राष्ट्रिय सभा उपचुनाव आज

गण्डकीबाट ३ पदमा मतदान हुँदै

आदर्श समाज सम्वाददाता
माघ १२, २०७८
upper house 3

पोखरा । राष्ट्रिय सभाको उपनिर्वाचन बुधबार हुँदैछ । निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । सबै प्रदेशका केन्द्रमा मतपत्र पुगिसकेको छ । राष्ट्रिय सभामा देशभरबाट १९ सिट रिक्त हुँदैछ । फागुन २० बाट रिक्त हुने उक्त पदका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा सबै प्रदेशबाट ४३ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुनेछ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसबाट ६, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ५/५, जनता समाजवादी पार्टी २ र राष्ट्रिय जनमोर्चाबाट १ जना चुनावी प्रस्तिपर्धामा छन् । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
गण्डकीमा ३ पदका लागि ६ जनाको मनोनयन दर्ता भएको छ । पुस २० मा गठबन्धनबाट ३ र एमालेका ३ उम्मेदवारले नाम दर्ता गराएका हुन् । गठबन्धनतर्फबाट महिलामा कांग्रेसनेतृ कमला पन्त, दलितमा भुवन सुनार र खुलामा सुरेश आलेमगरले उम्मेदवारी दिएका छन् । एमालेबाट खुलामा पुण्य पौडेल, महिलामा लीला थनेत र दलितमा अर्जुनकुमार सुनामले मनोनयन दर्ता गराएका छन् । उनीहरु ११ वटै जिल्लामा चुनावी प्रचार सकेर पोखरा फर्किएका छन् ।
बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । गण्डकीमा २ सय २९ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । सांसदको मतभार ४८ छ भने पालिकाका जनप्रतिनिधिको १८ मतभार रहने छ । गण्डकी प्रदेशमा एमाले एकातिर छ भने कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी अर्कोतिर छ । जनप्रतिनिधि र सांसदको हिसाब गर्दा गठबन्धनभन्दा एमाले ७ सय ४ मतभारले पछाडि छ ।
२७ सांसद रहेका एमालेको मतभार १ हजार २ सय ९६ हुन्छ । १५ सांसद रहेको कांग्रेससँग ७ सय २०, १२ जना सांसद रहेको माओवादीसँग ५ सय ७६ मतभार छ भने जनमोर्चा र जनता समाजवादीसँग ९६/९६ मतभार छ । स्थानीय तहतर्फ कांग्रेसका ८३ जनप्रतिनिधि छन् । उनीहरुको मतभार १ हजार ४ सय १८ हुन्छ । ६९ जना एमाले जनप्रतिनिधिको मतभार १ हजार २ सय ४२ छ भने १२ जना जनप्रतिनिधि रहेका माओवादीको मतभार २ सय १६ छ । यहाँ जनमोर्चाको ३ जनप्रतिनिधि र राप्रपाका २ जनप्रतिनिधि छन् । मतभार हिसाब गर्दा जनमोर्चाको ५४ र राप्रपाको ३६ हुन्छ ।

आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने

समग्रमा एमाले एक्लैसँग २ हजार ५ सय ३८ मतभार छ । कांग्रेससँग २ हजार १ सय ३८, माओवादीसँग ७ सय ९२ मतभार छ । जनमोर्चासँग १ सय ५०, जनता समाजवादीसँग ९६ र राप्रपासँग ३६ मतभार छ । स्वतन्त्र सांसद राजीव गुरुङ गठबन्धन सरकारको मन्त्री छन् । उनले गठबन्धनमै मतदान गर्ने दाबी गठबन्धनका नेताहरुको छ । यद्यपि उनले आफ्नो धारणा बोलेका छैनन् । स्थानीय तह र प्रदेशसभाका सांसदहरु पार्टीबाट निर्वाचित हुने भएकोले फरक पर्नेखालको नतिजा खासै आउँदैन । १/२ मत तलमाथि भए पनि त्यसले प्रभाव खासै राख्दैन । त्यसैले गण्डकीमा एमाले भन्दा गठबन्धन निकै बलियो देखिन्छ । यसअघि भने बाम गठबन्धन एकातिर हुँदा कांग्रेस एक्लै परेको थियो । २ वर्ष बिताएर बिदा भएका सुरेन्द्र पाण्डे र बृन्दा रानामगरको ठाउँमा कांग्रेस भर्सेज बाम गठबन्धन थियो । दुवै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।
अहिले माओवादीबाट निर्वाचित सांसद दीनानाथ शर्मा र खिमबहादुर विक तथा तत्कालीन एमाले (हाल एकीकृत समाजवादी) बाट निर्वाचित शान्तिकुमारी परियारको अवधि सकिएको छ । मतदानको विषयमा गण्डकीका राप्रपाबाट जितेका जनप्रतिनिधि दुईतिर छन् । बागलुङका उपमेयर सुरेन्द्र केसी पार्टी ह्वीप अनुसार नै मतदान नगर्ने बताउँछन् भने बेनी नगरकी उपमेयर सञ्जु बरुवाल मतदान गर्न प्रदेश राजधानी पोखरा आइसकेकी छिन् । ‘मतदान त अधिकार हो । मैले चुनाव एमालेकै सहयोगमा जितेको हुँ । अहिले एमालेलाई गाह्रो पर्दा साथ दिनुपर्‍यो,’ उनले भनिन्, ‘अहिले पार्टीले विज्ञप्ति निकालेर मतदान नगर्ने भनेको रहेछ । सोचिरहेको छु । अवस्था हेरेर निर्णय लिन्छु ।’ उनी आजभोलि पार्टी राजनीतिमा खासै सक्रिय छैनन् । केही समयअघि एमाले प्रवेश गर्ने होहल्ला समेत बाहिरिएको थियो । केसी भने बागलुङमै छन् । अरु सबै जनप्रतिनिधि र सांसदहरु मतदानका लागि आइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width