गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा

प्रकाश ढकाल
वैशाख २६, २०७९
deuba

तस्बिरहरु : रासस

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बनेपछि कांग्रेसलाई देशैभरि फाइदा भएको बताएका छन् । देशभर सरकार गठन गठबन्धनका कारण भएको भन्दै यसलाई बचाउन आवश्यक रहेको उनको भनाइ छ । पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन बनेपछि नेपाली कांग्रेसको मुख्यमन्त्री बन्नुभएको छ । गठबन्धन भएपछि सबै पार्टीले सरकारमा सहभागी हुन पाएका छन् । कसैले अर्थमन्त्री पाएको छ, कसैले भौतिक मन्त्रालय पाएको छ । त्यसकारण कांग्रेसका लागि गठबन्धन सबैभन्दा बढी आवश्यकता छ । हाम्रो कस्तो अवस्था थियो हिजो ? अहिले कांग्रेसको नेतृत्वमा सरकार छ ।’

देउवाले गठबन्धनमा शंका गरेर असहयोग कसैले गरेको प्रमाणित भए कारबाही गर्ने चेतावनी दिएका छन् । ‘कांग्रेसका साथीहरुले गठबन्धनमा शंका उपशंका गर्नु हुँदैन । यदि त्यो प्रमाणित भयो भने कारबाही हुन्छ,’ भन्छन्, ‘प्रचण्ड र माधव नेपालजीले उदार भएर हामीलाई सहयोग गर्नुभएको छ । गठबन्धनले हामीलाई सरकारमा ल्याएको छ, कांग्रेसको कर्तव्य हो गठबन्धनलाई सफल पार्ने ।’

गठबन्धन नजोगाए देश पुनः दुर्घटनातर्फ जाने उनको तर्क छ । ‘गठबन्धन किन बनेको हो ? ओलीको आतंकी शासन थियो, संसदमा विरोध गर्‍यो भने भंग गर्दिहाल्ने । उनी संसदीय व्यवस्था मान्ने मान्छे पनि होइनन् । संसदमा विपक्षीले विरोध गर्न पाउँछ नि । त्यो विरोध सहन नसकेर भंग गरे,’ देउवाले थपे, ‘संविधानतः भंग गर्न नमिल्ने भएर अदालतमा गएर फिर्ता ल्यायौं । ओली र ओलीको पार्टी गणतन्त्रको खिलापमा छन् । अहिले गठबन्धनले जित्न आवश्यक छ । स्थायित्व र स्थिरताका लागि जिताउनुपर्छ ।’

गठबन्धनलाई नजिताए देश दुर्घटनामाः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले नजिते फेरि देश दुर्घटनामा जाने दोहो¥याएका छन् । उनले भने, ‘कांग्रेसको नेतृत्वको सरकारलाई सफल बनाउन अपील गर्दा जनता धम्क्यायो भनेर गलत अर्थ लगाइएको छ । म फेरि भन्छु, यो गठबन्धन राजनीतिक दुर्घटनाबाट बचाउन जन्मिएको हो । यसलाई दायाँबायाँ हुन दिनु हुँदैन ।’

उनले गठबन्धन गर्दा सबैलाई फाइदा हुने भन्दै त्यसको सदुपयोग गर्न आग्रह गरे । ‘एकातिर राजनीतिक मुद्दामा एकता छ भने अर्कोतिर सबैलाई फाइदा छ । ५० प्रतिशत नेपाली कांग्रेसलाई फाइदा छ । माओवादीलाई पनि फाइदा, जसपालाई पनि फाइदा, एकीकृत समाजवादी र जनमोर्चा सबैलाई फाइदा हुने गरी गठबन्धन बनेको छ,’ अघि भन्छन्, ‘एकातिर राजनीतिक मुद्दा मिल्ने, अर्कोतिर फाइदा मिल्ने भयो भने मात्रै गठबन्धन अगाडि जान्छ ।’ प्रचण्डले संविधान रक्षाका लागि नै गठबन्धन बनेको दाबी गरे ।

कांग्रेसका साथीहरुले गठबन्धनमा शंका उपशंका गर्नु हुँदैन । यदि त्यो प्रमाणित भयो भने कारबाही हुन्छ

‘संविधानको रक्षाका लागि यो गठबन्धन बनेको हो । यदि यो गठबन्धन जन्मदैनथ्यो भने आज देश दुर्घटनामा जाने खतरा बनेको थियो,’ उनले भने, ‘दुर्घटनामा जानबाट बचाउन नै यो गठबन्धन बनेको हो । गठबन्धन बनेकै दिनदेखि यसलाई टुटाउने प्रयास भयो, भइरहेको छ ।’ गठबन्धनका पक्षधरहरु अप्ठेरासँग जुधेर यसलाई अगाडि बढाउने र आम चुनाव हुँदै राजनीतिक स्थायित्वसम्म कायम राख्ने उनले बताए ।

‘६ वटा महानगर र ११ उपमहानरमा सर्वसम्मत उम्मेदवारी छान्ने कुरा सजिलो थिएन । देशको राजनीतिक अवस्थालाई ख्याल गरेर नै सर्वसम्मत निर्णय गर्न सफल भएका छौं,’ अघि भन्छन्, ‘निर्वाचन अग्रगमन र प्रतिगमनको लडाइँको रुपमा अगाडि आएको छ । हामी परिवर्तनका पक्षधर एकातिर छौं, सामन्तीहरु अर्कोतिर भएर संघर्ष चलेको छ ।’ ७० वर्षभन्दा लामो संघर्षबाट प्राप्त भएको उपलब्धि बचाउन पोखरामा हाम्रो गठबन्धनलाई निर्वाचित गराइदिन उनले आग्रह गरे ।

कांग्रेसले दम्भ देखाए केपी ओलीकै हाल हुन्छः नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसलाई शक्तिको दम्भ रहेको टिप्पणी गरेका छन् । ‘कम्युनिस्टमा दम्भ हुन्छ, हामी धेरै शक्तिशाली छौं । कहिलेकाहीं कांग्रेसमा दम्भ हुन्छ, हामी धेरै शक्तिशाली छौं,’ उनले भने, ‘दम्भ नराख्नुहोस् । त्यही दम्भले केपीको विनाश ग¥यो । दम्भ राख्नुभयो भने तपाईंको विनाश हुनेबाहेक केही उपाय हुँदैन । सबैको शक्तिलाई स्वीकार गर्न सक्नुपर्छ ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधान र गणतन्त्रको माया नभएको आरोप लगाएका छन् । उनले ‘गणतन्त्र आउनु बयलगाढा चढेर अमेरिका पुग्नु’ जस्तै भएको भनी ओलीले तर्क गरेको भन्दै बयलगाढा सिद्धान्तको प्रवर्तक ओली भएको आरोप लगाए ।

‘जसले (ओली) दुई पटकसम्म संविधानले नदिएको ठाउँमा प्रधानमन्त्रीको पदको दुरुपयोग गरेर प्रतिनिधिसभा भंग गरेका छन् । संविधानको घाँटी थिच्ने काम गरेका छन् । उनलाई लोकतन्त्र र संविधानको माया छैन,’ नेपालले भने, ‘बयलगाढा दर्शनको प्रवर्तक भएर अमेरिका जानु र आन्दोलन गरेर ज्ञानेन्द्रको शासन ढाल्नु एउटै हो भन्ने व्यक्तिले अब कुन रुपले भोट माग्छन् ?’ पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले ओलीलाई प्रतिगामी गठबन्धनको नेतृत्व गरेको आरोप लगाए । उनले अधिकांश समय केपी ओलीविरुद्ध बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width