क्षेत्रीय छनोट क्रिकेट सुरु

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७८
cricket~2

पोखरा । वाईवाई यु–१९, गण्डकी प्रदेश क्षेत्रीय छनौट क्रिकेट प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा सुरु भएको छ । राउन्ड रोविन आधारमा ६ दिनसम्म चल्ने प्रतियोगितामा कास्कीसहित तनहुँ, नवलपुर र स्याङ्जाका गरी ४ टिमले भाग लिएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले स्याङ्जामाथि ३ विकेटको जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको स्याङ्जाले ३८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ३२ रन जोडेको थियो । स्याङ्जाका विष्णु पाण्डेले ३० तथा सुजन गौतमले १९ रनको पारी खेले । कास्कीका बलर अभिषेक थापा र किरण पौडेलले ३/ विकेट लिए । त्यस्तै सुवास भण्डारीले २ तथा देव साह र प्रमोद बास्तोलाले १/१ विकेट लिन सफल भए ।
जीतका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको कास्कीले ३० ओभरमा ७ विकेट गुमाएर जित हासिल गर्‍यो । कास्कीको तर्फबाट म्यान अफ द म्याच अर्जुन कुमालले ७० बलमा ६९ रनको महत्वपूर्ण योगदान दिए । उनको पारीमा ११ चौका सामिल थियो । त्यस्तै सुवास भण्डारीले १५ रन जोडे । स्याङ्जाको बलिङमा सन्दीप खत्रीले ३, करण पंगेनीले २ तथा टीकाराम गौतम र तुल्सीराम भण्डारीले १/१ विकेट लिए ।
यसअघि, व्याटिङ गरेर प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले नेपालले छोटो समयमै क्रिकेट खेलमा अन्तर्राष्ट्रिय सफलता हासिल गरेको भन्दै अन्य खेलको तुलनामा क्रिकेट खेलमै बढी सम्भावना देखिएको बताए ।

अन्य खेलको तुलनामा क्रिकेटमा बढी सम्भावना : मन्त्री खड्का

क्रिकेट विकासका लागि सरकारले भौतिक पूर्वाधारमा जोड दिनुपर्ने बताउँदै मन्त्री खड्काले गण्डकी प्रदेश सरकारले पनि खेलकुदलाई प्राथमिकतामा राखेको जनाए । आफू पनि क्रिकेट प्रेमी भएको बताउँदै यो खेलको विकासका लागि सक्दो प्रयास गर्ने उनको भनाइ थियो ।
उद्घाटन समारोहमा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले क्रिकेट खेलले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय गरिमा बढाएको भन्दै यसको विकासका लागि पूर्वाधारमा जोड दिनुपर्ने बताए । खेलाडीमा व्यावसायिकता नआइञ्जेल खेलले गति लिन नसक्ने उनको भनाइ थियो ।
सो अवसरमा क्षेत्रीय क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेन्सन प्रजुले छोटो तयारीमै यो प्रतियोगिता आयोजना गरिएको बताए ।
कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले सञ्चालन गरेको उद्घाटन समारोहमा नेपाल क्रिकेट संघका सदस्य ऋषिराम गौतम, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width