कास्कीका सबै पालिकामा गठबन्धनको तालमेल

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७८
gathabandhan

पोखरा । संघ र प्रदेशको सत्ता गठबन्धन आसन्न स्थानीय तहको निर्वाचनमा पनि निरन्तर हुँदै छ । चुनावमा गठबन्धन कास्कीमा पनि कायम राख्ने निर्णय गरिएको छ । नेपाली कांग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । केन्द्रीय गठबन्धनमा रहेका दलहरूबीच सबै पालिकामा मिलेर चुनाव लड्ने निर्णय गरिएको बरालले बताए ।

बैठकमा माओवादी केन्द्रका बखानसिंह तमु, नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष धनराज आचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष रविमोहन ढकाल, जनता समाजवादीका अध्यक्ष गिरीप्रसाद गुरुङ सहित नेताहरु सहभागी थिए । पालिकासहित ७२ वटै वडामा गठबन्धनले हैसियत अनुसार उम्मेदवार उठाउने छन् । यद्यपि कुन पालिकामा कसलाई टिकट दिने भन्नेबारे कुनै छलफल भने भएको छैन ।

पोखरा महानगरपालिकाको नेतृत्व कसले पाउँछ भन्नेमा अरु पालिकाको निर्णय हुनेछ । पोखराको निर्णय केन्द्रबाटै हुनेछ । स्रोतका अनुसार रुपा वा माछापुच्छ्रेमध्ये एउटा पालिका एकीकृत समाजवादीले पाउन सक्छ । माओवादीले मादी गाउँपालिकाको नेतृत्व गर्न सक्छ भने पोखरा र अन्नपूर्ण कांग्रेसले लिने बुझिएको छ । तर पोखरामा सबै पार्टीको दाबी निरन्तर छ ।

सत्ता गठबन्धनको नेतृत्व आफूले गरेको भन्दै कांग्रेसले दाबी छोडेको छैन । माओवादी केन्द्रले अघिल्लो स्थानीय चुनावमा कांग्रेसलाई सघाएको भन्दै अहिले आफूलाई कांग्रेसले सघाउनुपर्ने तर्क अघि सारेको छ । एकीकृत समाजवादी पनि एमाले फुटाएर गठबन्धनमा सामेल भएको भन्दै पोखराको मेयर आफ्नो हुनुपर्ने दाबीमा छ ।

सोमबारको कास्की जिल्लास्तरीय बैठकले वडा तहसम्मै गठबन्धनका दलहरूको संयुक्त बैठक बस्ने र एउटै संयन्त्रबाट गृहकार्य गर्ने निर्णय भएको कांग्रेस कास्कीका सभापति बरालले बताए । यसैगरी, गठबन्धनमा रहेका दलहरूबीच एकता, सम्मान र हार्दिकताको भावना वृद्धि गर्ने निर्णय पनि भएको छ । निर्वाचनमा जिल्ला, पालिका र वडास्तरमा दलगत अवस्थाबारे प्रतिवेदन तयार गर्न कास्कीमा गठबन्धनमा रहेका दलका प्रमुख र थप १ जना रहने गरी १० सदस्यीय कार्यदल गठन गरिएको छ ।

यसैबीच, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय आवश्यकता आधारमा मात्रै गठबन्धन गर्न नेता कार्यकर्तालाई सुझाव दिएका छन् । उनले अघिल्लो स्थानीय चुनावको जस्तो गठबन्धनले कांग्रेसको पक्षमा नतिजा नआउने भन्दै विचार गरेर गठबन्धनमा अघि बढ्न सुझाए । कास्कीमा सोमबार कार्यकर्तासँग भेटघाट गर्दै उनले चुनावी तालमेलको अधिकार प्रदेश, जिल्ला, पालिका र वडालाई भएकोले आवश्यकता भएमात्रै गठबन्धन गर्न आग्रह गरे ।

‘गठबन्धन जहाँ आवश्यक छ त्यहाँ गर्नुस् । सबै ठाउँमा गर्नुपर्दैन,’ उनले भने, ‘तालमेलका नाममा विगतमा भरतपुरको जस्तो तालमेल नगर्नुहोला । यसले पार्टीलाई नोक्सानी हुन्छ ।’ अघिल्लो स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गरेका पालिकामा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको भन्दै त्यसप्रति सचेत रहन अनुरोध गरे । केन्द्रीय सदस्य समेत रहेका उनले कांग्रेसको विधान अनुसार टिकट वितरणको मापदण्ड बनाउन निर्देशन दिएका छन् । ‘जथाभावी टिकट वितरण गर्ने होइन । सक्षम र योग्य उमेदावरलाई निर्वाचनमा टिकट दिनुपर्छ,’ उनले भने । गठबन्धनको प्रदेशस्तरीय बैठक मंगलबार बस्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width