ?

अन्नपूर्ण गाउँपालिका पोखरा महानगरसँग जोडिएको र हिमाली भेगसम्म फैलिएको सुन्दर पर्यटकीय ठाउँ हो । यहाँ पर्यटनको प्रचूर सम्भावना छ । कृषिलाई व्यावसायीकरण, स्वास्थ्य, शिक्षाको प्रभावकारी विकास, तथा ग्रामीण विकट स्थानमा सडक पूर्वाधार, खानेपानीको उचित प्रबन्धलगायतमा मेरो मुख्य ध्यान जानेछ । त्यसका अलवा ज्येष्ठ नागरिकको लागि घरघरै भत्ता, नागरिकलाई निशुल्क सिफारिस दिने लगायत काम पनि गर्नेछु । बाँझो रहेको जग्गालाई भाडामा लिई उत्पादनमा लगाउने छु । अन्नपूर्ण आधार शिविर जाने पदमार्ग र अन्नपूर्ण रिङरोडको स्तरोन्नतिमा पनि ध्यान दिनेछु । त्यसका साथै अन्य धेरै काम गर्नुछ ।

कृषि व्यावसायीकरण, स्वास्थ्य, शिक्षाको प्रभावकारी विकास, विकट स्थानमा सडक पूर्वाधार, खानेपानी प्रबन्धलगायतमा मुख्य ध्यान जानेछ

विगतको स्थानीय चुनावलाई हेर्ने हो भने गाउँपालिकामा तपाईंको पार्टी निकै कमजोर अवस्थामा देखिन्छ । पार्टीको अहिलेको अवस्था कस्तो छ ?

हाम्रो पार्टी भनेको जनताको जनजीविकासँग नजिक रहेको पार्टी हो । मुलुकमा हरेक व्यवस्था बदल्नको लागि माओवादी पार्टीले नेतृत्व गर्‍यो । निर्वाचन भनेको अंक गणितीय खेल पनि हो । कहिले २,४ अंकमाथि त कहिले तल हुन्छ । माओवादी पार्टीका एजेन्डाअनुसार अहिले मुलुक चलेको छ । अहिलेका जनता पहिलाका जस्ता अबुझ पनि छैनन् । खालि पुरानै सूर्य र रुखमा मत दिने । अहिलेका जनताले व्यवस्था बदल्ने पार्टी माओवादी हो भनेर बुझिसकेका छन् । त्यसमाथि यसपटक हाम्रा साथीहरुले पनि संगठन बिस्तारमा अधिक ध्यान दिनुभएको छ । सबै वडामा पार्टी सदस्य बढेका छन् । त्यसमाथि अहिले अध्यक्ष पदमा महिला उठेकी छु । यसपटक महिलाको पूर्ण सहानुभूतिको मत पनि मैले नै पाउँदै छु । घरदैलोका क्रममा अन्नपूर्णका जनताले दिएको मायाले मलाई थप हौसला पनि मिलेको छ ।

तपाईंको गाउँपालिका माओवादी पार्टी अध्यक्षको जन्मस्थल पनि हो । तर विकासको पूर्वाधारको हकमा उनले खासै चासो नदिएको भन्ने गुनासो पनि छ नि ?

यहाँ भएका हरेक विकास र पूर्वाधारसँग हाम्रो पार्टी र स्वयं अध्यक्ष पनि नजिक हुनुहुुन्छ । पार्टी अध्यक्षको विशेष पहलमा अहिले अन्नपूर्ण बहुुप्राविधिक शिक्षालय भवन शिलान्याससहित बाली विज्ञानतर्फ पठनपाठन सञ्चालित छ । त्यस शिक्षालयमा कतिपय गरिब, विपन्न विद्यार्थीहरुले छात्रवृत्तिमा पनि पढिरहेका छन् । त्यसका साथै माओवादी पार्टीकै अग्रसरतामा लुम्लेका छलिमया अस्पतात पनि शिलान्यास भइसकेको छ । खानेपानीतर्फ हाम्रै पार्टीकी सांसद दुर्गा विकको विशेष पहलमा बृहद् लान्द्रुक खानेपानी योजना पनि परेको छ । त्यसका साथै सडकमा पनि राम्रै पैसा पारिएको छ । हाल गण्डकी प्रदेश सरकारमा पनि हाम्रो पार्टीको अर्थपूर्ण सहभागिता छ । त्यसमार्फत पनि गत वर्षदेखि विभिन्न योजनाहरु परेकै छन् । यो वर्ष पनि रणनीतिक हिसाबले धेरै योजनाहरु संघ र प्रदेश सरकारबाट पर्न पहल गर्दै छौं ।

अन्नपूर्ण गाउँपालिकाले यस पटक महिला नेतृत्व पाउला ?

कास्कीमा यो निर्वाचनमा अन्य कुनै पनि पार्टीले महिला प्रमुख पदका लागि उम्मेदवार दिन सकेनन् । हाम्रो पार्टीले मात्रै जिल्लाको हकमा अन्नपूर्णबाट मलाई उम्मेदवार बनाएको छ । यो माओवादी पाटीमा सबै वर्गमा समान सहभागिता छ भन्ने उदाहरण पनि हो । यसपटक अन्नपूर्णवासी समक्ष महिलालाई नेतृत्व लिन दिने अवसर पनि छ । अघिल्ला वर्षहरुमा भन्दा यसपटक हाम्रो संगठन पनि थप मजबुत भएको छ । घरदैलोका क्रममा अन्य पार्टीमा आस्था राख्ने आमा दिदीबहिनीले पनि सहानुभुतिमै भए पनि यसपटक हँसिया हथौडा चिन्हमा मत दिन्छौं भन्नुभएको छ । त्यसकारण यसपटक चुनाव जित्छु भन्नेमा पूर्ण रुपमा विश्वस्त छु ।

गाउँपालिकामा महिला नेतृत्व आयो भने विशेष गरी त्यहाँका महिला तथा बालबालिकाले तपाईंबाट के अपेक्षा राख्ने ?

सबै ठाउँमा महिला सहभागिता सुनिश्चित गराउने मेरो मुख्य लक्ष्य हुनेछ । त्यसका लागि बालमैत्री, महिलामैत्री ,लैंगिक विकाससम्बन्धी नीति तथा कार्यक्रम प्रभावकारी बनाउने छु । एक टोल एक बाल उद्यान निर्माण गर्नेछु । एकल तथा परिवारबाट पीडित तथा सुत्केरी महिलाका लागि छुट्टै प्याकेजको व्यवस्था गर्नेछु । बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन पालिकास्तरमा समयसमयमा विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्नेछु । हरेक क्रियाकलाप गर्दा त्यहाँ महिला तथा बालबालिकाको सहभागिता कहाँनेर रहन्छ भनेर सोच्नेछु र सोहीअनुसार काम कारबाही अगाडि बढाउनेछु ।

Related News

सम्बन्धित समाचार

hero news full width