‘पत्रकारिता पूर्वाग्रही नभै आलोचनात्मक हुनुपर्छ’

आदर्श समाज सम्वाददाता
फागुन १९, २०७८
fonij~

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता पूर्वाग्रही नभई आलोचनात्मक हुनुपर्ने बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीको बुधबार दोस्रो प्रादेशिक महाधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन् । उनले आलोचनात्मक पत्रकारिताले सरकारलाई सुध्रिने मौका दिने भएकोले राज्यको चौथो अंग निष्पक्ष र व्यावसायिक बन्नुपर्ने सुझाव दिए । उनले भने, ‘जस्तो प्रतिपक्षी त्यस्तै पत्रकारिता हुनुपर्छ । वाचडगको रुपमा काम गर्नुपर्छ । यसबाट सरकारलाई सुध्रिने मौका मिल्छ ।’ उनले गण्डकीमा ६ जिल्लाका पत्रकार महासंघको भवन निर्माणमा प्रदेश सरकारले आर्थिक सहयोग गरेको जानकारी दिए । उनले आगामी दिनमा पनि पत्रकारसँग मिलेर काम गर्ने बताए । उनले गण्डकीको संचार विधेयकबारे संसदमा पर्याप्त छलफल गरेर संविधान अनुकुल बनाइने विश्वास दिलाए ।
गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले प्रदेश सरकारले फोनिजलाई विनियोजन गरेको रकम सदुपयोग भएको उल्लेख गर्दै आगामी दिनमा संस्थाको अझ सफलताको कामना गरे ।
गण्डकी प्रदेश सदस्य मीना गुरुङले आफू पहिलेदेखि नै फोनिजमा रहेको उल्लेख गर्दै यसको हकहितको लागि सक्दो सहयोग गर्दै आएको बताइन् ।
गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्रालयका सचिव धर्मराज कुइँकेल, फोनिजका संघीय समिति अध्यक्ष डण्ड गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष नारायण शर्मा, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी अध्यक्ष खेम पुन मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको गण्डकी अध्यक्ष दिलु गुरुङ, नेपाल प्रेस युनियन गण्डकीका संयोजक टंकराज अधिकारी, प्रेस चौतारी नेपाल गण्डकी अध्यक्ष सुष्मा पौडेल, प्रेस सेन्टर गण्डकीका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेय, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष रामकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
फोनिज गण्डकी उपाध्यक्ष दिल श्रीषले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन महासचिव रुद्र श्रीषले गरेका थिए । फोनिज गण्डकीको प्रादेशिक महाधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित हुनेछ । निर्वाचन संयोजकमा अधिवक्ता सुरेन्द्र थापामगर, सदस्यमा दीपेन्द्र श्रेष्ठ र शान्ति गुरुङ छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै