विकटका पालिका रित्तै, कर्मचारी नहुँदा नागरिकलाई सास्ती

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७८
public hearing~ by prakash

माछीखोला (गोरखा) । गोरखाको धार्चे गाउँपालिकाका नासु शिव भुषाल गाउँपालिकाको ४ वटा शाखाको प्रमुखका रुपमा कार्यरत छन् । योजना, जिन्सी, सामाजिक विकास र प्रशासन शाखाको काम सकेर उनले २ वटा वडाको जिम्मेवारी पनि पूरा गर्नुपर्छ । पालिकामा कर्मचारी नहुँदा धेरै कामको जिम्मेवारी आफ्नै काँधमा परेको उनले सुनाए । ५४ दरबन्दीमध्ये अहिले ३० भन्दा कम कर्मचारी छन् । उनले १ र ३ नम्बर वडाको काम जिम्मा लिएका छन् । धार्चेका एउटा वडाबाट अर्को वडा जान दिनभरिको बाटो हिंड्नुपर्छ । विकट पालिका भएकोले पनि धार्चेमा कर्मचारीको आकर्षण खासै छैन ।
धार्चेका अधिकांश वडाहरु स्वास्थ्यकर्मीको जिम्मामा छ । ४, ५, ६ र ७ मा स्वास्थ्य इन्चार्जले वडा कार्यालय चलाएका छन् । उनीहरुले पञ्जिकरणको काम गर्छन् । दर्तालगायत काम कार्यालय सहायकले गर्छन् । पालिकाका कर्मचारीहरु छिटोछिटो सरुवा हुँदा नागरिकलाई समस्या हुने गरेको गुनासो छ । ‘योजना पर्दा एउटा हाकिम हुन्छ । कार्यान्वयन गर्दा अर्को आइसक्छन् । फरफारक गर्दा झन् अर्को आउँछन्,’ स्थानीय शिक्षक श्यामबहादुर नेपालीले भने, ‘लेखाको कर्मचारी नभएर ३ महिनासम्म तलब रोकियो ।’
स्थानीय अगुवा विश्व गुरुङ भन्छन्, ‘५ वर्षमा ६ वटा प्रशासकीय अधिकृत फेरिए । यसको कारण के हो ? कर्मचारी किन टिक्न सक्दैनन् भनेर पालिकाले खोजी गरेन ।’ गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा नागरिकले कर्मचारी अभावका कारण विकास निर्माण र सेवा प्रवाहका काममा समस्या परेको बताए ।

पालिकाका कर्मचारीहरु छिटोछिटो सरुवा हुँदा नागरिकलाई समस्या

गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङ पालिकाले खोजेको कर्मचारी पाउन नसकेको बताउँछन् । ‘कर्मचारी पठाउँछ, कोही उमेर ढल्किसकेका । कोही कम्प्युटर छुनै नजान्ने । त्यस्ता कर्मचारी लिएर मैले मेरो पालिका कसरी चलाउने ?,’ उनले भने, ‘बरु राम्रो गर्ने थोरै भए पनि रातारात काम गराउँछु । त्यसैले ठिक हुन्छ ।’
कार्यक्रमका सहभागीहरुले अनुदानमा राजनीतिक विभेद गर्ने र आफ्ना आसेपासेलाई मात्रै अनुदान दिने गरेको, भूकम्पका घर निर्माणमा सहयोग नगरेको, शिक्षा क्षेत्रलाई बेवास्ता गरेको, योजना अनुगमन हुन नसकेकोलगायत गुनासो गरे । जवाफमा उपाध्यक्ष फूलमाया गुरुङले अनुगमनका लागि समिति बने पनि समितिले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरिन् । ‘अनुगमन समिति छ । तर कागजमै मात्र सीमित भयो,’ उनी भन्छिन्, ‘अहिले प्रविधिको माध्यमबाट अनुगमनलाई बिस्तारै राम्रो बनाउँदै छौं । तर सोचे जति हुन सकेको छैन ।’
पालिकाले आन्तरिक आम्दानीको खोजी गर्न नसकेको, स्थानीय संस्कार संरक्षणमा चासो नदिएको जस्ता गुनासो पनि गरे । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुलबहादुर आलेले सीमित स्रोतबाट अपेक्षा पूरा गर्न नसके पनि केही राम्रा अभ्यास गरिरहेको बताए । उनले सबै नागरिकलाई समान सुविधा दिन आफूहरु प्रतिबद्ध रहेको बताए । अध्यक्ष गुरुङले अहिले देखिएका समस्या समाधान गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width