अन्नपूर्णको बजेट साढे २ करोड

आदर्श समाज सम्वाददाता
माघ १९, २०७८
annapurna gaunsava~

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाले १४ औं अधिवेशनबाट चालु आर्थिक वर्षका लागि २ करोड ६५ लाख १२ हजार रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिका केन्द्र पोखरे बगरमा भएको गाउँसभाले गत आर्थिक वर्ष २०७७/७८ मा खर्च हुन बाँकी बजेटलाई वडास्तरका ३३ र पालिकास्तरका ३० वटा योजना तथा कार्यक्रमका लागि थप बजेट बाँडफाँड गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलका अनुसार गाउँपालिकाका ८ वटै वडालाई १२/१२ लाख रुपैयाँका दरले बजेट थप वितरण गरिएको छ । उनले बाँकी १ करोड ६९ लाख १५ हजार रुपैयाँ बजेट अधुरा योजनालाई पूर्णता दिन, साझेदारीका वडाबाट सिफारिस भएका योजनाहरुलाई वितरण गरिएको बताए ।
गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजा पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गरेको यसअघिको गाउँसभाबाट पारित भएका केही योजनाको नाम र बजेट संशोधन गर्ने प्रस्ताव छलफलपछि पारित भएको छ । यसअघिका १ सय ३० वटा योजना तथा कार्यक्रम छनोट भएकामा ३३ वटा सम्झौता छन् भने १ वटा सम्पन्न भएको छ । हालसम्म गाउँपालिकाको चालुतर्फ ३२ करोड ३० लाख ६० हजार रुपैयाँ बजेट भएकोमा ३१.२५ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ १० करोड ९ लाख ६४ हजार १ सय २३ रुपैयाँ बजेट विनियोजन भएकोमा ५.५८ प्रतिशत खर्च भएको छ । यस्तै, विपद कोषतर्फ १ करोड रुपैयाँमध्ये २४.०६ प्रतिशत खर्च भएको उपाध्यक्ष मगरले जानकारी दिइन् । ९० लाख ४० हजार रुपैयाँ राजस्व संकलन लक्ष्य लिएकोमा हालसम्म १५ लाख रुपैयाँ संकलन भएको छ ।

गाउँपालिकाले १४ औं गाउँसभाले चालु आर्थिक वर्षका लागि २ करोड ६५ लाख १२ हजार रुपैयाँ विनियोजन गरेको हो

नयाँ थपिएका योजनामा नारच्याङको प्रभा माविको छात्राबास भवन निर्माणको लागि २० लाख रुपैयाँ, दोवाको होजियारी भवन निर्माणको लागि १० लाख रुपैयाँ, घार दलित बस्ती भवन निर्माणको लागि १० लाख रुपैयाँ, राम्चे–घोडेपानी सडक निर्माणको लागि १० लाख रुपैयाँ, बाख्रापालन कार्यक्रमका लागि ७ लाख रुपैयाँ र झोलुंगे पुल निर्माणको लागि साझेदारी गर्न २० लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । बर्खा, राजनीतिक दलहरुको अधिवेशन, कोरोना कहरका कारण प्रभावित भएका योजाहरुलाई तीव्रता दिन गाउँपालिका अध्यक्ष गर्बुजा पुनले निर्देशन दिए । उपभोक्ताको सहजता र सुविधाको लागि ३ लाख रुपैयाँभन्दा कम बजेटका योजना तथा कार्यक्रमको सम्झौता वडाबाटै गर्ने व्यवस्था मिलाएको बताए ।
गाउँसभा सदस्य वीरबहादुर पौडेल, बुद्धि पुन, रवीन्द्र गर्बुजा पुन, रामबहादुर खड्का, टीका घटाने, हस्तबहादुर पुन, वडा १ का अध्यक्ष दिलीपकुमार पुन र वडा ७ का अध्यक्ष गमबहादुर फगामीले बोलेका थिए ।

११ जनामा कोरोना
गाउँसभा सुरु हुनुअघि जनप्रतिनिधि, कर्मचारी र समाचार संकलनका लागि गएका पत्रकारको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक समुन्द्र बरुवालका अनुसार ९ जना गाउँसभा सदस्य र २ जना कर्मचारी गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई आइसोलेसनमा पठाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width