अनलाइन घरनक्सा पास प्रणालीबारे प्रशिक्षण

आदर्श समाज सम्वाददाता
माघ १९, २०७८

वालिङ । वालिङ नगरपालिकाले अनलाइन घरनक्सा पास प्रणालीबारे सरोकारवालालाई प्रशिक्षण दिएको छ ।
वालिङ नगरपालिकाको आयोजनामा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र आइटी एक्सपर्टको प्राविधिक सहयोगमा वालिङमा रहेका कन्सल्टेन्सीहरु, नगरपालिकाका प्राविधिक शाखा, घरनक्सा शाखा तथा सरोकारवाला शाखाका कर्मचारीलाई प्रशिक्षण प्रदान गरिएको हो । २ दिनसम्म चलेको कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले स्मार्ट सिटीको अवधारणाअनुरुप अगाडि बढेको वालिङ नगरपालिकाले अनलाइन सेवा अगाडि बढाउनेक्रममा घरनक्सा पास प्रणालीसम्बन्धी तालिम दिइएको बताए ।
नगर प्रमुख खाँणले आधुनिक प्रविधि प्रयोगमा जोड दिंदै यसको कार्यान्वयनमा सहजताका लागि घरनक्सा बनाउने नगरपालिका कार्यालयभित्रका इञ्जिनियर र बाहिरी कन्सल्टेन्सीमा आबद्ध इञ्जिनियरलाई सहभागी गराइएको बताए ।
‘घरनक्साका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई अनलाइन घरनक्सासम्बन्धी प्रणालीकाबारेमा तालिम दिएका छौं,’ नगर प्रमुख खाँणले भने, ‘उहाँहरुलाई अझै एकहप्ता यसको प्रयोगात्मक विधिकाबारेमा बुझ्न दिने, उहाँहरुलाई सूचिकृत गरेर अगाडि बढ्छौं ।’
यसको प्रयोगले कोही पनि सेवाग्राही नक्साको फाइल बोकेर कार्यालय धाइरहनु नपर्ने खाँणले दाबी गरे । प्रविधि प्रयोगले भ्रष्टाचारमा कमी हुने, कार्यालयमा आइरहनुपर्ने झन्झट नहुने र घरमै बसेर अनलाइनबाटै रकम भुक्तानी गर्न सकिने उनको भनाइ छ ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले सरोकारवाला पक्ष राखेर तालिम दिइएको र केही दिनपछि कार्यान्वयन चरणमा लगिने बताए । यसले सेवाग्राही तथा घरनिर्माणका क्षेत्रमा काम गर्ने कन्सल्टेन्सीलाई सहजता हुने उनले दाबी गरे ।
यो प्रणाली कार्यान्वयनमा ल्याउँदा नगरभित्रका सम्पूर्ण घरहरुको तथ्यांक डिजिटाइजेसन हुने, भूकम्प प्रतिरोधि घरहरु वा निर्माण कार्य मापदण्डअनुसार गर्न गराउन सहयोग पुग्ने, सेवाग्राहीले कन्सल्ेटन्ट वा इञ्जिनियरको सहयोगमा घरमै बसेर पनि प्रमाणपत्र प्राप्त हुने, पारदर्शीता हुने, छिटोछरितो र सहजरुपमा काम गर्न सकिने वालिङ नगरपालिकाका सूचना प्रविधि इ. प्रकाश अर्यालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width