गण्डकीमा अब सवारी लाइसेन्सकाे पालाे अघि सार्दै

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७८
Yatayat Photo

पोखरा । करिब ६ महिनाअघि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का फर्म भरेकी कास्की ढिकुरपोखरीकी बिन्दु शर्मा वाग्लेलाई अहिल्यै पालो आउला भन्ने आशै थिएन । उनको अफिस भिजिटको समय चैत २८ का लागि निर्धारित थियो । यातायात कार्यालयको ढिलासुस्तीले सोही दिन काम हुने हो वा होइन विश्वस्त थिइनन् । तर शनिबार उनको साथीले सन् २०२२ अप्रिल ३ देखि ११ सम्म अफिस भिजिट तोकिएकालाई आइतबार कार्यालय डाँकेको खबर सुनाए ।
उनी कार्यालय पुग्दा धमाधम मिति सार्ने काम चलिरहेको थियो । अझै एक हप्तापछि आउने पालो आइतबार नै आएकोमा उनी दंग थिइन् । बायोमेट्रिक सकेर भोलि लिखित परीक्षा हुन्छ भन्दा झनै खुसी भइन् । लिखित परीक्षा पास भएको अर्को साता उनको हातमा लाइसेन्स हुनेछ ।

वाग्लेजस्तै यातायात कार्यालय सवारी चालक अनुमतिपत्रको वेबसाइटमा करिब ४५ हजारले फर्म भरेका छन् । उनीहरुको अफिस भिजिट २०८० चैत १९ सम्म तोकिएको छ । अनलाइन फार्म भरेकाहरुले सोही समयमा अफिस भिजिट गर्नुपर्‍यो भने २ वर्षसम्म कुर्नुपर्छ । त्योबीचमा बिचौलिया अनेक बहाना बनाउँदै ठग्न सक्छन् ।

सेवाग्राहीको समस्या मध्यनजर गर्दै तथा बिचौलिया सक्रिय नहोस् भनी यातायात कार्यालय सवारी चालक अनुमतिपत्रले आफैंले समय छोट्याउने अभियान थालेको हो । यातायात व्यवस्था विभागको निर्देशन कार्यालयको आन्तरिक तयारी सुरु गरेको सवारीचालक अनुमतिपत्र कार्यालय गण्डकी प्रमुख प्रेम सुवेदीले जानकारी दिए । ‘फर्म भरेका सबैलाई २ वर्षसम्म कुराएर त काम भएन,’ उनले भने, ‘यस्तो हटाउन प¥यो भनेर विभागबाट आयो, विभागले नभन्दै पनि हामीले तयारी थालेर आइतबारदेखि काम सुरु गर्‍यौं ।’

कार्यालयले दैनिक ४ सय जनाको हाराहारीमा ट्रायल लिने गरेको छ

यसका लागि चैत १ देखि नै सूचना प्रकाशन गरी तयारी थालिएको उनले बताए । अनलाइन फर्म भरेका ४५ हजार सेवाग्राहीलाई असार ५ सम्म अफिस भिजिटका लागि बोलाउने गरी काम गरेको उनको भनाइ थियो । ‘कामको लोड त हुने नै भयो, बिहानै ८ देखि काम सुरु गरेका छौं,’ उनले भने, ‘ट्रायल बिहान ७ बजेबाटै सुरु गरिएको छ ।’ २०८० चैत २० सम्म मिति तोकिएकालाई २०७९ असार ५ गतेसम्म बोलाएर त्यसपछि नयाँ फर्म भरेकालाई १ महिनाभित्र लाइसेन्स दिने गरी कार्यालय अघि बढेको प्रमुख सुवेदीले जानकारी दिए । सेवाग्राहीलाई पनि समय छ भनेर ढुक्क नहुन आग्रह गर्दै सूचना हेरेर आफ्नो समयमा कार्यालय आउन उनको सुझाव छ । आफ्नो पालोमा आएका सेवाग्राहीले नागरिकता र रिफ्ररेन्स नम्बर देखाएपछि बायोमेट्रिक र स्वास्थ्यको काम सकेर भोलिपल्टै लिखित परीक्षाको समय पाउँछन् ।

कार्यालयले दैनिक ४ सय जनाको हाराहारीमा ट्रायल लिने गरेको छ । जसमा मोटरसाइकल र स्कुटरको २ सय साथै कार, जिप भ्यानको दैनिक १ सय ५० को ट्रायल लिने गरेको प्रमुख सुवेदीले जानकारी दिए । अफिस भिजिट अघि सार्दा आफूहरुलाई गाह्रो भए पनि सेवाग्राहीलाई सुविधा हुने उनको भनाइ थियो । जसबाट सेवाग्राहीको समयको बचत हुनुको साथै बिचौलियाबाट ठगिने छैनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width