दसैंमा जस्तापाता उपहार

सविन लामिछाने
असाेज १४, २०७८
ghar ma jasta ko chhanas

दमौली । व्यास ५, चिन्तुटारकी सुनिमाया मगरले २ वर्ष नबित्दै घरको छानो फेर्नुपरेकोमा हैरानी खेप्दै आएकी थिइन् । न्यून आयस्रोतका कारण उनलाई यसरी छानोमा नयाँ खर फेर्नुपर्दा निकै सकस हुन्थ्यो । अब भने उनको दुख दिन दूर भएका छन् । किनकि घरमा नयाँ छाना छाउन वडाले जस्ता उपहार दिएको छ ।
वडावासीलाई सुरक्षित बनाउन वडाले खरको छानो विस्थापित गरेर जस्तापाता वितरण गर्न थालेको हो । खरको छानामुनि बस्दै आएकी सुनिमाया जस्तै २८ घरधुरीका वासिनदा जस्तापाता पाएपछि यतिखेर खुसी भएका छन् । ‘खरको छानामुनि बस्दै आएको थिएँ, जस्तापाताले छाउने घरको क्षमता थिएन, वडा सरकारले जस्तापाताले घर छाइदियो,’ उनले भनिन्, ‘दुई वर्षमा घरको छानो फेर्दै आउँदा निकै सकस थियो । गाउँमा खरसमेत पाइन छाडेको थियो । दसैंको बेला नयाँ छानो हाल्न पाइयो । अब ढुक्क भइयो । बाँचुञ्जेल घरको छानो फेर्नु नपर्ला ।’
पुरानो घरमा खरले छाएर गुजारा गर्दैआएका चुँदेरका लोकबहादुर सारुले वडाले दिएको जस्तापाता हालेपछि घर नयाँ जस्तै हुने बताए । खरको घर जोखिम र झन्झटिलो भएको भन्दै उनले वडाले जस्तापाता दिएपछि आफूलाई अब सहज हुने बताए । जस्ताले छाएपछि घरमा आगलागी हुने पानी चुहिने समस्यासमेत समाधान हुने उनको भनाइ छ ।
वडा सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत २८ जनाको घर जस्तापाताले छाउन वितरण गरिएको वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । खरको छानामुक्त बनाउन प्रदेश सरकारबाट पनि लाभग्राही छनौट भई आएकाले दोहोरा नपर्ने गरी वितरण गरिने श्रेष्ठले जानकारी दिए । वडाबाट विनियोजित १० लाखको बजेटबाट जस्तापाता वितरण गर्न थालिएको उनको भनाइ छ । खरको छानामुक्त बनाउन वडामा १९ लाख २७ हजार रुपैयाँ बजेट आवश्यक पर्ने र बाँकी रकम भने नगरपालिकाले विनियोजन गरेको छ । जस्तापाता वितरण गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले अति न्यून वर्गका घरमा जस्तापाता प्रदान गरिएको र आगामी वर्ष पनि कार्यक्रम निरन्तर सञ्चालन हुने बताए । खरको छानो भएको घरमा आगलागीको जोखिममा हुने र गाउँघरमा युवा जनशक्ति नहुँदा वृद्धवृद्धालाई घर छाउन कठिनाइ भएकाले जस्तापाता हाल्न सहयोग गरिएको बताए । खरको छानामुक्त बनाउन नगरपालिकाले बजेट विनियोजन गरेको र त्यसको सुरुवात व्यास–५ बाट भएको न्यौपानेले बताए । उनले केही वर्षमा वडा खरको छानामुक्त हुने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width