मन्त्री थापाको सहयोगमा निशुल्क स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७८
Bindukumar thapas

पोखरा । गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाको आर्थिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर भएको छ । पोखरा महानगरपालिका वडा नं ११ रानीपौवास्थित मागदर्शन महिला समूहले आयोजना गरेको महिलाहरुको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण भएको हो । कार्यक्रमबाट १ सय ६१ जनाले सेवा लिएका छन् ।
मन्त्री थापाले गण्डकी प्रदेश सभा सदस्य (सांसद) हुँदादेखि नै आफूले पाउने तलब, भत्ता बापतको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएका थिए । मन्त्री भएपश्चात् पनि सो क्रम जारी छ । कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री थापाले आफू नागरिकको समस्यामा सधैं साथमा रहेको उल्लेख गरे । नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने सवालमा आफू सधैं प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
‘नागरिकको सबै भन्दा महत्वपूर्ण आधारभूत आवश्यकत्ता भनेकै स्वास्थ्य हो । मानिस स्वस्थ रहे नै अन्य क्रियाकलापमा अगाडि बढ्न सक्छ । समाज विकासको आधार हो स्वास्थ्य क्षेत्र । आज आफूले प्रदेश सरकारबाट पाउने तलब, भत्ता बापतको रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने ।
मन्त्री थापाले आफूले निम्न आयस्तर भएका महिलाहरुलाई लक्षित गर्दै उक्त कार्यक्रमको आयोजना गरेको बताए । उनले गण्डकी सरकारले पनि क्यान्सर तथा पाठेघर मुखको क्यान्सरबाट पीडित महिलालाई उपचारका लागि सहयोग गर्दै आएको उल्लेख गरे । उनले संघ सरकारले १ लाख र प्रदेश सरकारबाट ५० हजार क्यान्सर उपचारका लागि उपलब्ध गराउँदै आएको सुनाए । मन्त्री थापाले आगामी दिनमा समेत यस्ता कार्यक्रमको निरन्तरताको कामना गरे ।
पोखरा ११ का अध्यक्ष मोहन बास्तोलाले मार्गदर्शन महिला समूह समाजका लागि उदाहरण बनेको बताए । न्यून आयस्तर भएका महिलाहरुका लागि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने आवश्यकतालाई औंल्याए । वडाले समेत स्वास्थ्य क्षेत्रमा समाजका विभिन्न सामाजिक संस्थासँग समन्वय गरी काम गर्ने बताए । अंशु शेर्पाको संयोजनामा भएको कार्यक्रममा नेपाली काग्रेस पोखरा ११ का सभापति हरिप्रसाद बास्तोला, स्थानीय समाजसेवी प्रेम कर्माचार्य लगायत उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width