चुनाव नजिकिँदा नेतृत्वमा महिलाको चासो

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७८
woman leadership (1)

पोखरा । गणतन्त्र स्थापनापछि भएको स्थानीय तहको पहिलो चुनावमा महिला उपमै सीमित गरिए । मेयर र अध्यक्षमा चुनिने महिला औंलामै गन्न सकिने छन् । देश फेरि स्थानीय चुनावको संघारमा छ ।
यही परिवेशलाई दृष्टिगत गर्दै नारी जागरण अभियान गण्डकीले ‘नेतृत्वमा महिला’ अभियान चलाउने भएको छ । सोमबार भएको छलफलले अभियान चलाउने निर्णय गरेको हो । २० गते बागलुङमा औपचारिक कार्यक्रम गरी अभियान सुरु हुने संयोजक अञ्जु केसीले जानकारी दिइन् । छलफलका सहभागीले यो अभियान राजनीतिदेखि समाजका सबै क्षेत्रमा जरुरी भएकाले आफूहरु सक्रियतापूर्वक यसमा लाग्ने प्रतिबद्धता गरेका थिए ।
अभियानअन्तर्गत नेतृत्वमा महिलालाई स्थापित गर्न माग गर्दै प्रधानमन्त्री, राष्ट्रपति र प्रमुख दलका प्रमुखहरुलाई ज्ञापनपत्र बुझाइनेछ । पहिलो चरणमा गण्डकी प्रदेशका जिल्लामा यसबारे कार्यक्रम गरिने केसीले बताइन् । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा नेतृत्वमा महिलाबारे अन्तरसंवाद गर्ने संस्थाको तयारी छ । केसीले भनिन्, ‘टोलदेखि देशको नेतृत्व तहसम्मै महिलालाई किनारामा पारिएको छ । अहिले राष्ट्र प्रमुख महिला हुनुहुन्छ, त्यति नै पर्याप्त होइन । कार्यकारी प्रधानमन्त्रीमा खोइ त अहिलेसम्म महिला ? नेतृत्वमा महिलाको सन्तोषजनक सहभागिता नभएसम्म यो अभियानको अर्थ रहन्छ ।’
नारी जागरण अभियानले बेला बेलामा विभिन्न अभियान चलाउँदै आएको छ । भड्किलो मुक्त तीज अभियान, विभिन्न चाडपर्वका विकृति रोक्न सचेतना अभियान, अन्यायमा परेका महिलाको अधिकारका लागि वकालत गर्दै आएको संस्थाले कोभिड महामारी सुरु भएपछि मास्क र पिपिई तयार गरी वितरण गर्ने अभियानसमेत गरेको थियो । अभियानले आर्थिक समस्यामा रहेका छात्राहरुलाई अध्ययनका लागि सहयोगसमेत गर्ने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै