डि जानकी एग्रो फार्मको सार्वजनिक सुनुवाइ

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७८
Public Hearing Photo

पोखरा । डि जानकी एग्रो फार्मले पोखरामा सार्वजनिक सुनुवाइ गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका विषयमा सार्वजनिक सुनुवाइ गरिएको हो ।

आयोजनाको विकेन्द्रीकृत आयोजना सहयोग इकाइ पोखराबाट स्वच्छ दूध उत्पादनका लागि उन्नत पशुपालन व्यावसाय आयोजना पोखरामा फार्मले गर्ने भएको सञ्चालक दीपक तिमिल्सिनाले जानकारी दिए । पोखरा १५, रातीखहरेमा फार्म सञ्चालनका लागि योजना परेको उनको भनाइ थियो । दूध उत्पादन र आधुनिक गोठ निर्माण आयोजनाको उपलब्धि रहने उनले बताए । उत्पादनसँगै बजार व्यवस्थापन यसको प्रमुख कार्य रहेको छ ।

यसका लागि १ करोड ९५ लाख ८१ हजार लाग्ने तिमिल्सिनाले जानकारी दिए । तीमध्ये ५० प्रतिशत रकम अर्थात् ९७ लाख ८० हजार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले अनुदान दिनेछ । बाँकी फार्मले व्यहोर्नुपर्ने हुन्छ । जसमा नबिल बैंकबाट ६० लाख ऋण र ३७ लाख फार्मले व्यहोर्ने उनले बताए ।

सरकारी पक्षबाट हुने अनुदानले नेपालमै पशुपालन गरेर पनि केही गर्न सकिन्छ भन्ने हौसला मिलेको उनको भनाइ थियो । आयोजनाका लागि सम्झौतामा भएअनुसार काम गर्दै तोकिएकै समयमा सक्ने उनले योजना सुनाए । आयोजना २०७९ पुुस ३ सम्म सक्नुपर्ने छ ।

कार्यक्रममा पोखरा १५ का अध्यक्ष प्रकाश पौडेलले कृषिमा आत्मनिर्भर हुन सकेमा देशले विकासमा फड्को मार्ने बताए । मन्त्रालयअन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना प्रमुख डा. रेशमराज ज्ञवालीले वल्र्ड बैंकसँग सम्झौता गरेर सस्तो व्याजदरमा ऋण लिएर यो कार्यक्रम सञ्चालन गरिएको बताए । सुरुमा ८० मिलियन डलरबाट गर्ने भनिएको कार्यक्रम पछि घटाएर ५५ मिलियन डलरमा गरिएको उनको भनाइ थियो । सो रकमबाट ७ प्रदेशका २८ जिल्लाका ५ सय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने लक्ष्य रहेको उनले सुनाए । कास्कीमा ६ सय ४८ फर्मले निवेदन दिएकोमा डि जानकी एग्रो फार्म छनौट भएकाले नमुना फार्म बन्नुपर्नेमा उनको जोड थियो । विषेशगरी कृषकलाई दूध, मासु र पस्मिनामा व्यावसायीकरण गराउन यो परियोजनाले सहयोग गर्ने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width