आप्रवासी प्रोफाइल बनाउँदै वालिङ

तोलाकान्त बगाले
माघ २७, २०७८
waling ~

वालिङ । वालिङ नगरपालिकाले आप्रवासी प्रोफाइल तयारी थालेको छ । नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा वालिङ नगरपालिकाको आप्रवासी प्रोफाइल तयारीका लागि गणकलाई तालिम दिएर बुधबारबाट परिचालन गरेको हो ।
वालिङ नगरभित्रका नागरिक वैदेशिक रोजगारीमा गएका वा गएर फर्केकाको तथ्यांक संकलन गर्ने, उनीहरुमा रहेको सीप, योग्यता लगायत विवरण संकलन गरिने नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
‘वालिङका नागरिक वैदेशिक रोजगारीमा कति छन्, कति जना फर्किए, उनीहरुमा के कस्तो सीप छ वा बेरोजगार छन् यी सबै विवरण गणकले घरघरमै पुगेर संकलन गर्छन्,’ उनले भने, ‘इच्छुकको नामावली, सीप, क्षमता, योग्यतालाई रोजगार पोर्टल निर्माण गरी राख्ने छौं ।’
‘रोजगार पोर्टल’ मा इच्छुकको नामावली राखेसँगै उद्योग तथा कलकारखानालाई आवश्यक पर्दा कामदार चाहिएमा सहज र सुलभरुपमा उपलब्ध गराउन सकिने छ ।
‘वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाहरुको सीप, क्षमताको विवरण ‘रोजगार पोर्टल’ मा उल्लेख गरिन्छ,’ उनले भने, ‘सोही पोर्टलमा उद्योग तथा कलकारखानाले आवश्यक पर्ने जनशक्तिको पनि विवरण राखिने छ, जसले गर्दा कामदारले काम पाउने र उद्योगले कामदार पाउन सहज हुने छ ।’

तथ्यांक संकलनका लागि गणकलाई तालिम दिएर वडावडामा खटाइएको छ

तथ्यांक संकलनका लागि १४ वटै वडामा गणकहरु खटाइएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए । ‘एक महिनासम्म १७ जना गणकले गाउँ गाउँमा पुगेर विवरण संकलन गर्ने छन्,’ प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘वैदेशिक रोजगारीमा गएका वा फर्केका यहाँका नागरिकको अवस्थाबारे यथार्थ जानकारी भएसँगै यससम्बन्धी आगामी दिनमा नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयनमा सहजता हुने छ ।’
‘कोभो एप्स’ को प्रयोग गरेर गणकले डिजिटल प्रविधिबाट तथ्यांक संकलन गर्ने छन् । वैदेशिक रोजगारीमा गएका नागरिकले पठाउने रेमिट्यान्स र घरपरिवारले त्यसको प्रयोग के काममा गरेका छन् भन्ने विवरणसमेत गणकले घरघरमै पुगेर भर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।
गणकलाई २ दिनसम्म तालिम दिएर वडावडामा जिम्मेवारी दिएर पठाइएको सुरक्षित आप्रवासन परियोजना (सामी) स्याङ्जाका कार्यक्रम संयोजक एकनारायण सापकोटाले बताए । यसको यथार्थ र तथ्यपरक विवरण संकलनमा गणक घरघरमा गए–नगएको एप्समार्फत नै निगरानी गरिने उनले बताए । ‘गणकले एप्सको प्रयोग गरेर २ प्रकारबाट विवरण संकलन गर्नेछन्,’ उनले भने, ‘एउटा वैदेशिक रोजगारीमा गएर फिर्ता भएका व्यक्ति र अर्को वैदेशिक रोजगारीमा रहेकाको घर परिवारबाट फरकफरक विवरण संकलन हुनेछ ।’ वैदेशिक रोजगारीमा गएर फर्केका र वैदेशिक रोजगारीमा रहेकाहरुको परिवार लक्षित गरेर विवरण संकलन गरी डिजिटल प्रविधिमार्फत भर्ने तरिका सिकाएर पठाइएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width