स्याङ्जा अस्पतालमा अक्सिजन उत्पादन सुरु

आदर्श समाज सम्वाददाता
माघ १९, २०७८
Oxygen

स्याङ्जा । स्याङ्जा जिल्ला अस्पतालमा मंगलबारदेखि अक्सिजन प्लान्ट संचालनमा आएको छ । दैनिक ७५ वटा अक्सिजन सिलिन्डर भर्न सक्ने क्षमताका प्लान्ट ६ महिनामा तयार बनाइएको हो ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अक्सिजन प्लान्टको मंगलबार औपचारिक सुरुआत गरे । बुस्टर मसिन स्विच अन गर्दै प्रजिअ पौडेलले भने, ‘अक्सिजनका लागि जिल्ला आत्मनिर्भर बन्यो । अब अन्यत्र भरपर्नु पर्ने छैन ।’ बिजुलीका लागि नयाँ ट्रान्सफर्मरसहित अक्सिजन प्लान्ट संचालनमा आएको हो।
अस्पताल प्रमुख डा. रमेश आचार्यले अबदेखि अस्पतालमा अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताए । यहाँ उत्पादित अक्सिजनले स्याङ्जा जिल्लाभरको अक्सिजनको माग सहजै पूरा गर्न सक्ने उनको भनाइ छ । ‘अब यसको दिगोपनाको खाँचो छ,’ उनले भने ।

अक्सिजन खोज्न अब जिल्लाबाहिर जानु नपर्ने

संघीय सरकारको १ करोड ३६ लाखको लागतमा प्लान्ट निर्माण सम्पन्न भएको छ । सरकारले भदौमा अस्पतालमा अक्सिजन प्लान्टसहितका योजनाका लागि १ करोड ५० लाख छुट्टाएपछि असारदेखि यसका प्रक्रिया सुरु भएको अस्पताल व्यवस्थापन समिति पूर्व अध्यक्ष लोकराज शर्माले जानकारी दिए । भदौदेखि प्लान्ट निर्माण सुरु गरिएकोमा सबैको साथ र सहयोगले समयमै निर्माण सम्पन्न भएको उनले जनाए ।
अक्सिजन प्लान्ट १५ एनएमक्युब क्षमताको छ । प्रतिघण्टा १५ हजार लिटर अक्सिजन उत्पादन गर्छ । यसले १५ हजार लिटर प्रतिघण्टा अक्सिजन उत्पादन गर्ने र ८ हजार लिटर प्रतिघण्टा अक्सिजन भर्न सक्ने बायो मेडिकल इन्जिनियर सुदीप लामिछाने भन्छन् । उनका अनुसार भरिएको प्रतिसिलिन्डरमा ६ हजार ४ सय लिटर अक्सिजन हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width