राजेन्द्र स्मृति ग्रन्थ लोकार्पण

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०७८
tarabhat news photo18

पोखरा । सामााजिक व्यक्तित्व एवं प्रजातन्त्रका सेनानी स्वर्गीय राजेन्द्रप्रसाद त्रिपाठीको स्मृतिमा प्रकाशित स्मृति ग्रन्थको पूर्व सभामूख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले लोकार्पण गरेका छन् ।
शैक्षिक, सामाजिक, राजनीतिक र विकासप्रेमी नेताका रुपमा छबि बनाएका राजेन्द्रप्रसादको ८३ वर्षको उमेरमा २०७७ वैशाख ३० गते निधन भएको थियो । स्व. त्रिपाठीले गरेको संघर्ष राजनीतिक एवं सामाजिक कार्यहरुको इतिहास जीवन्त राख्न सममाजसेवी ऋषिराम त्रिपाठीको संयोजकत्वमा स्मृति ग्रन्थ प्रकाशन समिति गठन गरिएको थियो । तत्कालीन कालिका गाविसको पूर्व प्रधानपञ्च भएर काम गरिसकेका स्व. त्रिपाठीले विशेषत स्थानीय विकासको लागि उल्लेख्य योगदान गरेका थिए ।
त्रिपाठीले गरेका योगदानको कदर गर्दै स्थानीय तहबाट २०७७ वैशाख २५ गते चौरासी पूजा र नागरिक अभिनन्दन एकसाथ गर्ने तयारी भए पनि कोभिडका कारण सोही समयमा अभिनन्दन हुन पाएन ।
पुस्तकको विमोचन गर्दै पूर्व सभामुख एवं कांग्रेस नेता तारानाथ रानाभाटले राजनीतिमा आफूसमेत त्रिपाठीको अनुयायी भएको बताए ।
कार्यक्रममा पूर्व मन्त्री यज्ञबहादुर थापा, जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीलगायतले स्वयं त्रिपाठीले साविक कालिका गाविसमा रहेर शिक्षा, स्वास्थ्य, सडक, भूसंरक्षण लगायतका विभिन्न विकासका पूर्वाधार निर्माणमा गररेका कामहरुको स्मरण गरे ।
पुस्तक समीक्षा गर्दै समालोचक पदमशरण रेग्मीले सामाजिक, धार्मिक, पारिवारिक संरक्षक आदि दृष्टिकोणबाट ७१ वटा लेखमार्फत बहुआयामिक व्यक्तित्वका रुपमा त्रिपाठीको पहिचान भएको उल्लेख गरे ।
त्रिपाठीका छोरा कीर्तिबल्लभ त्रिपाठीले बुबाको स्मृति ग्रन्थ प्रकाशन गर्ने र लोकार्पण समारोहमा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे । स्मृति ग्रन्थ प्रकाशन समितिका अध्यक्ष ऋषिराम त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनका सहपाठी परासर चापागार्इं, कांग्रेस कास्कीका सभापति कृष्ण केसी, कांग्रेस कालिकाका वडा सभापति विश्वरमण अधिकारी, भानु ढकाल लगायतले त्रिपाठीका योगदानको चर्चा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width