दोर्दी–१ जलविद्युत : नयाँ वर्षमा बिजुली

आदर्श समाज सम्वाददाता
माघ २९, २०७८
Dordi 1 A

लमजुङ । दोर्दी करिडोरमा निर्माणाधीन दोर्दी–१ जलविद्युत आयोजनाले आगामी नयाँ वर्ष २०७९ मा विद्युत उत्पादन थाल्ने भएको छ । आयोजनाको सम्पूर्ण निर्माण सम्पन्न भई परीक्षण कार्य सुरु भएको आयोजनाले जनाएको छ । १२ मेगावाट क्षमताको सो आयोजना १ वर्ष ढिला गरी सम्पन्न हुन लागेको हो ।
विद्युत आयोजनाको सिभिल संरचनाको काम सकिएको र परीक्षणको काम सुरु भएको आयोजनाका प्रमुख उज्वल सिलवालले बताए । उनका अनुसार आयोजनाको हेडवर्स, पावर हाउस, पेनस्टक, सुरुङ लगायत सबैको परीक्षण कार्य चलिरहेको छ । आयोजनामा २.५ किमी मुख्य सुरुङ निर्माणका साथै ७ सय १५ मिटर लामो पेनस्टक पाइप जडान गरिएको छ ।
२०७४ चैतदेखि सुरु आयोजनाको गत वर्षको चेत मसान्तमा उत्पादन गर्ने लक्ष्य थियो । कोरोनाका अलावा गत असारमा आएको बाढीपहिरोले पनि आयोजनामा क्षति पुग्दा उत्पादन तालिका पछि सर्दै आएको हो ।
आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा ५ बैंकले ऋण लगानी गरेका छन् ।
सो आयोजनाबाट उत्पादित विद्युत दोर्दी कोरिडोरमा निर्माण गरिएको १ सय ३२ केभी प्रसारण लाइनको कीर्तिपुर सब स्टेसनमा ल्याएर जोड्ने योजना छ ।

निर्धारित समयमै आयोजनाको नसकिंदा लागत बढेर साढे २ अर्ब पुग्ने अनुमान छ

सब स्टेसनसम्मको आवश्यक ३.५ किमी लामो प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गरिसकेको छ । प्रसारण लाइनका लागि आवश्यक १५ वटा टावर जडान गर्नु परेको कम्पनीले जनाएको छ ।
निर्माण थालनी गर्दा उक्त आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान थियो । तर निर्माण अवधि लम्बिएसँगै लागत पनि बढेको जलविद्युत आयोजनाको प्रबन्ध निर्देशक उज्वल सिलवालले बताए । ‘करिब ३० करोड लागत बढ्ने अनुमान गरिएको छ,’ उनले भने । उक्त आयोजनाको निर्माणमा सानिमा बैंकको अगुवाइमा ५ बैंकले ऋण लगानी गरेका छन् । अन्य बैंकमा लक्ष्मी बैंक, कृषि विकास बैंक, महालक्ष्मी बिकास बैंक, कैलाश विकास बैंक हुन् । आयोजनामा लमजुङ विद्युत विकास कम्पनी (लेड्को) र पब्लिक सेयरबाट संकलित रकमको लगानी गरेको छ ।
पानीको बहावमा आधारित आयोजनाको दोर्दी ६, ढोडेनीस्थित मालेबगरमा बाँध बाँधिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width