मुख्यमन्त्री पोखरेल– आइओएम मिसन प्रमुख भेट, विपद व्यवस्थापनका लागि सहकार्य गर्नुपर्नेमा जोड

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७८
cm talk wid IOM mission chief (2)

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) का नेपालस्थित मिसन प्रमुख लोरेना ल्यान्डोबीच मंगलबार मुख्यमन्त्री कार्यालयमा औपचारिक भेट भएको छ ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले विपदका कारण मुलुकभित्र बसाइँसराइँको समस्या बढेको बताए । जलवायु परिवर्तनकै कारण अहिले मनाङ र मुस्ताङमा वर्षा हुन थालेको र त्यसले ठूलो क्षति पु¥याएका कारण धेरै बस्तीहरु खतरामा रहेको उनले उल्लेख गरे । घरेलु हिंसाका कारण पनि कतिपय अवस्थामा घर छाडेर हिँड्नु पर्ने वाध्यता र बेरोजगारी समस्याका कारण लाखौं युवाहरु विदेशमा रहेको उनको भनाइ थियो । यी यावत समस्या कम गर्न आइओएमले गण्डकी प्रदेशमा पनि धेरै काम गर्दै आएको भन्दै मुख्यमन्त्री पोखरेलले आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

यो प्रदेश विपद्का दृष्टिबाट जोखिममा रहेको विभिन्न अध्ययनहरुले देखाएको र सरकारले विपद न्यूनीकरण र विपद् व्यवस्थापनमा काम गर्दै आएको जानकारी उनले गराए । विपदमा परेकोको उद्धार तथा सहयोग र पुनस्थापना लगायतका काम समेत हुँदै आएको उनको भनाइ थियो ।
तर विपद् आउन नदिने, विपद्को जोखिममा रहको क्षेत्रका वासिन्दालाई अन्यत्र सार्ने वा त्यसको उचित व्यवस्थापन गर्ने, विपद्ले ल्याएको क्षतिको लेखाजोखा गर्ने, विपद् पश्चात पुनस्थापना गर्ने कार्यलाई थप प्रभावकारी बनाउनु आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘विपद्को पूर्व सूचना प्रणाली स्थापना गर्ने, विपद् व्यवस्थापनको लागि बृहत योजना बनाउन सहकार्य गर्न जरुरुी छ, यस क्षेत्रमा प्रविधिको प्रयोग बढाउनु पर्नेछ ।’

साथै यस प्रदेशबाट विभिन्न मुलुकमा गएका हाम्रा नागरिकलाई कुनै अप्ठ्यारा परेमा तिनको उद्धार लगायतका कार्यमा सहयो गर्न र पर्यटक वा विभिन्न उद्देश्यका साथ यस प्रदेशमा आएका विदेशी नागरिकलाई कुनै अप्ठ्यारो परेमा स्वदेश फर्काउनसमेत आइओएमको सहयोग सहयोग रहने नै छ भन्ने विश्वास मुख्यमन्त्रीले व्यक्त गरे ।
उनले भने, ‘यस प्रदेशको अन्तर्राष्ट्रिय श्रम आप्रवासनको विवरण अध्यावधिक गर्ने, विप्रेषण परिचालनको योजना तथा कार्यक्रम बनाउने यस संस्थाको विज्ञता प्रयोग होस् भन्ने चाहन्छु ।’

उक्त अवसरमा मिसन प्रमुख लोरेना ल्यान्डोले विश्वव्यापी रुपमा आप्रवासीहरुको क्षेत्रमा काम गरेको आइओएमले नेपालको विपद व्यवस्थापन, राहत तथा उद्धारका क्षेत्रमा समेत सहयोग गर्दै आएको बताइन् । विपद व्यवस्थापनमा चुनौती के छन् र कसोगरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा ३ तहकै सरकारसँग मिलेर काम भइरहेको र आगमी दिनमा समेत यसले निरन्तरण पाउने उनले भनाइ राखिन् ।
बेरोजगारीका कारण हाल नेपालबाट ३५ लाख युवा मुलुक बाहिर रहनु भनेको ठूलो चुनौती हो भन्दै मिसन प्रमुख लोरेनाले समस्यामा परेकाहरुलाई फर्काउने र बाहिर सिकेको सीप स्वदेशमा प्रयोग गरी उद्यमशीलता बढाउन पनि आइओएमले सहयोग जारी राख्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रदेशले विपद व्यवस्थापन नियमावली जारी गरी त्यसै अनुसार समिति र परिषद् बनाएर प्रदेशमा काम हुँदै आएको जानकारी गराए । विपद व्यवस्थापनमा प्रदेश सरकारले खासगरी सुरक्षा निकायसँगै समन्वय गर्दै आएको उनले बताए । सुरक्षाकर्मीलाई तालिम र उद्धार सामग्रीको आवश्यकता रहेकाले आइओएमबाट उनले सहयोगको अपेक्षा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width