कलासंस्कृति लोप हुने चिन्ता

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७८
balan

पोखरा । परम्परागत नेपाली कलासंस्कृति संरक्षणप्रति सम्बन्धित निकायले चासो नदिंदा अमूल्य लोकसंस्कृति हराएर जाने एक कार्यक्रममा वक्ताले चिन्ता व्यक्त गरेका छन् । बालन तथा कला संस्कृति प्रतिष्ठान नेपाल, पोखराको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन समारोहमा उक्त चिन्ता व्यक्त भएको हो ।
अधिवेशन उद्घाटन गर्दै आदर्श समाज दैनिकका प्रधानसम्पादक एवं स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले कलासंस्कृति लोप हुनबाट बचाउन सचेतना तथा संरक्षण अभियान चलाउनु पर्नेमा जोड दिए । उनले भने, ‘कलासंस्कृति बचाउनु नागरिकको कर्तव्य हो भने राज्यको पनि दायित्व हो ।’
महाकाव्यकार माधव वियोगीले कलात्मक जीवन जिउन सकेमात्र मावनजीवनले सार्थकता पाउने बताउँदै प्रतिष्ठानले कलाको प्रशिक्षण दिनुपर्ने बताए ।
धर्मसभाका अध्यक्ष पूर्णप्रसाद चापागाईंले धर्मसंस्कृति संरक्षणमा सबैको चासो नरहेको गुनासो गरे ।
कलाकार माधवप्रसाद पौडेलले कलासंस्कृति नयाँपुस्तालाई हस्तान्तरण गर्दै जानु पर्ने बताउँदै भने, ‘हस्तान्तरण गर्न सकिएन कि ?’
विगेन नेपाल पोखरा शाखा प्रमुख पुष्प लामिछानेले संस्कृति लोप हुने अवस्थामा रहेको भन्दै युवा व्युँझाउनुपर्ने बताए । संस्थाकी सदस्य जानुका पौडेलले सबैको सहयोगको आवश्यकतामा जोड दिइन् ।
समारोहमा प्रमुख अतिथि बास्तोला, कार्यक्रमका अध्यक्ष खगराज शर्मा आचार्यले कलाकार हरिप्रसाद पोखरेल, लेखनाथ पोखरेल, माधवप्रसाद पौडेल र पण्डित यमप्रसाद पौडेललाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
प्रतिष्ठान अध्यक्ष खगराज शर्मा आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव विश्वबन्धु पोखरेलले स्वागत र कार्यक्रम सञ्चालन गरेका थिए ।

अध्यक्षमा आचार्य
बालन तथा कला प्रतिष्ठान नेपाल अध्यक्षमा खगराज शर्मा आचार्य चयन भएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए ।
प्रतिष्ठान वरिष्ठ उपाध्यक्षमा विश्वबन्धु पोखरेल, उपाध्यक्ष नवराज बराल, सचिव बोधराज आचार्य, सहसचिव शशिधर सुवेदी र कोषाध्यक्ष श्रीमद् पराजुली चयन भए । सदस्यमा जयबहादुर शाही, सुमिता पौडेल, कल्पना सिग्देल, खर्कबहादुर अधिकारी, इन्दिरा आचार्य, सु.मे. नारायणप्रसाद सुवेदी र रेशमलाल सुवेदी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width