दुर्घटना भएको भिरमा रेलिङ

आदर्श समाज सम्वाददाता
माघ २०, २०७८
ralling~

पोखरा । घान्द्रुकको कलाभिरमा लामा अमृत फाउन्डेसनले रेलिङ निर्माण गरेको छ । सम्भावित दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले करिब १ लाख ४५ हजारको लागतमा सो भिरमा रेलिङ बनाइएको हो ।
घान्द्रुकका स्थानीय होटल तथा पर्यटन व्यवसायी र देशविदेशमा रहेका दाताको सहयोगमा पक्की रेलिङ निर्माण गरिएको फाउन्डेसनका संस्थापक अमृत लामा गुरुङले बताए । सो स्थानमा असोज २५ मा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।
गुरुङले दुर्घटनापश्चात् नकारात्मक सन्देश प्रवाह भएको बताउँदै सो क्षेत्रमा सवार गर्दा सुरक्षित महसुस गराउन रेलिङ निर्माण गरेको बताए । ‘त्यो दुर्घटना अत्यन्तै दुखदायी बन्यो । पर्यटकमा पर्न गएको नराम्रो खबरपछि हामीले धुक्क महसुस गराउन रेलिङ निर्माण गरेका हौं’, उनले भने, ‘यतिमात्र नभएर यही क्षेत्रमा भएका ५ वटा घुम्तीमा ऐना पनि राखेका छौं । यसले यात्रा थप सुरक्षित बनाउन मद्दत पुर्‍याउँछ ।’
उनले सो संरचना निर्माण गर्न आर्थिक सहयोग गर्ने दातालाई धन्यवाद दिंदै घान्द्रुक यात्रामा सुरक्षित महसुस गर्न सकिने बताए । ‘त्यो घटनापछि गाउँले पनि हिड्न डराउथे । अहिले यो बनाइसकेपछि सबै ढुक्क बनेका छन्,’ गुरुङले भने ।
त्यसैगरी, प्हे ल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङले लामा फाउन्डेसनले सराकारत्मक सन्देश दिने कार्य गरेको भन्दै प्रशंसा गरे । ‘यो कार्यले सबैभन्दा त सकारात्मक सन्देश पुर्‍याएको छ । अब सहजै सवारीसाधन घान्द्रुक भित्रिन सक्छन्’, उनले भने, ‘अझ सरकारी पक्षले पनि थप जोखिम क्षेत्रमा यस्ता रेलिङहरु निर्माण गर्नुपर्छ ।’

सो स्थानमा असोज २५ मा जीप दुर्घटना हँुदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए

यसैबीच, भारत राजदूतावासको सहयोगमा सञ्चालित एम्बुलेन्सका चालक तथा रेलिङ निर्माण समिति संयोजक यामबहादुर गुरुङले सो क्षेत्रमा यात्रा गर्दा ढुक्क भएको बताएका छन् । उनले सो रेलिङ निर्माणको संयोजकको रुपमा काम गरेको बताउँदै रेलिङ निकै बलियो रहेको जानकारी दिए ।
‘करिब ८ दिन लगाएर यो काम सम्पन्न गरेका छौं,’ उनले भने, ‘यो माथि जति उठेको छ त्या भन्दा बढी नै जमिनमा पनि पिसिसी गरेर गाडेका छौ । यो बाटोमा गुड्ने सवारीलाई यसले सहजै रोक्न सक्छ । अब बल्ल ढुक्क भएका छौं ।’
गुरुङले सो सडक बिस्तार गर्दा आफू सचिव रहेको स्मरण गर्दै निजी स्रोतबाट सडक निर्माण गरेको बताए । सरकारको ३ लाख र स्थानीय समुदायको २ करोड लागतमा सडक बिस्तार गरेको बताउँदै भने, ‘यो बाटो यहीको गाउँलेले उठाएर खनेको हो । सरकारको त जम्मा ३ लाख मात्रै हो । त्यही कारणले पनि बाटोको ग्रेड अलि मिलेको छैन ।’ उनका अनुसार अहिले जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट २० लाख बजेट विनियोजन भएको छ । ‘अब ढलानको काम पनि छिटै हुन्छ । हामी तयारीमै छौं,’ गुरुङले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width