‘सिक, कमाउ र तिर’

आदर्श समाज सम्वाददाता
माघ १९, २०७८
Rainas ~

लमजुङ । लमजुङमा मात्र ४५ हजारमा तीनवर्षे प्राविधिक शिक्षा दिइने भएको छ । राइनास– ८ मा सञ्चालित राइनास बहुप्राविधिक शिक्षालयबाट प्रवीणता प्रमाणपत्र तहको शिक्षा दिइने भएको हो ।
उक्त कार्यलाई स्थायित्व दिन त्यस शिक्षालय भवनको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले शिलान्यास गरेका छन् । राइनास–८, कसुण्डेचौरमा निर्माण गरिने भवनको मेयर थापाले भूमिपूजनका साथ वैदिक विधिपूर्वक शिलान्यास गरेका हुन् ।
उक्त शिक्षालयमा हाल कृषि विज्ञान र वन विज्ञानको प्रवीणता प्रमाणपत्र तहको तीन वर्षे अध्ययन कार्य सुरु गरिएको छ । शिक्षालयबाट वनका रेञ्जर र कृषिका जेटीहरू तयार हुन्छन् । त्यसका लागि ३ वर्षमा मात्र ४५ हजार रुपैयाँ खर्च हुने र त्यो पनि विद्यार्थीले त्यो अवधिमा त्यही कमाएर त्यो रकम आर्जन गर्न सक्ने गरी यहाँ पढाइने कोर्षको डिजाइन गरिएको उक्त शिक्षालयका प्रमुख ईश्वरी देवकोटाले बताए । उनले भने, ‘यहाँ म आउनुअघि ३ वर्षको शुल्क ६७ हजार निर्धारण गरिएको रहेछ । म आएपछि सबै खर्च सिटिइभिटीले बेहोर्ने भएपछि घटाउनु पर्छ भन्ने प्रस्ताव गरी ५० हजारमा झारिएको हो ।’
उनका अनुसार ५० हजारमध्ये ५ हजार धरौटी हो । विद्यार्थीले पास गरेर प्रमाणपत्र लिएर बिदा हुँदाको दिनमा त्यो फिर्ता पाउछन् । बाँकी ४५ हजारमा वार्षिक १५ हजार हुन्छ । जुन यहाँ विद्यार्थीले आफ्नो रुचिअनुसारको परियोजनामा यहीभित्र अध्ययनक्रममा काम गरेर आर्जन गर्न सक्छन् ।’ अभिभावकलाई बिनाभार विद्यार्थीले सीप सिक्ने र प्रमाणपत्र पाउने प्रमुख देवकोटाले जानकारी दिए ।

४५ हजारमा तीनवर्षे प्राविधिक शिक्षा पढाउने योजनासहित राइनास बहुप्राविधिक शिक्षालयको भवन शिलान्यास

देवकोटाका अनुसार सिटिइभिटीको नीति र उद्देश्य निम्न र मध्यमस्तरको जनशक्ति उत्पादन गर्ने हो । हाम्रो शिक्षालयको सिद्धान्त ‘सिक, कमाउ र तिर’ हो । त्यसैले यहाँ पढ्न आउने विद्यार्थीले आफै सीप सिक्छ, कमाउँछ र उसले पढ्दा यहाँ गरेको लगानी यही तिर्छ र अभिभावकलाई बिनाबोझ ऊ प्रमाणपत्र लिएर दक्ष बनेर निस्कन्छ । भोलिका दिनमा ऊ जहाँ पनि बिक्न सक्छ, टिक्न सक्छ ।
उक्त शिक्षालयमा यतिबेला वन संकायको पहिलो वर्ष र दोस्रो वर्षमा ३८÷३८ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । कृषितर्फ पूर्ण छात्रवृत्तिमा ४० र नियमिततर्फ २६ जना अध्ययन गरिरहेका छन् ।
राइनास बहुप्राविधिक शिक्षालयको हाता कुल १२५ रोपनी जग्गा क्षेत्रफलमा फैलिएको छ । सोही हातामा ३२ कोठे शैक्षिक भवन निर्माणको लागि शिलान्यास गरिएको हो । त्यस भवनको निर्माण खर्च पुरै सिटिइभिटीले बेहोर्ने गरी टेण्डर भई निर्माण थालिएको हो । उक्त भवन निर्माणको अवधि ठेक्का सम्झौता अनुसार एक वर्षको रहेको छ । ‘सिटिभिटीले सम्पूर्ण खर्च बेहोर्ने गर्ने गरी माथिबाटै टेण्डर गरी सम्झौता गरी आएको भवनको निर्माण लागत ४ करोड ३३ लाख रहेको छ,’ देवकोटाले भने ।
शिक्षालय सञ्चालनक्रममा २ वर्षदेखि वीरभक्ति मावि भवनमा वन विज्ञान र कृषि विज्ञान विषयको तीनवर्षे कोर्स सुरु भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width