गण्डकीमा एमाले आकलन : एक्लै चुनाव लड्दा २७ पालिका जित्ने, गठबन्धन गरे ८१

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७८
vote

Elections

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशमा गठबन्धनसँग एक्लै चुनाव लड्दा २७ पालिका जित्ने दाबी गरेको छ । यसअघि ३४ पालिकाको प्रमुख जितेको एमालेले सत्तारुढ गठबन्धन भए पनि खासै नोक्सान नहुने आकलन गरेको हो । तर एमालेले उपप्रमुखले जितेको र गठबन्धनसँग मिलेर जितेको पालिकालाई समेत आफ्नै मानेर यसअघि ३९ पालिका जितेको बताएको छ ।

विपक्षीसँग एक्लै लड्दा कास्की ‘क्लिन स्वीप’ गर्न सकिने रिपोर्ट छ । यसअघि २ पालिका जितेको म्याग्दीमा आफ्नो सिट सुरक्षित गर्ने दाबी छ । बागलुङमा ४ पालिका जितेकोमा अब एउटामात्रै जित्ने, ६ पालिका जितेको लमजुङ र पर्वतबाट २/२ पालिका गुमाउने, मुस्ताङ, कास्की र स्याङ्जाबाट १/१ पालिका बढ्ने तथा नवलपुरबाट ३ पालिका नोक्सान हुने बताइएको छ ।

यद्यपि सो रिपोर्टबाट मंगलबार हुने प्रदेश कमिटी बैठकमा बृहत् छलफल हुने सचिव धनन्जय दवाडीले बताए । ‘प्रदेश अध्यक्षज्यूले केन्द्रमा ब्रिफिङ गर्नुभएको हो । हामीले गठबन्धन गर्दा गुमाए पनि केही पालिकामा एमाले नै अगाडि छ । त्यसकै आधारमा रिपोर्ट बनाएका हौं,’ उनले भने, ‘रिपोर्ट पेस गरेपछि पनि केही पालिकाहरु बढ्ने सम्भावना छ । विभिन्न खालको आकलनसहित रिपोर्ट तयार गरिएको छ ।’

सत्ता गठबन्धन नभए गण्डकीबाट ५० पालिका चुनाव जित्ने दाबी एमालेको छ । यसमा म्याग्दी, मुस्ताङ, स्याङ्जा, तनहुँ, गोरखामा एमालेले बढी पालिका जित्ने बताइएको छ । ११ स्थानीय तह रहेको गोरखामा आउँदो चुनावमा ३ पालिका जित्ने दाबी छ । एमालेले अघिल्लो निर्वाचनमा माओवादीसँग मिलेर एउटा मात्रै प्रदेशसभा चुनाव जितेको थियो भने पालिकाको प्रमुख उपप्रमुख जित्न सकेको थिएन । सिरान्चोक र आरुघाट एमालेको पकड भएको पालिका हो तर एक्लै चुनाव लड्दा पनि अघिल्लो नतिजा हेर्दा एमालेलाई जीतका लागि पर्याप्त मत छैन ।

एमालेले अरु पार्टीसँग एकता गर्न सके ८१ पालिकामा चुनाव जित्ने बताएको छ । तर एकता कोसँग गर्ने भन्ने खुलाइएको छैन । एमालेको दाबी पूरा हुन सत्ता गठबन्धनमै रहेका कुनै राजनीतिक पार्टीसँग साझेदारी गर्नुपर्छ । म्याग्दी, बागलुङ, नवलपुर र मनाङमा १/१ पालिका गुमाउने तथा गोरखाबाट ३ र पर्वतबाट २ पालिका जित्न नसक्ने रिपोर्ट छ । कास्की, स्याङ्जा, लमजुङ र तनहुँमा क्लिन स्वीप गर्न सक्ने उल्लेख छ । ५ पालिका रहेको मुस्ताङमा ६ वटामा चुनाव जित्ने गरी प्रतिवेदन बनाइएको छ । २०७४ को निर्वाचन नतिजा, त्यसपछिको पार्टी प्रवेश, संगठन विस्तार लगायत आधारबाट उक्त आकलन निस्किएको दवाडीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width