‘गण्डकीका अस्पतालमा अब बायोमेडिकल इन्जिनियर’

आदर्श समाज सम्वाददाता
माघ २९, २०७८
health~

पोखरा । गण्डकी प्रदेशकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गण्डकी प्रदेशका अस्पतालहरुमा बायोमेडिकल इन्जिनियरको व्यवस्था गर्ने तयारी थालेको छ । मन्त्रालयले स्वास्थ्य नीति जारी गरेसँगै त्यसभित्रका विषयलाई कार्यान्वयनमा लैजाने स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले बताइन् । उनले अस्पताल भवन र अस्पतालका उपकरणमा मात्र जोड दिने तर उपकरण बिग्रिएपछि मर्मत गर्न वर्षाै लाग्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिइन् ।
पोखरामा ट्रमा केयर तालिम उदघाटनपछि उनले गुणस्तरीय सेवाका लागि भएका उपकरण राम्रो अवस्थामा राख्न दक्ष जनशक्तिको आवश्यक मन्त्रालयले महसुस गरेकाले सोहीअनुसार अघि बढिने बताइन् । ‘स्वास्थ्य आम मानिसको पहुँचमा पुग्ने स्वास्थ्य नीति बनाइएको छ, अब त्यसैअनुसार काम अगाडि बढ्छ,’ उनले भनिन् । कोरोना संक्रमणको समयमा राज्यले स्वास्थ्यमा लगानी गरेपछि त्यो लगानीलाई दीर्घकालीन बनाउन उजुरी रहेको उनको भनाइ थियो । प्रदेशका विभिन्न स्थानमा रहेका अक्सिजन प्लान्ट अहिले प्रयोगविहीन बनेको आफूलाई जानकारी आएको भन्दै उनले निर्माण मात्र नभई त्यसको दीर्घकालीन उपयोगिता महत्वपूर्ण भएको उल्लेख गरिन् ।
मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले आजको अवस्थामा पहाडी इलाकामा ट्रमाको महत्व झन् बढेको बताए । तालिम उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्य ढकालले निशुल्क रगत प्राप्त गर्ने व्यवस्था आम नागरिकका लागि ऐतिहासिक महत्वको निर्णय भएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width