मानव आश्रमको देउसीभैलो

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७८
manav

पोखरा । मानवसेवा आश्रम पोखरा शाखाको भवन निर्माण सहयोगका लागि आयोजना भएको सांस्कृतिक देउसी भैलो कार्यक्रम भएको छ । वरिष्ठ हास्य कलाकार मनोज गजुरेल, दोहोरी गायक पशुपति शर्मा, लोक गायक चिरन बराल, देवीस्थान हेमजा भजन समूह, पोखरा हेमजा परिवारको खैजडी भजन, मानवसेवा आश्रमका अभियन्ता र बालगोपालहरुको प्रस्तुति रहेको कार्यक्रममा करिब ७ सय जना सहभागी थिए ।
कार्यक्रमबाट मानवसेवा आश्रम पोखरा शाखाको भवननिर्माणको लागि २८ लाख ४२ हजार २ सय ८९ रुपैयाँ रकम संकलन भएको छ । यसबाहेक देउसीभैलो कार्यक्रममा मानवसेवा आश्रम पोखरा शाखाको १५ कोठा निर्माणको लागि प्रति कोठा ५ लाख ११ हजार १ सय ११ को दरले अन्य विभिन्न जिल्लामा सञ्चालित १५ शाखाहरुले योगदान गर्ने घोषणासमेत भएको छ ।
हाल ७ प्रदेशको १६ जिल्लामा २३ ओटा मानवसेवा आश्रमको सेवा केन्द्रहरु सञ्चालित छन् । उक्त आश्रममा हाल ७७ ओटा जिल्लाबाट उद्धार गरिएका १६ सय बढी बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर सहयोगापेक्षी मानवहरु आश्रित छन् ।
कार्यक्रम मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षता र गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । यस्तै गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री माननीय हरिशरण आचार्य, प्रदेश सभा सदस्य इन्द्रभारा बिष्ट, प्रभा कोइराला, कृष्ण थापालगायत महत्वपूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width