पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : काम सकिनै लाग्दा स्थानीयका मुद्दा यथावत्

धनबहादुर गुरुङ
चैत्र ३, २०७८
Pokhara airport

फाइल तस्बिर

पोखरा । चिनियाँ सरकारको झण्डै ३० अर्ब ऋण सहयोगमा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ । ल्यान्डफिल साइट निर्माण र पूर्वतिरको रिठेडाँडाको कटानमा ढिलाइ भइरहेको छ । नागरिक उड्डयन प्राधिकरण पोखराले विमानस्थलको प्रमाणीकरणका लागि आसयपत्र समेत पठाइसकेको छ । केही महिनाअघि विमानस्थल बाहिरका समस्याबारे सूची बनाएर तीन वटै सरकारलाई थमाइएको छ तर अहिलेसम्म ती समस्याबारे कुनै निकास निस्किएको छैन ।
विमानस्थलका मुख्य समस्यामध्ये तत्कालै ल्याण्डफिल साइट हटाउनुपर्छ । विमानस्थलको उडान रुटमा पर्ने पोखराको ल्याण्डफिल हटाउन ३ वर्षदेखि पत्र आदानप्रदान भइरहेको छ तर पोखराले नयाँ जग्गा खोज्न सकेको छैन । पोखरा १४ का स्थानीय भने विमानस्थलले आफ्ना माग पूरा गर्न नसकेको बताइरहेका छन् । विमानस्थल बनाउँदा ४ हजार १ सय रोपनी जग्गा दिएका स्थानीयवासी सिंचाइ, विकास निर्माण, स्थानीयलाई रोजगार लगायतका विषयमा अझै अन्यौल रहेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जनसरोकार समितिका सदस्य बोधराज कार्कीले जानकारी दिए । पटक पटक गरिएको सम्झौता ९३ प्रतिशत निर्माण सकिंदासम्म पनि कुनै पनि बुँदाको काम सुरु नभएकाले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । ‘उत्तरपट्टि रहेको १ हजार रोपनी जमिनमा सिंचाइको अभाव छ,’ उनले भने, ‘एअरपोर्टलाई भन्यो एअरपोर्टले हेर्दैन । सिंचाइलाई भन्यो उसले पनि वास्ता गर्दैन ।’ विमानस्थल बनाउँदा नै ५ वटा कुलो बराबर ३ वटा कुलो दिने गरी डिपिआर बनाए पनि अहिलेसम्म नदिएको उनको भनाइ थियो । जसले गर्दा स्थानीयका जग्गा बाँझै राख्नुपर्ने बाध्यता रहेको उनले सुनाए । उचित सिंचाइका व्यवस्था नभएका कारण स्थानीयले बाढीको समस्यामा पनि झेल्नु परेको छ । सम्झौता कार्यान्वयन नगरेको भन्दै सरोकार समितिले उच्च अदालतमा मुद्दा हाल्दा कास्कीका प्रमुख जिल्ला अधिकारीको समन्वयनमा समस्या समाधान गर्न निर्देशन दिएको थियो ।

माग पूरा नभएकोले स्थानीय जनता पर्ख र हेरको स्थितिमा छन्

उच्च अदालतले निर्देशन दिंदा पनि सम्झौता कार्यान्वयन नभएको उनले बताए । समितिले स्थानीयको माग कार्यान्वयन गर्न पटक–पटक ध्यानाकर्षण गरेको थियो । ‘हामीले यसभन्दा अघिको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अहिलेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सामु ध्यानाकर्षण गराएका थियौं,’ उनले भने, ‘उनीहरुले आश्वासन त दिए तर बिडम्बना काम भएको छैन । स्थानीय जनता पर्ख र हेरको स्थितिमा छन् ।’ ताकेदा गर्दा गर्दै पनि काम नभएमा कुनै पनि समयमा एअरपोर्ट सञ्चालन हुन नदिने कार्कीले जानकारी दिए ।
अहिले विमानस्थलमा डेकोरेसन, फिनिसिङ र भलपानी, बाढी व्यवस्थापनको काम भइहेको छ । उडान सञ्चालनका लागि प्रदेश सरकारले नागरिक उड्डयन प्राधिकरणसँग मिलेर नेपालमा उडान भरिरहेका हवाइ कम्पनीसँग छलफलको आयोजना गर्दै छ । मुख्यमन्त्री पोखरेलले विमानस्थल छिटो सञ्चालनका लागि विशेष चासो देखाएका छन् । उनले अहिलेको ल्यान्डफिल साइट एअरपोर्टको नजिकै रहेको र यसको विकल्प नखोजेसम्म उडान सुरु गर्न नसकिने भएकाले यसतर्फ तुरुन्तै काम थाल्न पोखरा महानगरपालिकालाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री पोखरेलले रिठेपानी डाँडाको कटान र पोखराको सुन्दरतामा समेत विषेश ध्यान पु¥याउनुपर्नेमा जोड दिए । उनले भने, ‘सब काम पोखरा महानगरले मात्र गर्नुपर्छ भन्ने होइन, हामी संघ सरकारसँग पनि समन्वय गर्छौ तर यसको जिम्मेवारी त महानगरकै हो नि ।’ बरु यसमा प्रदेश सरकारले के सहयोग गर्नुपर्छ त्यसका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
यता, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जनसरोकार समितिले भने सबै तयारी गरिरहँदा स्थानीयको माग सम्बोधनबारे छलफल नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । आफूहरुको माग र भएका सम्झौता कार्यान्वयन गर्न सरोकारवालाले ध्यान दिनुपर्ने उनीहरुको माग छ ।

Related News

सम्बन्धित समाचार

hero news full width