जीवनोपयोगी सीप सिक्दै युवा

आदर्श समाज सम्वाददाता
माघ २८, २०७८
lamjug youth~main

लमजुङ । समाजमा धेरै मानिस अरुलाई बदल्छु भन्दै हिड्ने तर आफू भने टसको मस नहुने भेटिन्छन् । तर यहाँका केही युवा आफू सहजै बदलिएर समाज रुपान्तरणमा प्रतिबद्ध छन् ।
‘किशोरकिशोरीको समग्र विकासका लागि रुपान्तरण जीवनोपयोगी सीप तथा आत्मरक्षा प्रशिक्षक प्रशिक्षण’ मा सहभागी युवाले बिहीबार यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
१० दिनसम्म चल्ने सो तालिमको छैटौं दिनमा आइपुग्दा उनीहरुले भनेका छन्, ‘हालसम्मको सिकाइबाट पनि आफूमा परिवर्तन आएको महसुस भएको छ ।’
उनीहरू हरेक दिन बिहान ७ देखि साँझ ७ बजेसम्म नियमित खटिएर जीवनोपयोगी सीप सिकिरहेका छन् । सीप सिक्न पाएकोमा गौरवको बोध गरेका छन् । कथंकदाचित यो तालिम छुटेको भए जीवनमा सिक्नु पर्ने धेरै विषय छुट्ने अनुभव उनीहरुले सुनाए ।
बेसीसहर ११, चितिका रवीन्द्र नेपालीले प्रशिक्षणको अनुभव सुनाउँदै आफूमा धेरै परिवर्तन आएको बताए । उनले आफूले जीवनको महत्व बुझेको, बढी अनुशासित भएको, यसअघि साथीहरूसँग खासै घुलमिल नहुने स्वभाव रहेकोमा अब भने जतिबेला पनि हाँसेर बोल्न सक्ने सीपको विकास भएको, एकलभन्दा सामूहिक निर्णयबाट गरिएको काम फलदायी हुने विश्वास जागृत भएको बताए ।
अर्का सहभागी सुन्दरबजार ९ की पवित्रा भुजेलले आफ्नो रिसाउने हटेको सुनाइन् । साथीहरूसँग समेत खासै नखुल्ने बानी रहेकोमा अहिले खुलेरै आपसमा धेरै कुराको सेयर गर्ने भएको बताइन् । उनले भनिन्, ‘प्रशिक्षणमा भाग लिन पाएकोमा गौरवबोध भएको छ । तालिम थप १० दिन थपिए हुन्थ्यो भन्ने लागेको छ ।’

चितिका रवीन्द्र नेपालीले प्रशिक्षणको अनुभव सुनाउँदै आफूमा धेरै परिवर्तन आएको बताए

प्रमुख प्रशिक्षक गल्र्स किड्स नेपालका अध्यक्ष नीरज न्यौपानेले सहभागीको उत्सुकता एवं सिक्ने लगावले आफूसमेत उत्साहित बनाएको बताउँछन् । उनले सहभागीहरू दैनिक १२ घण्टासम्म खटिन्छन् । उनीहरुको उत्साहले मेरो पनि थकाइ, भोक, निद्रा समेत कमी भएको छ ।’
हामीले किशोरकिशोरीका लागि आत्मरक्षासहित जीवनोपयोगी सीपका लागि प्रशिक्षक तयार गर्ने उद्देश्यले यो तालिमको विषयवस्तु तयार गरिएको प्रशिक्षक विद्या बिष्टले बताइन् ।
अर्का प्रशिक्षक कुशुम केसीले प्रशिक्षणका मुख्य १० विषय रहेको बताइन् । उनका अनुसार ती विषयमा आत्मजागरण, सिर्जनात्मक चिन्तन, तनाव व्यवस्थापन, भावना व्यवस्थापन, निर्णय सीप, समस्या समाधान, सहानुभूति, समालोचक चिन्तन, प्रभावकारी सञ्चार र अन्तरवयक्तिक सम्बन्ध हुन् । स्कुलेजीवनमा बालक्लबको अध्यक्ष बनेर समाजलाई महिला र किशोरीमैत्री बनाउने अभियानको नेतृत्व गर्दै अभियानलाई मूर्तरुप दिन कुशल नेपाल, लमजुङको संस्थापक अध्यक्ष समेत रहेर क्रियाशील रहेकी प्रशिक्षक हुन्, केसी । उनले आफ्नो भोगाइ र जीवनमा देखे, सुनेको अनुभव आधारमा प्रशिक्षणको विषयवस्तुको छनोट गरिएको जानकारी दिए । प्रशिक्षणको मुख्य विषयमध्ये महिलाको प्रजनन् स्वास्थ्य र महिनावारी व्यवस्थापन समेत रहेको छ ।
किशोरकिशोरीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सामाजिक, आर्थिक, सांस्कृतिक र व्यक्तिगत परिचालन गर्ने सीप र क्षमताको विकास गर्न तालिमको आयोजना गरिएको तालिम संयोजक शोभा सापकोटाले बताइन् । तालिमलाई वल्र्ड भिजनको आर्थिक सहयो छ । प्रशिक्षणमा बेसीसहर र सुन्दरबजार नगरपालिकाका ८÷८ जना सहभागीमध्ये आधाजति महिला छन् ।
आरसिडिसीका कार्यक्रम व्यवस्थापक विश्वविनोद घिमिरेले हरेक किशोरकिशोरीमा यस्तो सीपको आवश्यकता रहेको बताउँछन् । उनले भने, ‘यस प्रशिक्षणबाट उत्पादन भएका प्रशिक्षकले भोलिका दिनमा आफ्नो गाउँमा फर्केपछि विद्यालय र समुदायमा ६ महिनासम्म हरेक हप्ता कम्तीमा एउटा कक्षा सञ्चालन गर्नु पर्ने नीति तय गरिएको छ ।’ भोलिका दिनमा उनीहरूलाई स्थानीय तह वा संघसंस्थाहरूले समेत उपयोग गर्न सक्छन् घिमिरेले उल्लेख गरे । तालिम फागुन २ मा सकिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width