कांग्रेसको १४ औं महाधिवेशन : कास्कीका ४ पालिकामा नयाँ नेतृत्व

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७८
Congress Election~final

महानगरको नयाँ नेतृत्वका लागि पोखरा नयाँबजारस्थित मतदानस्थलमा शनिबार मतदान हुँदै तस्बिर : आदर्श समाज

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्कीका ४ गाउँपालिकामा शुक्रबार नै नयाँ नेतृत्व चयन भएको छ । तीमध्ये २ वटामा सर्वसम्मत र २ वटामा निर्वाचन भएको हो । रुपा र अन्नपूर्ण गाउँपालिमामा शुक्रबार नै सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको थियो । पोखरा महानगरपालिकासहित माछापुच्छ«े र मादी गाउँपालिकामा शनिबार चुनाव भएको हो ।
रुपामा विमलबाबु न्यौपानेको सभापतित्वमा सर्वसम्मत चयन भएका छन् । मनोनयनमा अन्य २ जनाले पनि दर्ता गराएका थिए तर हाई कमान्ड बनाएर सर्वसम्मत समिति बनाइएको हो । उपसभापतिमा गेसबहादुर गुरुङ र शंकरलाल श्रेष्ठ छन् भने सचिवमा बुद्धिबहादुर खड्का र विकल ओझा तथा सहसचिव विकाश ओझा र निर्मल केसी छन् ।
अन्नपूर्णको नेतृत्वमा मनपति भण्डारी चयन भए । उपसभापति सुशील भट्टचन र गौमाया नेपाली, सचिव कृष्णप्रसाद सुवेदी र विजय गुरुङ एवं सहसचिव ध्रुव घले र मुक्ति गुरुङ चयन भएका हुन् ।
मादी गाउँपालिका अध्यक्षमा मात्र १ मतअन्तरले यामबहादुर गुरुङ निर्वाचित हुन सफल भए । उनको ९३ मत आउँदा निकटतम प्रतिस्पर्धी देवीजंग गुरुङले ९२ मत पाए । सचिवमा भोजबहादुर गुरुङ र देवीजंग गुरुङ निर्वाचित भएका छन् । उपसभापतिमा लीलामोहन कुइँकेल र कृष्णचन्द्र बराल सर्वसम्मत भएका थिए ।
माछापुच्छ्रे गाउँपालिकामा वीरेन्द्र गुरुङ सभापतिमा निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी मधुसुदन अधिकारीलाई १५ मतअन्तरले परााजित गरेका हुन् । दुवै उम्मेदवारले प्यानल घोषणा गरेका थिए । उपसभापतिमा अधिकारीको प्यालनबाट रामबहादुर गुरुङ र मीनबहादुर गुरुङ, सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल तथा सहसचिवमा बालकृष्ण गौतम र महादेव गुरुङ निर्वाचित भए । सहसचिव गुरुङ भने वीरेन्द्र प्यानलका हुन् ।
यता, पोखरा महानगरपालिकामा शनिबार रातिदेखि मतगणना सुरु भएको छ । यहाँ ६ जना सभापतिका उम्मेदवार छन् । वडाध्यक्षहरु मोहनप्रसाद बास्तोला, रामराज लामिछाने, पत्रकारहरु गंगाधर पराजुली र ज्योति हमाल, कांग्रेस नेता मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे प्रतिस्पर्धामा छन् । यस्तै, महानगर समिति उपसभापतिमा ६ जना, सचिवमा ३ जना, सहसचिवमा ७ जना उम्मेदवार चुनावी होडमा छन् । सबै पालिकाको सदस्य भने सर्वसम्मत चयन भएका छन् ।
यो समाचार तयार पार्दा राति साढे १० बजेसम्म पोखरा महानगरको १ सय ४४ मतगणना सकिएको छ । सभापतिमा सुरेन्द्रमान बिजुक्छे ४६ मतसहित अगाडि छन् । यस्तै, गंगाधर पराजुलीको ३७, रामराम लामिछानेको २१, मोहनप्रसाद बास्तोला र मिलन तिवारीको समान १३ तथा ज्योति हमालको मात्र २ मत छ ।
यस्तै उपसभापतिमा भवसागर बराल (५८), प्रयागराज भण्डारी (३९), निर्दोषविक्रम पौडेल र राजेन्द्र बराल (३७), कृष्णप्रसाद अधिकारी (३४), शिव केसीले १८ मत ल्याएका छन् । सचिवमा टुवराज बास्तोला ‘विशाल’ (९३), गणेशबहादुर थापा (८६) र सुरेन्द्रबावु तिवारी (६३) ले मत ल्याएका छन् । सहसचिवतर्फ संघर्ष कोइराला (६७), नरेन्द्र बास्तोला (५३), पुष्पराज सिग्देल र सञ्जय आले (३४), लक्ष्मी बास्तोला (३१) र रवीन कायस्थको (२७) मत छ । शनिबार भएको मतदानमा १ हजार ३ सय ४४ मत खसेको निर्वाचन समितिले जनाएको छ । चुनावमा १ हजार ३ सय ७० मतदाता थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width