बस दुर्घटनामा चालकको मृत्यु, ९ घाइते

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७८
bus (2)

पोखरा, १४ मंसिर । भूपि शेरचन राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकामा रात्रि बस दुर्घटना भएको छ । दुर्घटनामा बस चालकको मृत्यु भएको छ भने ९ घाइते छन् ।

भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु १ ख ७७६६ नंं को रात्रि बस मंगलबार बिहान पौने ७ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ३, पाउँदुर घुम्तीमा दुर्घटना भएको हो । बस सडकबाट अन्दाजी ३० मिटर तल स्थानीय जुमकाजी बिकको गोठ, भान्सा र घरमाथि खस्न पुगेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउनेमा बस चालक पाल्पाका ४५ वर्षीय भूपेन्द्र भन्ने भूपनाथ खनाल छन् । उनलाई बसले च्यापेको अवस्थामा उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उनको बिहान ९ बजे मृत्यु भएको हो । दुर्घटनामा परी घाइते हुनेहरुमा घरधनी अन्नपूर्ण ३, पाउँदुरकी माया बिक समेत छिन् ।

यस्तै, बागलुङको बागलुङ नगरपालिका वडा ६, लहरेपीपलका २९ वर्षीय शिवराज शर्मा, बागलुङ ठूलढुंगाका ४८ वर्षीय कृष्ण खड्का, बागलुङ नगरपालिका वडा १४ बलेवाका २५ वर्षीय राजु श्रेष्ठ, उनको ८५ वर्षीय बाबु उमलाल श्रेष्ठ, बागलुङ नगरपालिका वडा २, आवारोडका ४२ वर्षीया सुवर्ण सापकोटा, पर्वतको फलेबास नगरपालिका वडा ४ का ३५ वर्षीय सूर्य तिवारी, चितवनको भरतपुर महानगरपालिका वडा ३ राम्जालीमार्ग बस्ने २३ वर्षीया साधना उपाध्याय छन् । उनीहरुमध्ये सूर्य तिवारी र साधना उपाध्यायको गण्डकी मेडिकल कलेज, नयाँबजार र बाँकी सबै घाइतेको गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोली र स्थानीयले उद्धारमा सहयोग गरेका थिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width