निर्माण व्यवसायी संघको सहकोषाध्यक्षमा भट्टराईको उम्मदेवारी

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७८
Nirman Bebasai News

लेखनाथ । लेखनाथका युवा व्यवसायी ध्रुव भट्टराईले निर्माण व्यवसायी संघ कास्कीको सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । संघको चैत ११ र १२ गते पोखरामा २८ औं साधारण सभा तथा १५ औं अधिवेशन हुँदै छ । अधिवेशनको निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबि सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
निर्माण व्यवसायीहरु पनि लोकतान्त्रिक र प्रगतिशील गरी २ खेमामा विभाजित छन् । लोकतान्त्रिक खेमाबाट लीलकाजी गुरुङ र प्रगतिशील समूहबाट रामराज अधिकारीको नेतृत्वमा चुनावी मैदानमा उत्रिन लागेका हुन् ।
यसअघिको निर्वाचनमा कार्यसमितिको सदस्यमा सर्वाधिक मत ल्याएर विजयी भएका भट्टराईले यसपटक सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । आइडी कन्स्ट्रक्सनका सञ्चालक रहेका भट्टराईले निर्माण व्यवसायीहरुका साझा समस्यालाई चुनावी मुद्दा बनाएका छन् । उनले निर्माण व्यवसायीहरुले सरकारी ठेक्कापट्टाका काम समयमा सम्पन्न गर्दासमेत भुक्तानीमा समस्या भोग्दै आइरहेको बताए ।
समयमा काम सम्पन्न भए पनि लामो समयसम्म भुक्तानी नपाउँदा व्यवसायीहरु मर्कामा परेको, अनियन्त्रित मूल्यवृद्धिले आयोजनाको लागत बढ्न जाँदा व्यवसायीहरु मर्कामा परेको, बैंक ग्यारेन्टीमा समस्या देखिएकाले त्यसको सुधारका लागि र आवाज उठाउन आफूले सहकोषाध्यक्षमा उम्मेदवारी दिएको भट्टराईले बताए ।
भट्टराईले लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा पनि लोकप्रिय मतका साथ सदस्य पदमा विजयी भएका थिए । पोखरा र लेखनाथका आधा दर्जन संघसंस्थामा भट्टराईको संलग्नता रहेको छ ।
अध्यक्षसहित ७ पदाधिकारी र ५ सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । निर्माण व्यवसायी संघ कास्कीमा ४ सय ६१ जना सदस्यहरु आबद्ध रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width