पर्यटकीय आकर्षण हुडिकोट चौतारो

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७८
bharatpokhari news

पोखरा । सिलिंगे महिला चेतना समूहको सक्रियतामा पुनर्निमित पोखरा ३३, भरतपोखरीको हुडिकोटस्थित २ सय वर्ष पुरानो चौतारो सोमबार उद्घाटन गरिएको छ ।
समूहको १५ औं वार्षिक साधारणसभा अवसरमा आयोजित विशेष समारोहकाबीच गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले चौतारो उद्घाटन गरेका हुन् । उनले प्राचीन सम्पदाको संरक्षण हामीहरूको दायित्व भएको बताउँदै समूहको सक्रियतामा २ शताव्दी पुरानो चौतारो जनस्तरको सहयोगबाट पुननिर्माण गरिनु प्रशंसनीय कार्य भएको बताए ।
नेपालका बाइसेचौबीसे राजाहरूको समयदेखि अस्तित्वमा आएको हुडिकोटसहित यस आसपासका कोटभैरव, देउराली लगायतका स्थानको पर्यटकीय सम्भावना उजागर गर्नका लागि मन्त्रालयबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
समूहका अध्यक्ष कर्णकुमारी महतले हुडिकोटको चौताराको ऐतिहासिक महत्व समेतलाई दृष्टिगत गरी १ लाख ५५ हजार ५ सय रुपैयाँ लागतमा जनस्तरको सहयोगबाट निर्माण गरिएको बताइन् । समूहकै सक्रियतामा मनियलडाँडाको चौताराका साथै ठाडाबारीमा प्रतिक्षालय निर्माण गरिएको र यहाँका पाण्डेबारी, सिलिङ्गेको चौतारा पनि पुननिर्माण गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।
वडा वडा सदस्य शोभा नेपालीले ऐतिहासिक चौतारा निर्माणसँगै विभिन्न सामाजिक काममा समूहले सकृयताका साथ काम गरिरहेको बताउँदै वडा भित्रका प्रत्येक सामाजिक काममा साथ र सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले पर्यटकीय रुपमा धेरै सम्भावना बोकेको हुडिकोट, मल्लकालिन कोटभैरव मन्दिर, देउराली मन्दिर आदिको प्रवद्र्धन गर्नु आवश्यक भएको बताए ।
पोखराको फेवाताल सहित लेखनाथका तालहरू, माछापुच्छ्रे लगायतका हिमाली दृश्य एकसाथ अवलोकन गर्न सकिने यस क्षेत्रको पर्यटकीय सम्भावना उजागर हुनु अपरिहार्य भएको उनले बताए । समूहका अध्यक्ष कर्णकुमारी महतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सरला महतले गरे भने सञ्चालन सचिव सीता केसी महतले गरेकी थिइन् । उक्त अवसरमा समाजसेवीहरू तीलक अधिकारी, पीताम्बर पौडेल, गुरुप्रसाद पौडेल, हरिराम पौडेल लगायतले समूहको सकृयता अनुकरणीय भएको बताए ।

२ सय वर्ष पुरानो पुनर्निमित चौतारो मन्त्री कँडेलले उद्घाटन गरेका हुन्

उक्त अवसरमा मन्त्री कँडेलले नवनिर्मित चौतारामा बरको बिरुवा रोप्नुका साथै ज्येष्ठ नागरिक तथा चौतारो निर्माणका सहयोगदातालाई सम्मान गरे । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका हिमशृङ््खला तथा सेती नदी, सात तालको बगैंचा भनेर चिनिने लेखनाथ सहितको बृहत् पोखरा महानगर एकसाथ देख्न सकिने रमणीय हुडिकोटमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पुग्ने क्रम बढिरहेको छ ।
उच्च पहाडी भू–भागमा रहेको यो ठाउँ सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि उपयुक्त गन्तव्य हो । यहाँबाट माछाच्छ्रे, अन्नपूर्ण हिमालदेखि लम्जुङ हिमालसम्मका रमणीय दृश्यलाई एक साथ नियाल्न सकन्छ । यहाँबाट कास्की, तनहुँ, लम्जुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत बागलुङ, म्याग्दी, स्याङ्जा जिल्लालगायत विभिन्न स्थान देखिन्छन् ।
पछिल्ला वर्षमा पोखराको बिरौटा हुँदै पोखरा महानगरका बसका साथै पोखराबाटै पावरहाउस, गगनगौंडा हुदै मनियल डाँडासम्म स्थानीय मिनि बस गरी दुबैतर्फ सार्वजनिक यातायात समेत सञ्चालनमा आउँदा पर्यटकलाई ठूलै राहत महसुस भएको छ ।
मनियलडाँडा बसपार्कबाट निजी सवारी साधन हुने व्यक्तिहरू सवारीसधन लिएरै हुडिकोटसम्म नै पुग्न सक्छन् भने नहुनेले करिब १५ मिनेट हिड्नुपर्छ । पछिल्ला वर्षमा पर्यटकहरू आउने क्रम बढेसँगै मनियलडाँडा बसपार्कका साथै हुडिकोटमा नै होटल तथा रेस्टुरेन्ट बन्ने क्रमले पनि गति लिएको छ । पर्यटकको बढ्दो आगमनलाई लक्षित गरी हुडिकोटमा स्थानीय युवाले हुडिकोट भ्यु प्वाइन्ट सेन्टर नामक होटेल सञ्चालनमा ल्याएका छन् । पृथ्वीराजमार्ग अन्तर्गतको पावरहाउस चोकबाट मुसेटुँडा, तिक्लाङ, भञ्ज्याङ, मालागिरि, चिलाउने, धारापानी, मनियलडाँडा, कोटभैरव हुँदै हुडिकोटसम्म हाइकिङ गर्न चाहनेले नौ किलोमिटर दूरी पार गर्नुपर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width