यहाँका जनताले व्यक्ति हेर्छन्, पार्टी हेर्दैनन् : क्या.डेलबहादुर गुरुङ

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७९
Del Bahadur Gurung Ward 14 Uml~rup ranarayan

डेलबहादुर गुरुङ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर १४ मा अध्यक्ष पदका उम्मेदवार हुन् । ६१ वर्षको उमेरमा पनि राजनीति र समाजसेवामा उनको जोस र सक्रियता लोभलाग्दो छ । २०१८ सालमा स्याङ्जाको भीरकोटमा जन्मिएका उनी भारतीय सैनिकका पूर्व मानार्थ क्याप्टेन पनि हुन् । २०६३ सालमा फौजी जीवनबाट निवृत्त भएपछि राजनीतिमा यिनको सक्रियता झनै बढ्न पुग्यो । हुन त त्यसअघि २०४६ सालतिर नै यिनी राजनीतिमा जोडिन पुगेका हुन् । हाल उनी नेकपा (एमाले) वडा १४ कमिटीको उपाध्यक्ष हुन् । आदर्श समाज प्रतिनिधि १४ नम्बर वडामा पुग्दा यिनी आफ्नो दलबलसहित चुनावी प्रचार अभियानमा व्यस्त थिए । चुनावी अभियानबीच स्थानीय तहको निर्वाचनका सन्दर्भमा उनीसँग गरिएको संवादको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ :

वडा अध्यक्षको उम्मेदवारको रुपमा तपाईंका भावी योजना के–के छन् ?

वडा अध्यक्ष निर्वाचित भएपछि गर्नुपर्ने काम र मेरा योजनाहरु प्रशस्त छन् । सर्वप्रथम त यसअघिको संयन्त्रले वडामा गर्न बाँकी अपूरा कामहरु पूरा गर्नेतर्फ लाग्नेछु । यसका अतिरिक्त जनताको गास, बास र कपासका लागि जेजस्तो काम र सेवा गर्नुपर्छ म दत्तचित्त भएर लाग्नेछु । कृषिको आधुनिकीकरण, उद्यमशीलताको विकास र युवाहरुलाई रोजगारी दिने कुरा तथा नयाँ प्रविधि भिœयाउन पनि मैले भूमिका खेल्ने नै छु । शिक्षा, स्वास्थ, खानेपानी र पूर्वाधार विकासका लागि पनि मैले काम गर्नेछु । अर्को कुरा पोखरा १४ का बासिन्दा यो सम्पन्न हुन लागेको नयाँ विमानस्थलका कारण निकै प्रभावित छन् । यसका सन्दर्भमा हामीले धेरै मागहरु सरकारसमक्ष राख्यौं तर हाम्रो प्रस्तुति वजनदार भएन, त्यही भएर अब म निर्वाचित भएपछि बाँकी मागहरु पूरा गर्न सशक्त ढंगले लाग्नेछु । विमानस्थलमा भुइँ पुछ्नेदेखि टेबलको काम गर्नेसम्मका कर्मचारी नियुक्त गरी रोजगारी दिलाउन पनि म ध्यान दिनेछु । हाम्रो वडाको क्षेत्रफल अलि ठूलो पनि छ । यो काहुँखोलादेखि सेती किनारसम्म फैलिएको छ । यस वडामा मैले गर्ने विकासका कामलाई समानुपातिक बजेट विनियोजन गर्ने र सोहीअनुसारको विकासका कामहरु अगाडि बढाउने मेरो योजना छ । हाम्रो पार्टीको निर्देशनअनुसार यहाँको ल्यान्डफिलको व्यवस्थापनमा पनि मेरो ध्यान रहनेछ । बीचमा नयाँ विमानस्थल बन्दा यहाँको यातायात व्यवस्थापनमा पनि समस्या परेको छ । यसलाई पनि मिलाउनु पर्नेछ । चाउथे, अमरसिंह लगायत क्षेत्रका जनता वडामा आउन धेरै बस फेर्नुपर्छ । त्यसैले चक्रपथको अवधारणाअनुसार सहज यातायात व्यवस्था मिलाउन मैले पहल गर्नेछु ।

तपाईंको वडामा सुकुमबासी बस्ती पनि छन्, तिनको व्यवस्थापनतर्फ के सोच्नुभएको छ ?

हो, यहाँ धेरै सुकुमबासी बस्तीहरु छन् । सुकुमबासी समस्या समाधानका लागि म सक्रिय भएर लाग्ने छु । यसअिघ नेकपा एमालेको सरकारहुँदा सुकुमबासी समस्या समाधानका लागि आयोगमार्फत् काम निकै अगाडि बढेको थियो । करिब ८० प्रतिशत काम सकिएका थिए । अब पनि हाम्रै पार्टीले बहुमतको सरकार बनाउनेमा म विश्वस्त छु । सरकारले सुकुमबासी समस्या समाधान गर्नेछ । यसका लागि म समन्वय र सहकार्य गर्न सधैं तत्पर भएर बस्नेछु । यहाँ भएका १४ वटा सुकुमबासी बस्तीका बासिन्दालाई लालपुर्जा दिलाउन म दिनरात नभनी खट्नेछु । खासगरी म सबै जनताको दुखसुखमा साथ दिनेछु । तल्लो वर्ग, दलित वर्ग र पीडितहरु कसैलाई पनि भेदभाव नगरी म काम गर्नेछु । जनतालाई सुखी र वडालाई समृद्ध बनाउन पूरा मेहनताका साथ लगनशील भएर काम गर्नेछु ।

योजना र जनसेवाका कुराहरु त सुनाउनुभयो, तपाईंले चुनाव जित्ने आधारबारे स्पष्ट पारिदिनुस् न ।

जीतका आधारलाई म कसरी व्याख्या गर्न चाहन्छु भने म भारतीय सेनाको पूर्व सैनिक पनि हुँ । म अहिलेसम्म फौजमा हुँदा होस् वा यस क्षेत्रमा इमानदार, मिहिनेत र कर्तव्यनिष्ट भएर काम गर्दै आएको छु । त्यसैले यो वडाको पूरा जनतालाई के थाहा छ भने म इमानदार, मेहनती र कर्तव्यनिष्ट मानिस हुँ । त्यही भएर पनि यस क्षेत्रका मतदाताले मलाई भोट दिनुहुनेछ । अर्को कुरा नयाँ विमानस्थलको तारबारभन्दा माथि ३४ वटा टोल विकास संस्था छन् । त्यहाँका मतदाताले मलाई भन्नुभएको थियो, ‘तपाईंले टिकट पाउनुभयो भने हामी तपाईंलाई भोट दिनेछौं । उहाँहरुले मलाई एकछापे भोट हाल्नुहुनेछ ।’ त्यसपछि खाल्टेमसिना क्षेत्रका हरेक समुदायका जनताको पनि मलाई विश्वास छ । छिनेडाँडा एरिया र मझेरीपाटन क्षेत्रमा पनि मेरो प्रभाव राम्रो छ । यो मानिस इमानदार छ, भ्रष्टाचार गर्दैन र एक पैसा खाँदैन भन्ने कुरा करिव सबैले बुझ्नुभएको छ । त्रिकोण समाज, गुरुङ समाज, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक, प्रगति नमुना सहकारी र प्रगति टोल विकास संस्थासँग पनि विभिन्न भूमिकामा म जोडिएको छु । यसले गर्दाखेरि पनि मेरो जीत सुनिश्चित रहेको म देख्छु ।

मलाई नेकपा एमाले सही पार्टी लाग्यो । जनता र वर्गीय हितमा काम गर्ने योबाहेक मैले देखिनँ

एकातिर ५ दलीय गठबन्धन अनि अर्कातिर तपाईं, यस्तो स्थितिले चुनाव जित्न समस्या पर्र्दैन ?

म के भन्छु भने गठबन्धनभित्र एक मत छैन । कागजमा गठबन्धन भने पनि त्यहाँका थुप्रै साथीहरुले मलाई भोट दिनुहुन्छ । अर्को कुरा नेकपा एमाले आफैंमा सशक्त पार्टी हो । पहिला पनि यसले यहाँ चुनाव जितेको हो । यहाँका जनताले व्यक्ति हेर्छन्, पार्टी हेर्दैनन् । विमानस्थलभन्दा माथिका टोलका मतदाताले पनि हामीले पार्टी र गठबन्धन हेर्दैनौं, व्यक्ति हेर्नेछौं भन्नुभएको छ । उहाँहरुले मलाई पूरा विश्वास नै दिलाउनुभएको छ । तपाईं आए पार्टी हेर्दैनौं, तपाईंलाई हेर्छौं भन्नुभएको छ । यस वडा क्षेत्रमा दर्ता भएका ५८ वटा टोल विकास संस्थाका जनताले मलाई नै भोट दिन्छु भन्नुभएको छ । गठबन्धनका साथीहरुले पनि दाइ आउनुभयो भने हामी तपाईंलाई भोट हाल्छौं, भन्नुभएको छ । त्यसैले म मतदातालाई के भन्न चाहन्छु भने म सेवादारको रुपमा आएको छु । हजुरको सेवा गर्ने मौका दिनुहोला । म तपाईंको सेवालाई दिन रात भनेर खट्नेछु । म दिन रात नभनी यही टोलमा बसी तपाईंको दुख समस्या हल गरेर बस्नेछु ।

एउटा रिटायर्ड फौजी राजनीतिमा कसरी आउनुभयो ?

मेरो खानदानमा हजुरबाहरु राणाका एडिसी हुनुहुन्थ्यो । यसकारण राजनीतिसँग हाम्रो परिवारको सम्बन्ध निकै पुरानो हो । त्यो समय र त्यसपछि पनि निकै लामो समय जिम्मुवाल र मुखियाहरुको दबदबा चल्थ्यो । उनीहरुको अत्याचार मैले पनि प्रत्यक्ष देख्ने मौका पाएको छु । तयस्तो अत्याचार देखेर मलाई विद्रोह गर्न मन लाग्थ्यो । कतिपय अवस्थामा हाम्रा आफ्नै मान्छेहरु पनि यस्तो दमनमा लागेको पाएको छु । त्यसबेला म खुकुरी नै लिएर बाहिर निस्कन्थें । २०३६ सालमा निर्दल र बहुदलको चुनाव हुँदा पनि मैले बहुदलमा भोट गरें । २०४६ मा बहुदल आयो । त्यसपछि मलाई खुसी लाग्यो । २०६३ सालमा सैनिक सेवाबाट रिटायर्ड भएँ । नेकपा एमालेको कार्यकर्ताको रुपमा म थप सक्रिय बनें । खासमा स्याङ्जाबाट पोखरा आएर म कम्युनिस्ट पार्टीमा लागेको हुँ । नेकपा एमाले मलाई सही पार्टी लाग्यो । जनता र वर्गीय हितका लागि काम गर्ने यो पार्टीबाहेक अरु मैले देखिनँ । २०७३ सालको अधिवेशनमा वडा कमिटी उपाध्यक्ष भएँ, म १४ नम्बर वडामा । राजनीति यसरी नै चलेको छ । यसपटक चुनाव जितेर जनसेवामा लाग्ने मेरो उद्देश्य रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width